क्यानडामा ‘हिमालयन मेला’ को तयारी, यस्ता छन् आकर्षण

टोरोन्टो, क्यानडा । नेपाली समुदायको सांस्कृतिक पहिचान र एकतालाई प्रदर्शित गर्ने उद्देश्यस्वरूप हिमालयन मेला यस वर्ष आफ्नो १७ औं संस्करणसँगै नेप्लीज कम्युनिटी सर्भिसेज (NCCS) को रजत जयन्तीमा गरिने भएको छ ।

टोरोन्टोको नेथन फिलिप स्क्वायरमा आगामी अगस्ट ९ मा मेलाको तय भएको छ । एनसीसीएसका महासचिव सुदर्शन सापकोटाले विगत भन्दा यस वर्ष मेला विशेष र फरक हुने बताए । १० देखि १२ हजार दर्शकको जमघट हुने अनुमान आयोजकको छ ।

मेलामा मुख्य आकर्षणका रूपमा कलाकार खेम सेन्चुरीलाई निम्त्याइएको छ । साथै, विभिन्न जातजातिको परम्परागत बाजागाजा, सांस्कृतिक प्रस्तुति पनि हुनेछ ।

विभिन्न समुदायका खाना र व्यवसायिक स्टल पनि मेलाका आकर्षण हुने छन् । करिब २० वटा फुड स्टलहरू जहाँ म:म:, सेलरोटी, आलुको आचारलगायत नेपाली परिकार राखिनेछ । यसबाहेक कन्सल्टिङ सेवा, इमिग्रेशन, रियल स्टेट, इन्स्योरेन्स, गहना व्यवसाय, हस्तकला र कपडा लगायतका १० भन्दा बढी व्यवसायिक स्टलहरू रहनेछन् ।

क्यनाडाका प्रधानमन्त्री,,संघीय र प्रान्तीय सांसदहरू, टोरन्टो मेयर र नगरस्तरीय अधिकारीलाई पनि निम्तो गरिएको सापकोटाले सुनाए ।

उनले भने, ‘हिमालयन मेला हाम्रो सांस्कृतिक पहिचानलाई बलियो बनाउने, नेपाली समुदायलाई एकताबद्ध गर्ने र क्यानडामा हाम्रो पहिचानलाई व्यापक रूपमा चिनाउने एक उत्कृष्ट अवसर हो । सबै मिलेर यो भव्य पर्वलाई सफल बनाऔं र नेपाली समुदायको गौरवलाई अग्लो बनाउन योगदान दिऔं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *