काठमाडौं । श्रावण महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरुलाई निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले पशुपति विकास कोषसँगको सहकार्यमा मयुर यातायातको बस मार्फत पहिलो र दोस्रो सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म निःशुल्क बस सेवा प्रदान गरिएको हो । अब आउने तेस्रो सोमबार श्रावण १९ गते र चौथो सोमबार श्रावण २६ गतेका दिन उक्त बस सेवा बिहान ५ बजे देखि सञ्चालन हुनेछ ।
पहिलो नम्बरको रुट बल्खुबाट सुरु भई एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पशुपतिनाथ मन्दिरसम्म पुग्ने छ र दोस्रो नम्बरको रुट बल्खुबाट सुरु भई नयाँ बसपार्क, कलंकी, स्वयम्भु, नारायणगोपाल चोक, चाबहिल हुँदै पशुपतिनाथ मन्दिरसम्म सेवा उपलब्ध हुनेछ।
बस सेवा पूर्ण रूपमा निःशुल्क रहेको हुँदा सबै भक्तजनलाई बिहान ५ बजेदेखि उपरोक्त रुटमा सञ्चालन हुने बस सेवा प्रयोग गरी लाभ लिनु हुन अनुरोध गर्दछौँ।
साउन महिनामा पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरूको अत्यधिक भीड हुने भएकाले भीड व्यवस्थापन र भक्तजनको सुविधाका लागि यस सेवाबाट सहज र सुरक्षित रूपमा मन्दिर दर्शन गर्न सकुन भन्ने उद्देश्यले पशुपति विकास कोषसँगको सहकार्यमा, मयुर यातायात बसद्वारा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको प्रायोजनमा सञ्चालन गरिएको छ।

Leave a Reply