सौगात मल्ल, दयाहाङ राई र निश्चल बस्नेतको अहिलेको परिचयको पछाडि एकै संयोग छ, ‘लुट’ । १३ वर्षअघिको ‘लुट’ले यी तीन चलचित्रकर्मीलाई ठूलो सेलिब्रेटी मात्रै बनायो । सँगै नेपाली चलचित्रमा ‘ट्रेण्ड सेट‘ न गर्यो ।
‘लुट’पछि नै हिरो हुनलाई बलिष्ट पाखुरा नचाहिने भयो । जस्तोसुकै पात्र पनि कथाको माग अनुसार हिरो बन्न सक्ने भए । अभिनय कौशलले जित्नसक्नेहरु हिरो बन्ने भए । तिनैले कथालाई डोर्याउन सक्ने तागत राख्न थाले ।
त्यही ‘लुट’बाट ‘हाकु काले’ बनेर उदाएका सौगातले अहिलेसम्म झण्डै ५० चलचित्र खेलिसके । यही साउन २३ गतेबाट उनी अभिनीत ‘सिटामोल’ प्रदर्शनमा आउँदैछ । तर, दर्शकको मानसपटलमा भने अहिले पनि त्यही ‘मास्तर प्लान’ बनाउने ‘हाकु काले’को दृश्य तजोताजा छ । दर्शकको जिब्रोमा अहिले पनि ‘डिमाग लगा पासा डिमाग’ झुण्डिएको छ ।
१३ वर्षअघिको ‘लुट’ सम्झँदा भने सौगातलाई बडो रमाइलो महसुस हुन्छ । त्यसवेला केही चलचित्र खेलिसके पनि मूलधारमा स्थापित भइसकेका थिएनन् । दयाहाङको हालत उस्तै थियो । निश्चल त चलचित्र क्षेत्रमा पाइला राख्न खोज्दै थिए ।
यी तीनजनाले ‘लुट’मा सहकार्य गरिरहँदा चलचित्रलाई दर्शकले त्यसरी मन पराउलान् भन्ने सोचेकै थिएनन् । सौगात सुनाउँछन्, ‘कम बजेटमा बनाइएको थियो । यसले काम गर्ला र भन्ने सोच्दै बनाइएको थियो ।’
सौगातले आजसम्म सबैभन्दा बढी समय दिएको चलचित्र पनि ‘लुट’ नै हो । यसको कारण एकै थियो, उनले अर्को चलचित्र पाएका थिएनन् । पूरै खाली थिए ।
‘चलचित्र पनि मलाई अलि फरक लगेको थियो । निश्चलसँग कुरा हुँदा चारपाँच पेजको कथा थियो । मलाई त्यसवेला काम आउनु नै ठूलो कुरा थियो,’ सौगता सुनाउँछन्, ‘जुन चलचित्र आए पनि मैले नाइँ भनिनँ । ‘लुट’ आउँदा रोमान्चित पनि भइनँ, नयाँ केटा आएको छ, अब काम गर्ने हो भन्ने मात्रै भएको थियो ।’
कथा सुनिरहँदा पनि सौगातलाई रमाइलो लाग्यो । सौगातले सोधेका थिए, ‘तिमी कसरी चलचित्र बनाउँछौ त ? केही आइडिया छ ? पहिले केही बनाएका छौ ?’
निश्चलले भने, ‘छैन दाइ । बरु एउटा सर्ट मुभी छ, हेर्नु न कस्तो लाग्छ ।’
सौगातले हेरे, एउटै कोठाको सेटिङमा खिचिएको रैछ । ठिकैको सर्ट मुभी थियो । कोसिस राम्रो गरेको थियो ।
निश्चल यति रोकिएनन्, कथालाई थप मजबुद बनाउनतिर लाग्यो । सरसल्लाह लिन सुरु गर्यो । सौगातले सुझाए, ‘काले होइन, हाकु नाम राखौं ।’
धेरै वर्ष अगाडि नै सौगातलाई ‘हाकु’ नाम एकदमै मन परेको थियो । निश्चल र सौगात दुवैलाई सबैले ‘काले’ भनेर बोलाउँथे ।
निश्चलले भने, ‘काले भनेकै हाकु हो, किन व्यकारमा हाकु भन्ने ?’
सौगातले भने, ‘मैले रियल लाइफमै हाकु काले भेटेको छु । मलाई यो नाम राम्रो लाग्यो ।’
सौगातको प्रस्ताव निश्चलले मान्यो । चलचित्रमा प्रमुख पात्रको नाम रह्यो, ‘हाकु काले’ । ‘हाकु’ भन्नसाथ यो त नेवारी नाम हो । सौगातलाई लाग्यो, यो पात्रमा नेवारी लवज थप्नुपर्छ ।
‘नेवारी लवज भनेपछि मलाई मज्जा आयो । विदेशी चलचित्र हेर्दा फरक फरक भाषा, फरक फरक वर्ण हुन्थ्यो । मलाई त्यसरी नै काम गर्न मन लाग्यो,’ सौगातले सुनाए, ‘मैले अरु चलचित्रहरुमा पनि फरक फरक लवजको प्रयोग गरेको छु ।’
सौगात थप्छन्, ‘धन्न निश्चलले मेरो कुरा मान्यो, मलाई खुसी लागेको थियो । नमानेको भए अलिकति दुःखी हुन्थेँ होला ।’
जसोतसो ‘लुट’ बन्यो । चलचित्रले बक्स अफिसमा उधुम मच्यायो । सौगात, निश्चल र दयाहाङ स्टार बने । त्यसपछि रफ्तार समातेका यी तीनजनाको गतिमा अहिलेसम्म ब्रेक लागेको छैन । बरु झन् झन् करियरको एक्सिलेटर दबाउँदै हुइँकिरहेका छन् ।
यो बीचमा सौगातले ‘कबड्डी’ २ र ४ जस्ता व्यवसायिक चलचित्र पनि खेले । ‘डाइङ क्याण्डल’, ‘द रेड सुटकेस’जस्ता फेस्टिभल केन्द्रित चलचित्र पनि खेले । अहिले ‘सिटामोल’ आउँदैछ । ‘सिटामोल’ वरिपरि रहेकै सौगातसँग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छ:–
झण्डै ५० चलचित्र खेलिसक्दाको समग्र अनुभव कस्तो रह्यो ?
मलाई त रमाइलै लाग्यो । सानैदेखि जुन क्षेत्रमा हुन्छु सोचेको थिएँ, त्यही क्षेत्रमा छु । मान्छे कहिल्यै खुसी हुँदैन, अझ राम्रो केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।
जे काम आउँछ, गर्दै गइरहेको छु । दुःख, सुख त भइहाल्छ । हिजोका दिनमा नेपाली चलचित्र क्षेत्रको अवस्था कस्तो थियो, सबैलाई छ । बजेटकै कारण चलचित्रहरु खुम्चिएर जान्थे । म के कुरामा मात्रै खुसी छु भने मैले काम पाइरहेको छु, काम गरिरहेको छु ।
काम पाउनु नै ठूलो कुरा हो ?
जसको सोच काम गर्छु भन्ने मात्रै हुन्छ भने उसले काम पाउनै ठूलो कुरा हो नि । ‘रणभूमि’, ‘दाग’, ‘पन्छी’ जस्ता चलचित्र सुरुवातमा गरेँ । बीचमा केही समय ब्रेक लिएँ । अब चलचित्र गर्दिनँ वा सक्दिनँ भन्ने लागेको थियो । पछि फेरि थिएटर गइयो, त्यहाँ सबैले ‘तिमी चलचित्रमा जानुपर्ने मान्छे’ भन्न थाले । फेरि ‘कागबेनी’बाट सुरु गरेँ ।
धेरै कलाकारले एकदमै पातलोगरी चलचित्र खेल्छन् । तपाईं नियमित खेलिरहनुभएको छ । धेरै चलचित्र खेल्नुका फाइदा र वेफाइदा के के हुन् ?
फाइदाको कुरा गर्दा काम गरिरहँदा मलाई खुसी मिलिरहन्छ । अरु क्षेत्रमा दख्खल छैन । व्यापार, व्यवसाय छैन । खाली समयमा पनि यही गर्ने हो, व्यस्त समयमा पनि यही गर्ने हो । फाइदा, वेफाइदाको कुरै भएन ।
कहिलेकाहीँ छानेर खेलौँ भन्ने लाग्दैन ?
लाग्छ लाग्न त । तर, कस्तो हुँदो रहेछ भने ‘नाइँ’ भन्नै सक्दिनँ । साइभाइका चलचित्र हुन्छन्, गर्नैपर्यो । दु्ई महिना जति आराम गरुँ भनेर बिदामा बसेको कुरा साथीभाइलाई थाहा भइहाल्छ । एउटा चलचित्र गरिदिँदा उनीहरुको पनि केही राम्रो हुन्छ जस्तो लाग्छ । तिनीहरु एकदमै दुःखको समयमा मलाई साथ दिएका साथीभाइ हुन् ।
पैसाको लागि कत्तिको चलचित्र खेल्नुहुन्छ ?
त्यो पनि भइहाल्छ नि ।
पैसाको लागि नै खेलेको तपाईंको त्यस्तो कुनै फिल्म भन्नुस् न ?
पैसाकै लागि मात्रै भन्दा पनि चलचित्रले केही गर्ला भनेरै खेलिएको हुन्छ । ग्यारेन्टी फ्लप हुन्छ भनेर गरिएको हुँदैन । तर, चलचित्रले के गर्न सक्छ भनेर चाहिँ थाहा हुन्छ । सुटिङ सुरु गरेको तीनचार दिनमै थाहा हुन्छ । आफूलाई फिल हुन्छ । एक खालको भाइब्स आउँछ ।
सुटिङको तीनचार दिनपछि गज्जबको काम भइरहेको छ, यो चलचित्रले चाहिँ फाँड्छ भन्ने लागेको चलचित्र कुन थियो ?
साँच्चै भन्नुपर्दा मलाई त्यस्तो महसुस अहिलेसम्म भएको छैन । आफ्नो पात्रलाई लिएर एकदमै एक्साइटेड चाहिँ हुन्छ । चलचित्रले केही न केही गर्नसक्छ भन्ने कताकता भइराख्ने रहेछ ।
कस्तो कस्तो चलचित्र हिट भएको देखिएको छ । यकिनका साथ यो चलचित्र चल्छ भन्नै सकिँदैन । जेजस्तो चलचित्र भए पनि एउटा आशाको धागो सधैं भइरहन्छ ।
मानौं, सुटिङ गरेको तीनचार दिनपछि यो चलचित्र धेरै परसम्म जान सक्दैन भन्ने तपाईंलाई लाग्यो । तर, साइन गरिसकेको छ, खेल्नैपर्ने छ । त्यस्तो अवस्थामा मोटिभेसन कहाँबाट ल्याउनुहुन्छ ?
तपाईले पानीमा हामफालेपछि पौडिन नजाने पनि पौडिनैपर्छ । नत्र ज्यान जानसक्छ । लगभग त्यस्तै हो । आफूलाई यो चलचित्रले काम गर्दैन भन्ने लागिसकेपछि पनि आफूलाई कन्भिन्स गराउनुको विकल्प हुँदैन । किनभने आफ्नो पात्रमा डुब्नुबाहेक अरू उपाय छैन । आनन्द पनि त्यसैमा हुन्छ । बिग्रएको सबैलाई सपार्दै हिँड्न पनि सकिँदैन, हैन र ?

चलचित्रले काम गर्दैन भन्ने महसुस भइसकेपछि आफूलाई मनाउन गाह्रो हुन्छ । सुरुवाती दिनहरुमा त म झसंगै भए । ‘शिट्, मैले किन साइन गरेँ? किन यस्तो गरेँ, मैले गल्ती गरेँ? बर्बाद भयो’ भन्ने लाग्थ्यो । अहिले चाहिँ लाग्छ, ‘ल ठीक छ, चलचत्रि हिट हुन्छ र फ्लप हुन्छ भन्ने म को हो र ? कम्तीमा म मेरो काम चाहिँ राम्रोसँग गर्छु ।’
‘सिटामोल’चाहिँ हिट हुन्छ कि फ्लप हुन्छ त ?
लकडाउनको बेला साइन गरेको चलचित्र हो, ४–५ वर्षै भयो । धेरै पैसा पाएर साइन गरेको पनि होइन । लेखक प्रदीप भारद्धज मेरो साथी हो । उसले यो चलचित्रको निर्माण टिमलाई साथ दिनुपर्छ भनिरहेको थियो ।
कथा पनि राम्रो छ । जहाँसम्म लाग्छ, ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो चलचित्रले दर्शकलाई आकर्षित गरिरहेको समय छ । टिपिकल कथाहरू अझ राम्रो चलिरहेका छन् । ‘सिटामोल’मा पनि समयको कथा छ । एउटा परिवारको कथा छ । श्रीमती, श्रीमान, त्यसपछि छोराको कथा छ । समाजको कथा छ । देशको कथा छ ।
तपाईंको छैटौं इन्द्रियले चाहिँ के भन्छ ?
कथाले छुन्छ भन्ने लागेरै मैले साइन गरेको हो । चलचित्र चल्यो भने पैसा पाइन्छ भन्ने हिसाब पनि हो ।
भन्नाले तपाईं सेयरमा ?
अँ, त्यो त एक खालको भइहाल्छ ।
म पुनः ‘लुट’तिरै फर्कन्छु् । ‘लुट’पछि तपाईंलै दर्जनौं चलचित्र गरे पनि दर्शकले तपाईंलाई ‘हाकु काले’ भनेरकै बढी प्रेम गर्छन् । त्यति धेरै चलचित्रमा गरेका पात्रहरू किन दर्शकलाई याद नभएको ?
मलाई पनि मेरो मनपर्ने एक्टरहरूले निर्वाह गरेको सबै पात्र लगभग सबै याद हुँदैन । तिनीहरूको पनि एक दुईटा याद हुन्छ । मलाई नेपालकै पनि याद हुँदाखेरि ‘राते काँइला’ भन्ने सुनिल थापाको याद हुन्छ । अब मेरो चलचित्रमा पनि सबै पात्रलाई अविस्मरणीय बनाउनलाई सधैं कोसिस रहिरहन्छ ।
मलाई नयाँ चलचित्रको पात्रले ‘लुट’को ‘हाकु काले’को हिचानलाई नै चेन्ज गर्दिन्छ भन्ने धेरै आए । तर, मलाई उनीहरुको गफमा कहिल्यै विश्वास लाग्थेन । कुनै मेकरलाई विश्वास लाग्न पनि सक्ला । कतिपयले चलचित्र नगर्ला, अलिकति हौसला दिउँ भनेर पनि भनिदिएका हुनसक्छन् । तर, मलाई थाहा हुन्छ, हाकु काले पात्र सजिलै मेटिँदैन ।
अविस्मरणीय पात्र निर्माण हुनुमा कलाकारको मात्रै होइन, निर्देशक, पटकथाकार सबैको भूमिका हुन्छ । लेखाई त्यस्तै हुनुपर्यो । मैले आफ्नो तर्फबाटे कोसिस गर्ने हो, त्यो गरिरहेको हुन्छु । हरेक पात्रमा फरक गरौं, फरक स्वाद दिउँ भन्ने जहिल्यै लागिरहन्छ ।
पटकथा नै कमजोर हुन्छन् है सुरुवातमै ?
अँ, सुटिङमा जानुअघि पटकथा तयार छैन भने पनि सुटिङमा जानैपर्ने स्थिति देखेको छु । पटकथा तयार भएन, अहिले नै सुटिङमा नजाम न त भन्ने कुरा मैले आजसम्म सुनेको छैन । बरु सुटिङ गएर लेख्दै, सुटिङ गर्दै गरौंला भन्ने सुनिन्छ ।
यस्तो किन हुन्छ भने सबैले पैसा लिइसकेका हुन्छन् । निर्माताले तिर्नुपर्ने ब्याजको कुरा पनि होला । लिएको पैसा सबैले फिर्ता गर्ने कुरा आउँदैन । अनि जसोतसो सुट गरिन्छ । यस्तो हुँदा खिन्न लाग्छ ।
अहिले कसले बढी पारिश्रमिक लिने होडबाजी देखिन्छ । यी चिजहरू हेर्दा तपाईंलाई कस्तो लाग्छ ?
कोही मज्जाले पैसा दिन तयार छ भनेपछि केही सोचेरै दिएको हुन्छ होला । चलचित्र चाहिँ राम्रो बन्नुपर्यो भन्ने उद्देश्य हुनुपर्यो होला ।
तपाईं चाहिँ निर्माताले जति दियो, त्यति लिनुहुन्छ कि बार्गेनिङ गर्नुहुन्छ ?
जति दियो, त्यति लिने भन्ने त कहाँ हुन्छ र ! सुरुवाती दिनमा कागबेनीमा सडमान्ड गरिनँ । जति दिए पनि खुसी थिएँ, किनभने मैले काम पाएको थिएँ । त्यो चलचित्रबाट मैले ३५ हजार लिएको थिएँजस्तो लाग्छ । पछि नकिम दाइले कति पाउँदैछौं भन्दा मैले जे हो त्यही भनेँ ।
उहाँले भन्नुभयो, ‘ल तिमीलाई मैले पाँच थपेर दिएँ ।’ मैले उहाँको त्यो प्रस्ताव कल्पना समेत गरेको थिइनँ । म त एक रुपैयाँ नदिए पनि खेल्न तयार थिएँ, पैसा तिरेर चाहिँ खेल्न तयार थिइनँ । सबैले भन्थे, ‘जबसम्म तैंले पैसा तिर्दैनस्, चलचित्र खेल्न पाउँदैनस् ।’ अनि मैले त्यहीवेला प्रण गरिसकेको थिएँ, ‘यति मिहेनत गर्छु कि एक रुपैयाँ पनि तिरेर खेल्दिनँ ।’
अहिले चाहिँ पारिश्रमिकको निर्धारण कसरी गर्नुहुन्छ ?
यो त लगभग यतिसम्ममा चाहिँ गर्नुपर्छ भनेर दिमागमा भइहाल्छ । तर, यतिबिना म गर्छु भन्ने आफूलाई लागेकै हुन्छ । त्यहीबीचमा बसेर नेगोसियसन गरिन्छ । यति नभई गर्दै गर्दिनँ भन्ने आजसम्म भएको छैन ।
पैसाकै लागि मात्रै भन्दा पनि चलचित्रले केही गर्ला भनेरै खेलिएको हुन्छ । ग्यारेन्टी फ्लप हुन्छ भनेर गरिएको हुँदैन । तर, चलचित्रले के गर्न सक्छ भनेर चाहिँ थाहा हुन्छ । सुटिङ सुरु गरेको तीनचार दिनमै थाहा हुन्छ । आफूलाई फिल हुन्छ । एक खालको भाइब्स आउँछ ।
जस्तो ५० लाखबिना गर्दिनँ भन्ने चाहिँ हुँदैन ?
त्यति धेरै पारिश्रमिक त मैले आजसम्म कल्पना पनि गरेको छुइनँ ।
कति त ? ३० लाख ? २० लाख ?
अब त्यस्तै हुन्छ होला । कुनैमा २० हुन्छ होला । अस्ति मात्रै १५ मा एउटा चलचित्र साइन गरेँ । त्यसअघि साढे दुई लाखमै गरेँ । त्यो चलचित्र चाहिँ फेस्टिभल केन्द्रित थियो ।
अनि घर चाहिँ कसरी चलाउनुहुन्छ ?
अब यत्रो फिल्म गरिरहेको छु, चलिहाल्छ नि !
तपाईंको ‘सिटामोल’ हेर्नैपर्ने पाँचवटा कारण भन्नु पर्यो भने ?
(हाँसो) अब एउटा इन्टरटेनमेन्ट भयो । दोस्रो, जस्तो चलचित्र दर्शकले मन पराइरहनुभएको छ, त्यसको आधारमा यो चलचित्र पनि मन पराउनुहुन्छ । तेस्रो, यो एउटा देशको कथा हो(हाँसो) ।
देशको कथा चाहिँ कसरी ?
त्यो त हो, हेरेरै पत्ता लगाउनुपर्ने हुन्छ (हाँसो) ।
चौथो चाहिँ तपाईंको अभिनय हेर्नलाई ?
आफ्नो अभिनय हेर्नलाई त म भन्दिनँ । सीधै भन्नुपर्दा मलाई आफ्नो अभिनय मनै पर्दैन । अरुले मेरो अभिनयलाई कसरी लिइराख्नुभएको छ, त्यो छुट्टै कुरा हो । चौथो कारण अब बेनिशा र मेरा जोडी हेर्नलाई भन्दिउँ न ।
पाँचौ ?
हाम्रो डिरेक्टर साहबको वन अफ द बेस्ट फिल्म हो रे यो । उहाँले यसै भन्नुभएको छ । ‘मेरो मुटुको टुक्रा जस्तो हो यो, साँचेर राखेको हो’ भन्नुभएको छ ।
निर्देशकको कुरामा विश्वास छ ?
मैले विश्वास गर्नुपर्यो नि !
तपाईंले एक टेलिभिजन कार्यक्रममा कुनै पनि नेतालाई चिन्दिनँ भन्नुभएको थियो । साँच्चिकै नचिन्ने हो र तपाईं ?
सबैलाई नचिन्ने नै भन्ने त हुँदैन । त्यो कार्यक्रम हेरेपछि कत्तिले भन्नुभयो, ‘तिमीले आएर पनि भनेनौं, मलाई सही लाग्यो ।’ मैले भनेँ, ‘तर, मलाई साँच्चिकै नाम आउँदैन ।’ उनीहरुले भने, ‘मजाक गर्छौ या, त्यस्तो पनि तिमीलाई थाहा हुँदैन र ?’

मलाई साँच्चिकै थाहा थिएन । एकजनालाई थाहा नहुनु पनि ठूलो घटना हुने रहेछ । मैले त्यसरी कल्पना गरेकै थिइनँ । त्यसरी ठूलो घटना होला भनेर थाहा भएको भए बरु म सोचेर, तयारी गरेर जान्थेँ नि ।
मलाई सानैदेखि राजनीतिमा एकदमै कम रुचि भइदियो । मेरो परिवारमा सबै राजनीतिमा हुनुहुन्थ्यो । तर, हिरोको छोरालाई पछि गएर हिरो नै बन्न मन नलाग्न सक्छ । उसले दिक्क भएर ‘म हिरो बन्दिनँ’ भन्न सक्छ ।
मैले पनि सानोमा घरमा जस्तो वातावरण देखेँ, मलाई जस्तो प्रभाव पर्यो, त्यसले गर्दा मलाई राजनीतिमा चासो भएन । नेताहरु दिनभरि बसेका छन्, गफ गरेका छन् । मलाई राजनीति ठूलो दिमाग भएको मान्छेले गर्नै चिज लाग्यो । अनि मलाई रुचि भएन ।
तपाईको जिल्लाको सांसद विनोद चौधरी त चिन्नुहुन्छ नि ?
सबै नेतालाई नचिन्ने होइन के । समग्र रुपमा पो चिन्दिनँ भनेको हो ।
भोट हाल्नुहुन्छ कि हाल्नुभएको छ कि छैन अहिलेसम्म ?
हालेको छु, किन नहाल्नु भोट ! परासी नै गएर हालेको हो ।
आफ्नो परिवार भएको पार्टीमा कि अलगमा ?
अँ, खासमा चाहिँ नि परिवारले जोलाई भन्नुहुन्छ, मैले उसैलाई हालिदिएको हो । मेरो आफ्नो तर्फबाट यही उम्मेदवारलाई हाल्ने भन्ने केही थिएन ।
०००

Leave a Reply