कैलाली । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालले सन् २०२६ मा हुने टी-२० विश्वकपमा सहभागिता जनाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटबाट नेपालले विश्वकपमा स्थान बनाउने विश्वास व्यक्त गरे । उक्त छनोटमा नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ, जसबाट तीन टोली सन् २०२६ को टी-२० विश्वकपमा छनोट हुनेछन् । सो विश्वकपमा एसिया तथा इस्ट एसिया प्यासिफिकबाट तीन, युरोप र अफ्रिकाबाट दुई-दुई तथा अमेरिकन क्षेत्रबाट एक टोली छनोट हुने प्रावधान छ ।
‘हामीले गरेको तयारीबाट नेपालले विश्वकप खेल्नेमा म पूर्ण विश्वस्त छु,’ चन्दले भने ।
उनले नेपाललाई टेस्ट राष्ट्रको मान्यता दिने अभियानअन्तर्गत प्रशिक्षण र योजना रहेको बताए । पछिल्लो समयमा नेपाली क्रिकेटले उल्लेखनीय फड्को मारेको उल्लेख गर्दै भने, ‘यो केबल विगत एक वर्षको उपलब्धि मात्र होइन । नेपाल प्रीमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटलाई सातै प्रदेशसँग जोडेर लोकप्रियता हासिल गरेको छ ।’
उनले सुदूरपश्चिम प्रदेशले नेपाली क्रिकेटको विकासमा ठूलो योगदान पुर्याएको दाबी गर्दै भने, ‘नेपालको क्रिकेटलाई यहाँसम्म पुर्याउन सुदूरपश्चिमको भूमिकालाई बेवास्ता गर्न सकिँदैन। संसारभर नेपाललाई चिनाउनेमा यहाँको क्रिकेट क्षेत्र अग्रणी छ ।’
यद्यपि, पूर्वाधारको अभाव अझै नेपाली क्रिकेटको ठूलो चुनौती भएको अध्यक्ष चन्दको भनाइ छ । उनले ‘फाप्ला क्रिकेट मैदानको विकास केबल सपना नबनोस् ‘ भनेका थिए ।
उनले अहिलेकै पुस्ताले फाप्लामा क्रिकेट खेल्नेगरी संरचना बनाउनु पर्नेमा जोड दिएका थिए ।
अध्यक्ष चन्दले भने, ‘अहिले उत्कृष्ट खेलाडीहरूको पुस्ता छ । यिनैले फाप्लामा खेल्न पाउने अवस्था बनाउनु जरुरी छ । अहिले नै मैदान बनाउन उपयुक्त समय हो ।’
फाप्ला क्रिकेट प्रोजेक्टमा क्यानको सहभागिता नरहेको उनले जानकारी दिए ।
उनले सुदूरपश्चिम प्रदेश सरकारलाई क्रिकेट पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे ।
‘यहाँ एउटा पनि स्तरीय खेलमैदान छैन। हजारौं खेलाडीहरू भारत गएर प्रशिक्षण लिइरहेका छन्,’ चन्दले भने ।
अध्यक्ष चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदान निर्माणमा चासो देखाएको भन्दै अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि छिट्टै क्रिकेट पूर्वाधार बन्नुपर्ने बताए ।
नेपाल प्रीमियर लिग (एनपीएल) को पहिलो सिजन सफल भएको उल्लेख गर्दै उनले दोस्रो सिजनको तयारी भइसकेको जानकारी दिए ।
‘पहिलो सिजनको हिसाबको पारित प्रक्रिया बाँकी भएकाले अहिलेसम्म पारित भएको छैन, तर चाँडै पारित हुन्छ,’ उनले स्पष्ट पारे ।
उनले नेपाली क्रिकेटमा आफ्नो कार्यकाल सबैभन्दा न्यायपूर्ण रहेको दाबी गर्दै भने, ‘अन्याय गर्नेहरूलाई कुनै छुट छैन । सुदूरपश्चिमका खेलाडीहरू अत्यन्तै प्रतिभाशाली छन् ।’
सुदूरपश्चिम क्रिकेट संघको विवादलाई सामान्य भन्दै उनले अरु प्रदेशभन्दा यहाँ कम गतिविधि भइरहेप्रति गुनासो गरेका थिए ।

Leave a Reply