ब्लकबष्टर चलचित्र दिएका विजयसँग जोडी कसेकी मिरुना- यो पटक पनि पोजेटिभ भाइब्स आइरहेको छ

काठमाडौं । चलचित्र क्षेत्रमा आएको छोटाे समय भएपनी तुलनात्मक रूपमा अभिनेत्री मिरुना मगरका प्राय चलचित्र सफल छन् । सोही कारण मिरुनालाई धेरैले भाग्यमानी नायिका पनि भन्ने गर्छन् ।

अभिनेता दयाहाङ राइको जोडीको रूपमा उनलाई दर्शकले खुब रुचाए। दयाहाङसंग उनको जोडी राम्रै जम्यो। अहिले पनि प्राय दर्शक उनलाई दयाहाङकै जोडीको रुपमा हेर्न रुचाउँछन् ।

सुरुवाती वर्षका केही चलचित्रलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट चलचित्र दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट सिनेमा हुन् । यी तीन सिनेमाले हिटमा ह्याट्रिक गरे ।

‘रङ्गेली’, ‘मनसरा’ र ‘घरज्वाईं’ तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएको ‘ऊनको स्वीटर’ ले राम्रो सफलता पायो। अहिले फेरि उनको अर्को चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदैछ। यो चलचित्रमा उनले अभिनेता विजय बरालसंग जोडी बाधेकी छिन् । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल मुख्य भूमिकामा आउन लागेको यो यस वर्षको पहिलो चलचित्र हो ।

के विजयसंग जोडी बाधेको मिरुनाको यो चलचित्र पनि व्यवसायिक रूपमा सफल होला? यो चलचित्रलाई लिएर उनको के छ धारणा ?

आम नेपाली समाजको कथा, इमोस्नल टच र परिचित कलाकारको लाइनअप रहेकाले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट मिरुनाले पनि सफलताको अपेक्षा गरेकी छन् ।

उनी भन्छिन् ,’जसरी यसअघि सफल भएका चलचित्रमा काम गर्दा पोजेटिभ भाइब्स आउँथ्यो, यो चलचित्र गर्दा पनि त्यस्तै महसुस भइरहेको छ। त्यसैले यो चलचित्रबाट पनि धेरै आशा छ । दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ यहीँ भदौ ६ गतेबाट रिलिज हुँदैछ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत छन् । राउतले ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले उनले निर्देशनतर्फ पाइला चालेका छन् ।

उनी भन्छन्,’यसले निम्न र मध्यम वर्गीय नेपालीको समस्या उजागर गर्छ । नेपाली दर्शकको मुड र रुचि अनुसार तयार गरिएको यो चलचित्र सम्पूर्ण वर्गको प्रतिनिधि कथा बन्नेछ ।’

‘यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो । त्यहीँ भएर मिरुना मगरलाई चलचित्रमा जोडेका हौं । उहाँ मार्फत आम नेपालीले भोगेको समस्या यो चलचित्रमा देखाएका छौ । दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्नेमा म विश्वस्त छु,’उनले जोडे।

सामाजिक यथार्थमा आधारित यो चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा भने नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *