काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै अर्का पूर्वप्रधानमन्त्री तथा सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले दिएका अभिव्यक्तिपछि फेरि एकपटक पार्टीमा कित्ताकाट भएको छ ।
स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले असार १४ गते रूपन्देहीको मणिग्राममा आयोजित एक कार्यक्रममा भ्रष्टाचार अभियोग लागेका अध्यक्ष नेपाललाई इंगित गर्दै ‘मरेको सिनो बोकर हिँड्न सकिँदैन’ भनेपछि राजनीतिक बजार गर्माएको थियो ।
त्यो मामिला सेलाउन नपाउँदै झलनाथले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नभएको भन्दै अध्यक्षको कार्यशैलीमाथि टिप्पणी गरे । रामकुमारीलाई पार्टीबाट निकाल्नुपर्छ भन्ने नेपालको एजेण्डा पारित हुन नपाउँदै फेरि झलनाथ रामकुमारीको भन्दा चर्को शैलीमा पेश भए ।
यसपछि नेपालले झलनाथलाई राजीनामा दिएर पार्टी छोड्न भनेका छन् । झलनाथले ‘मेरो राजीनामा माग्ने तपाईं कुन तानाशाह हो ?’ भन्दै कडा प्रश्न गरेका छन् । साथै उनले माधव नेपाललाई पार्टी छाड्न चुनौति दिएका छन् ।
यसपछि प्रश्न उठ्न थालेको छ कि, नेकपा एसभित्र चर्किएको यो शक्तिसंघर्षमा को कति बलिया छन् ? कोसँग कति मानिस छन् ?
त्यसो त माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित गरी निर्माण भएको पार्टीभित्र उनी पक्षका मानिसको बहुमत हुने नै भयो । तर, झलनाथको अभिव्यक्तिपछि विकसित शक्तिसंघर्षमा एमालेकालीन आठौं महाधिवेशनको पुनरावृत्ति हुँदैछ ।
२०६५ फागुन ५-१० मा बुटवलमा सम्पन्न एमालेको आठौँ महाधिवेशनको झलनाथपक्षीय समीकरण अहिले माधवको घेराबन्दीविरुद्ध प्रकट हुँदैछ । आठौं महाधिवेशनमा झलनाथ खनाल अध्यक्षका उम्मेदवार हुँदा माधवले केपी ओलीलाई अप्रत्यक्ष समर्थन गरेका थिए ।

यद्यपि माधवनिकट मानिने धेरै नेता त्यसबेला झलनाथ प्यानलबाटै चुनाव लडेका थिए । त्यसबेला माधवलाई साथ दिनेमध्ये प्रायः ‘१० बुँदे’ का रूपमा एमालेमै फर्किएका छन् । झलनाथको भित्री समूह (कोर टीम) भने अहिले एकीकृत समाजवादीको नेतृत्वमा छ । उक्त समूहलाई महासचिव घनश्याम भुसालले नेतृत्व गर्छन् ।
त्यही कारण माधवले चाहेजसरी न रामकुमारी झाँक्रीमाथि कारबाही हुनसक्यो । न त झलनाथलाई राजीनामा दिएर पार्टी छाड्न जारी भएको फर्मान नै काम लाग्यो । किनभने, उक्त शक्तिसंघर्षभित्र स्वयं महासचिव भुसाल झलनाथको पक्षमा छन् । यद्यपि, उनी सार्वजनिकरूपमा अभिव्यक्त भएका छैनन् ।
झलनाथ र रामकुमारीको मामिलामात्रै हैन, माओवादीसँग एकताका लागि माधवले निरन्तर गरिरहेको वार्ता र छलफलका विषय उनले झलनाथसँग मात्रै नभएर महासचिव भुसाल र अन्य पदाधिकारीसँग पनि खुला, खुलस्त भन्ने गरेका छैनन् । माधवको यही व्यवहारका कारण आठौँ महाधिवेशनको झलनाथ टीमलाई एक ठाउँ ल्याउन भूमिका खेलेको पार्टीका एक नेताले बताए ।
शक्तिसंघर्षमा अध्यक्ष माधवका पक्षमा वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे छन् । तर, उनी आफ्नो अलग्गै समूह बनाउने प्रयासमा जुटिरहेका छन् । वरिष्ठ नेता प्रमेश हमाल र बेदुराम भुसाल माधवका भित्रिया हुन् ।
उपाध्यक्षहरू धर्मनाथप्रसाद साह, गंगालाल तुलाधर र जगन्नाथ खतिवडा माधवका पक्षमा छन् । उपमहासचिवमध्ये रामकुमार भट्टराई, मेटमणि चौधरी, राजेन्द्रकुमार राईले माधवलाई साथ दिइरहेका छन् । सचिवमा श्रीनाथ बराल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र सावित्रीकुमारी भुसाल माधवको पक्षमा उभिएका छन् ।
झलनाथ-घनश्याम पक्षमा उपाध्यक्ष- जयन्ती राई, भानुभक्त जोशी र प्रकाश ज्वाला छन् । उपमहासचिव गरिमा शाह, सचिव बलदेव चौधरी र चन्द्रबहादुर शाही घनश्याममार्फत झलनाथ पक्षमा उभिएका छन् ।
भर्खरै पार्टीमा प्रवेश गरेका वरिष्ठ नेता वामदेव गौतम कतै पनि खुलेका छैनन् । माधवविरुद्ध लागौँ, जिम्मेवारीविहीन भइएला भन्ने पीर उनलाई छ । तर, विगतको सम्बन्धका आधारमा निर्णायक अवस्थामा उनी झलनाथको पक्षमा हुने धेरैजसो नेताको अनुमान छ । उनी पनि माओवादीसँगको एकताका विरोधी हुन् ।
सचिव गणेश विक पछिल्ला दिनमा महासचिव घनश्यामसँग निकट छन् । तर, खुलेर झलनाथको पक्षमा बोलिरहेका छैनन् । त्यसो त अन्य पदाधिकारीले पनि झलनाथको पक्षमा खुलेर बोलेका छैनन् ।
कथंकदाचित महासचिव भुसालले झलनाथको साथ छोडे भने उनी एक्लिने स्थिति छ । किनभने, उनीपक्षकै पदाधिकारी भानुभक्त जोशी र गरिमा शाहमात्रै हुन् ।
बरु, केही जनसंगठनमा झलनाथको पकड पार्टी नेतृत्वको तुलनामा केही आशलाग्दो छ । जनसांस्कृतिक महासंघका अध्यक्ष कृपाराम धमला उनी पक्षका हुन् । महासचिव ऋषि अधिकारी घनश्यामका साढुभाइ हुन् ।
अनेरास्ववियूको अध्यक्षबाट निकालिएकी पार्टी केन्द्रीय सदस्य आरती लामा, युवा संघको अध्यक्षबाट निकालिएका अर्का केन्द्रीय सदस्य कृष्णबहादुर विश्वकर्मा झलनाथ पक्षको हुनुकै कारण माधवको निशानामा परेका हुन् । उनीहरू अहिले पनि झलनाथको पक्षमा अडिग छन् । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री नरेशकुमार शाही, बाँकेका पार्टी अध्यक्ष दीपक जिएम, धनकुटाका अर्जुन राई, मोरङका महेश रेग्मीहरू झलनाथ पक्षमा खुलेका छन् ।
अध्यक्ष नेपालको पक्षमा र झलनाथलाई गाली गर्दै चर्काचर्का स्ट्याटस लेख्नमा मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष ताज मियाँ सक्रिय छन् । उनी झलनाथ एमाले अध्यक्ष हुँदा २०७० सालमा हज कमिटीको अध्यक्ष बनाइएका थिए । पछि ट्राभल एजेन्सीसँगको मिलेमतोमा आर्थिक हिनामिना गरेको आरोप लागेर पद छाडेका थिए ।

Leave a Reply