काठमाडौं । ‘नाडा अटो शो २०२५’ आयोजना हुने भएको छ । आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना उक्त अटो शो आयोजना हुने भएको हो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष करण चौधरीका अनुसार ‘नाडा अटो शो २०२५’ को उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने भएका छन् । यस वर्षको प्रदर्शनी ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितकी तन्त्रलाई एकै छानामुनी ल्याउने भएको छ ।
‘यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब हो । यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ’, अध्यक्ष चौधरीले भने ।
स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारखुट्टे रोबोटहरू (यूनिट्री रोबोटिक्स) र भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक (दीपल ईभिटोल युएभी) प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यवसायीक सवारी साधन ब्रान्डहरू र ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिने भएको छ ।
त्यस्तै, नाडा अटो शोमा ३५ वटा कम्पनीहरू (लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) सहभागी हुने भएका छन् । एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

‘यो हाम्रो प्रदर्शनी नभएर चाड हो । ३ लाख वर्गफुट क्षेत्रफल र एक लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ’, अध्यक्ष चौधरीले भने ।
उनका अनुसार शोमा सुविधाजनक जोन विभाजनदेखि मिडिया डेस्कसम्म स्थापना गरिने भएको छ । ‘नाडा अटो शो’ का लागि खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
स्वदेशमै निर्माण भएका सवारी तथा पार्टपुर्जाको प्रदर्शनी गरिने भएको छ । दैनिक भाग्यशाली विजेता घोषणा गरिने भएको छ । जसलाई एक वर्षसम्म निःशुल्क लुब्रिकेन्ट सेवा दिइने भएको छ ।

Leave a Reply