मिश्र र राणालाई थुनामै राख्ने मागसहित सरकारले गरेको पुनरावेदनमा बहस सकियो, फैसला आजै

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई थुनामै राख्नुपर्ने मागसहित सरकारले उच्च अदालतमा गरेको पुनरावेदनमाथिको बहस सकिएको छ । न्यायाधीशहरुले आजै फैसलाको तयारी गरेका छन् ।

गत चैत १५ गतेको राजावादी आन्दोलनलाई लिए मिश्र र राणा पक्राउ गरेर हिरासतमा राखिएको थियो । जिल्ला अदालत काठमाडौंले उनीहरु दुवैलाई ३–३ लाख रुपैयाँ धरौटीमा छोडेपछि सरकारले उच्च अदालत पाटनमा पुनरावेदन गरेको हो । उक्त पुनरावेदनमा चार दिनदेखि बहस भइरहेको थियो ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्ली रत्न श्रेष्ठको इजलासमा भएको बहस केहीबेरअघि सकिएको छ । मिश्र र राणाका तर्फबाट डा. भीमार्जुन आचार्य, गोविन्द बन्दी, सतिशकृष्ण खरेल लगायतका कानून व्यवसायीले बहस गरेका थिए ।

उनीहरुले नेताद्वयलाई थुनामा राख्ने कुनै पनि आधार र कारण नभएको बताए । मिश्र र राणाले न्यायाधीशसँग अनुमति लिएर बोलेका थिए ।

सरकारी वकिलहरुले भने जिल्ला अदालतको आदेश उल्टाउन माग गरे । गम्भीर अपराधिक आरोपमा मुछिएको हुँदा उनीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

दुर्गा प्रसाईं लगायतको सुनवाइ पनि सँगै

मिश्र र राणाको पुनरावेदनसँगै मिलान गरेर दुर्गा प्रसाईं लगायत तीनकुने घटनापछि पुर्पक्षका लागि थुनामा राखिएका आरोपिहरुको पनि सुनवाइ गरिएको छ । उनीहरुले आफूहरुलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्चमा पुनरावेदन गरेका थिए ।

एउटै घटनासँग सम्वन्धित भएकाले मिश्र र राणामाथि सरकारको पुनरावेदन र प्रसाईं लगायतको पुनरावेदनलाई सँगै राखेर हेरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *