‘अभिमन्यु : च्याप्टर-१’को ‘माली’ गीत सार्वजनिक, प्रतिस्पर्धाको लागि आह्वान

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’को गीत सार्वजनिक भएको छ । रक्षाबन्धनलाई मध्यनजर गरेर सोमबार निर्माणपक्षले चलचित्रको ‘माली’ बोलको गीत सार्वजनिक गरेको हो ।

प्रशान्त सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतमा विषम आचार्यको संगीत संयोजन छ । प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएका थिए ।

सार्वजनिक गीतको भिडियाेमा दाजु र बहिनीबिचको सम्बन्ध र जिम्मेवारीको कथा देखाईएको छ । भिडियाेमा दाजुले बहिनीलाई गर्ने माया र बहिनीको हाँसोमा खुसी अनि संसार देख्ने जिम्मेवार दाजुको कथा छ ।

गीत सार्वजनिक गर्दै निर्माणपक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ । प्रतिस्पर्धामा भाग लिने प्रतिस्पर्धीले दाजुभाइ-दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्नुपर्नेछ। उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रकम पुरस्कार राखिएको छ।

‘अभिमन्यु : च्याप्टर–१’ यहीँ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सनमा भने असोज ६ अर्थात् सेप्टेम्बर २२ मा वल्र्डवाइड रिलिज हुनेछ।पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । मुकेश खनालको लेखन रहेको चलचित्रको निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *