हेटौँडा । बागमती प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेको छ ।
सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १८ गतेदेखि लागू हुने गरी राजीनामा गरेकाले नयाँ मुख्यमन्त्री चयनका लागि दाबी गर्न आव्हान गरिएको हो ।
कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभाको सदस्यहरूको बहुमत पुग्ने गरी दुई वा दुई भन्दा बढी दलहरूको समर्थन प्राप्त प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नू ।’
नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध पार्टीकै बहुमत प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा आएको हो ।
यो आव्हानसँगै कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेतामा निर्वाचित इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्री बन्न बाटो खुलेको छ । एमालेको समर्थनमा कांग्रेस नेता बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी छ ।


Leave a Reply