रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही-३ मा आगामी कात्तिक १७ गते हुने उपचुनावका लागि सशक्त रूपमा मैदानमा उत्रिएको छ । यो उपचुनावलाई पार्टीले प्रतिष्ठाकै रूपमा लिएर अन्य दलहरूभन्दा अगाडि तयारीमा जुटेको हो ।
रास्वपाका सभापति रवि लामिछाने रूपन्देही-३ भित्रैको भैरहवा कारागारमा रहेकाले यो निर्वाचनसँग पार्टीको भावनासमेत गाँसिएको नेताहरू बताउँछन् । लामिछाने स्वयंले ०८४ को निर्वाचनका लागि पूर्वसन्देश दिनेगरी नतिजा निकाल्न नेता-कार्यकर्तालाई निर्देशित गरिरहेका छन् ।
पार्टीले उम्मेदवार चयन प्रक्रिया सुरू गरिसकेको छ । साउन ७ देखि २१ गतेसम्म उम्मेदवार बन्न इच्छुकले आवेदन दिन सक्नेछन् भने १५ भदौमा उम्मेदवार टुंगो लगाइनेछ । उम्मेदवार छनोटका लागि सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपीनकुमार आचार्यको नेतृत्वमा विशेष विधि निर्माण गरिएको छ । प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) प्रणालीमार्फत उम्मेदवार तय गरिने रास्वपाले जनाएको छ ।
अनलाइन प्रणालीबाट आकांक्षीहरूको आवेदन माग गरिएकाले अहिलेसम्म कस-कसले दिए भन्ने पार्टीले केही खुलाएको छैन । तर, कम्तीमा १० जनासम्म आकांक्षी पुग्ने आकांलन गरिएको छ । सुरूमा रूपन्देही बाहिरका पनि उम्मेदवार उाठनउ सक्नेगरी छलफल चलाइएको थियो । तर, बाहिरी उम्मेदार बनाउँदा राम्रो सन्देश नजाने भन्दै अहिले नेताहरूले स्थानीय उम्मेदारलाई नै प्राथमिकता दिने संकेत गरेका छन् । कानूनी रूपमा बाहिरका पनि उम्मेदार हुनसक्ने भएकाले र अनलाइन आवेदन खुल्ला गरिएकाले आकांक्षीको संख्या सोचेभन्दा धेरै हुन सक्छ ।
रास्वपा स्रोतका अनुसार अहिलेसम्म पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, प्रदेश सदस्य र ०७९ का उम्मेदार जेपी गुप्ता (शेखर), रूपन्देही क्षेत्र नं ३ का सभापति मधु अर्याल, प्रदेश सदस्य प्रकाश ज्ञवाली, प्रदेश विभाग सदस्य डा. योगेन्द्र अग्रहरी, महिला नेतृ ज्ञानु पौडेल, पार्टीको जिल्ला कोषाध्यक्ष रहेकी भैरहवाकै रचना क्षेत्री, डा. लेखजंग थापा, अमेरिकाबाट निर्वाचनकै लागि आएका बुटवल सेमलारका शुलभ खरेल, भैरहवाका पार्थीवेन्द्र उपाध्यायको नाम चर्चामा छ । उनीहरूमध्ये अधिकांशले आवेदन दिएपनि केहीले आन्तरिक निर्वाचन हुने भएकाले सदस्यहरूबाटै छानिन नसक्ने त्रासले रोकिएको नेताहरू बताउँछन् ।
अहिलेसम्म आकांक्षी आफैँले दाबेदारी गरेका छैनन् । पार्टीको विधिभन्दा बाहिर गएर पहिले प्रचार नगर्न नेताहरूले पहिले नै निर्देशित गरेका थिए । माथि उल्लेखित नाम केही दर्ता नहुन पनि सक्ने र यो बाहेक पनि केही थपिनसक्ने नेताहरूको आँकलन छ ।
‘बाहिरबाट नल्याउने स्थितिमा मुख्य दावेदारी ४ जनाबीचकै हुनसक्छ,’ स्रोतले भन्यो, ‘फिल्डमै धेरै समय काम गर्न नसक्नुभएका नेताहरूले आन्तरिक निर्वाचनमा भाग नलिन सक्नुहुन्छ । सदस्यहरूबाट निर्वाचन भएर जाने विधि पूर्णरूपमा लागू भए भूगोल बाहिर काम गरेकालाई समस्या हुने रहेछ ।’
ती नेताका अनुसार आकांक्षी धेरै भएपनि फिल्डमा बढी खटिएकामध्ये क्षेत्रीय सभापति तिलोत्तमाका मधु अर्याल, भैरहवाकी ज्ञानु पौडेल, प्रदेश सदस्य रहेका तिलोत्तमाका प्रकाश ज्ञवाली, अमेरिकाबाट निर्वाचनकै लागि आएका र रवि लामिछाने तथा स्वर्णिमलाई धेरै सहयोग गरेका बुटवल सेमलारका शुलभ खरेल र भैरहवाका जेपी गुप्ता (शेखर) को दबाब बढी रहेको छ । उनीहरू सुरूवाती चरणबाटै कस्सिएका छन् ।
त्यसैगरी भैरहवा माइती भई काठमाडौंमा बस्ने केन्द्रीय सदस्य कुसुम महर्जन, भैरहवाकै पार्टीको जिल्ला कोषाध्यक्ष रचना क्षेत्री, डा. लेखजंग कार्की, बुटवलका डा. योगेन्द्र अग्रहरी, भैरहवाका पुरानो एमाले नेताका पारिवारिक सदस्य रहेका पार्थीवेन्द्र उपाध्याय पनि बलिया उम्मेदार हुन् । तर यिनीहरू भूगोलमा कम काम गरेको र अरु जिम्मेवारीमा भएकाले आन्तरिक निर्वाचनमा भाग नलिन पनि सक्ने बताइन्छ ।
रास्वपाले यसअघि राप्रपा दिवंगत नेता दीपक बोहराका छोरा पाइलट गौरव बोहरालाई अघि सार्न खोजेको थियो । विभिन्न चरणमा कुराकानी भए पनि कुनै टुंगो नलागेको नेताहरूको भनाइ छ ।
आकांक्षीमध्येका मधु अर्यालले आफूले आवेदन दिएको तर अरु कसले दियो भन्ने जानकारी नभएको बताए ।
‘विधि मानेर उम्मेदवारी चाहना गर्नेलाई स्वागत गर्ने हो, जसलाई नेता-कार्यकर्ताले रुचाएका छन्, उसैलाई जनताको परीक्षणमा पठाइने भएकाले मैले मनोनयन गरेको छु’ उनले भने ।
यसअघिको उपनिर्वाचनमा रास्वपाले तनहुँ र चितवनमा सफलता पाएपनि इलाम र बारामा पराजय भोगेको थियो । अहिले रूपन्देही-३ उपचुनावलाई संगठन विस्तार र पुनः जनमत निर्माणको अवसरका रूपमा लिएको नेताहरूले बताएका छन् । रास्वपाले निर्वाचन जित्ने लक्ष्य बनाएपनि अहिले चर्चामा रहेकाहरूबाट मूल नेतृत्व सन्तुष्ट छैन । यो बीचमा जिल्ला बाहिरबाट प्रभावशाली नेता आउनसक्ने संभावना पनि यथावत छ ।
प्रचारमा जुटे शीर्ष नेताहरू
संसदीय दल वैठकको बहानामा आएका रास्वपा शीर्ष नेताहरू उपचुनाव केन्द्रित हुँदै लगातार रूपन्देही-३ का विभिन्न स्थानमा पुगे । भैरहवा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग समेत भेटेका उनीहरूले उपचुनाव मुख्य विषय भएको प्रतिक्रिया दिएका छन् । पहिलो पटक राजधानी बाहिर संसदीय दलको बैठक राखेर उनीहरूले यहाँको प्राथमिकता प्रष्ट देखाएका छन् ।
नेताहरू यहाँ आएर बैठकमा मात्रै सीमित भएनन्, सबै वडामा जिम्मेवारी बाँडेर घरदैलो तथा हस्ताक्षर अभियानमा सहभागी भएका थिए । प्रमुख सचेतक सन्तोष परियारले संगठन बिस्तार र उपनिर्वाचनलाई पार्टीले विशेष योजनाका साथ लैजाने बताए । सभापति रवि लामिछानेले जनताका मुद्दा प्रभावकारी ढंगले उठाउन र चुनावमा केन्द्रित हुन निर्देशन दिएको उनको भनाइ छ ।
रूपन्देही केन्द्रीत नेताहरू रूपन्देही-३ मा घरदैलो र स्थानीय बासमा सहभागी भएका छन् । उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्यालको भैरहवा आगमन बाक्लिएको छ । अन्य नेताहरू पालैपालो यहाँ आइरहेका छन् । केही दिनअघि बुटवल सेमलारमा घरदैलोमा आएका नेता हरि ढकालले अहिलेको उपनिर्वाचन पार्टीको लागि प्रतिष्ठाको विषय भएको र ०८४ को पूर्वसंकेतका रूपमा हेरिएकाले धेरै तयारी गर्नुपरेको बताएका थिए । स्थानीय नेता रामचन्द्र पन्थीका अनुसार ढकालले यो पटक स्थानीय क्षेत्रमै काम गरेकालाई उम्मेदार बनाउने पार्टीको तयारी रहेको बताएका थिए ।
रास्वपाका केन्द्रीयदेखि वडा तहका नेताहरू स्थानीयका घरघर पुगिरहेका छन् । पार्टीले सुरू गरेको हस्ताक्षर अभियानलाई पनि प्रचारसँगै जोडिएको बताइएको छ । रास्वपा प्रवक्ता मनिष झाले चुनाव लागिसकेको र हस्ताक्षर अभियानभित्रै चुनाव लुकेको जनाएका छन् । नेताहरू बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, मायादेवी, ओमसतिया, सियारी र शुद्धोधनका वडाहरूमा पुगेका छन् । रास्वपा प्रदेश अध्यक्ष देवराज पाठकका अनुसार मतदाताहरूमा पुराना दलप्रति मोहभंग भएको छ र नयाँ दलप्रति आशा देखिएको छ । ‘हामीसँग बोल्ने धेरै मतदाताले अब मत परिवर्तन गर्छौं भन्नुभएको छ, हामी आन्तरिक सर्वेक्षण गरेर नै अघि बढेका छौ’ उनले भने ।
उम्मेदवार छनोटमा फरक प्रक्रिया
उम्मेदवार बन्नका लागि पार्टीले तय गरेको प्रक्रिया अनिवार्य हुनेछ । प्रदेश अध्यक्ष पाठकले भने, ‘जोसुकै व्यक्ति प्रक्रियाभित्र आउनुभयो र योग्य देखिनुभयो भने उम्मेदवार बन्न सक्नुहुन्छ । बाहिरबाट आउँदा मात्र उम्मेदवार बन्न पाइँदैन । यसले भूगोलमा काम गर्नेलाई बलियो बनाउने छ र जनताप्रति अपनत्व बढाउने छ ।’
सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले २१ गते ५ बजेसम्म आवेदन खुल्ने र त्यसपछि स्वतः बन्द हुने जानकारी दिए । २२ गते नामावली प्रकाशन हुने भएकाले अहिले कति जनाको पर्यो भन्ने विषयमा थाहा नहुने उनको भनाइ छ ।
‘हामीले संविधानअनुसार उम्मेदवारी चाहना राख्ने सबैलाई खुला गरेकै छौं, तर भूगोल बुझेकालाई नै प्राथमिकता हुने विषयमा शंका रहेन । त्यसमाथि पनि प्राइमरी इलेक्सनमा सोही क्षेत्रकै कार्यकर्ताले मतदान गर्ने भएकाले भूगोलमा परिचित आवश्यक हुने नै भयो’ उनले भने, ‘भदौ १२ र १३ मा आन्तरिक निर्वाचनबाट टुंगो लगाएर १५ गते उम्मेदारको घोषणा गरिन्छ ।’
गत निर्वाचनको परिणाम
२०७९ को आमनिर्वाचनमा रूपन्देही-३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार जीतबहादुर गुप्ताले ५,७९६ मत ल्याएका थिए । त्यो निर्वाचनमा एमाले र कांग्रेसको तालमेलबाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण पराजित भएका थिए । करिब १ लाख ३० हजार मतदाता रहेको यस क्षेत्रमा करिब ९० हजार मत खसेको थियो । समानुपातिक र स्थानीय तहको मतका आधारमा कांग्रेस यस क्षेत्रमा पहिलो दल देखिन्छ ।
संगठन विस्तार र उम्मेदवारका लागि उत्साह
रूपन्देही-३ का रास्वपा क्षेत्रीय सभापति मधुप्रसाद अर्यालका अनुसार, पार्टी संगठन ३६ वटै वडामा विस्तार भइरहेको छ ।
‘संसदीय दल नै यस क्षेत्रमा आउँदा कार्यकर्ता मात्र होइन, सर्वसाधारणमा पनि आशा पलाएको छ, हामीले घरदैलो र हस्ताक्षर अभियानलाई लिएर करिब सबै वडामा पुगेको अवस्था छ, अब केही टोलहरू बाँकी छन्, केही दिनमा पूरा हुनेछन्’ उनले भने ।
सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यका अनुसार वर्तमान सरकार र गठबन्धनले जनअपेक्षा पूरा गर्न नसकेको मूल्यांकनका साथ रास्वपा जनतामाझ पुगेको हो । सुशासन र भ्रष्टाचार अन्त्यका लागि रास्वपालाई एकचोटि हेर्नुपर्छ भन्ने जनमत देखिन्छ, त्यसैलाई आधार बनाएर अघि बढ्ने उनको भनाइ छ ।

Leave a Reply