एमाले मोरङमा वर्चश्व बढाउँदै विनोद, विराटनगरको १७ मध्ये १५ वडामा जित

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको वडा अधिवेशनमा पनि प्यानलगत प्रतिस्पर्धा भएको छ ।

शनिबार सम्पन्न १७ वटा वडाको अधिवेशनमा १४ वटामा सर्वसम्मत र ३ वटामा मतदानबाट नेतृत्व टुंगिएको छ । महानगरमा १९ वटा वडा छन् । २ वटा वडाको अधिवेशन साउन २५ भित्र गर्ने तयारीसहित स्थगित भएको महानगर कमिटीका सचिव विज्ञान चापागाईँले जानकारी दिए ।

मोरङमा संस्थापन पक्षकालाई चुनौती दिइरहेका विनोद ढकाल पक्षधरले महानगरको वडा अधिवेशनमा पनि अधिकांश ठाउँमा प्रभाव कायमै राखेका छन् । ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकटका हुन् ।

वडा नम्बर ४, १० र १४ मा नेतृत्वका लागि भोटिङ भएको छ । १० नम्बरको अध्यक्षममा कृष्ण तिम्सिना, १४ मा सन्तोष शर्मा र ४ मा नवराज नेपाल विजयी भएका छन् ।

मतदानबाट निर्वाचित सन्तोष शर्मा संस्थापन पक्षका हुन् । नवराज अहिले ढकालतिर लागेका छन् । जिल्ला अधिवेशनमा संस्थापनतिर रहेका उनी मानगढ खानेपानीको निर्वाचनमा पनि इतर कित्तामा उभिएका थिए ।

सर्वसम्मत चयन भएकामध्ये अधिकांश इतर समूहकै छन् । १७ मध्ये १५ जना आफूहरूतिरको भएको इतर पक्षको दाबी छ ।

महानगरको वडा अधिवेशनबाट १ मा ईश्वर रिजाल, २ मा प्रवीणचन्द्र कर्ण, ३ मा ईश्वर निरौला, ५ मा राजेश गिरी, ६ मा नारायण बराल, ८ मा भुवन राजवंशी अध्यक्षमा निर्वाचित भएका छन् । भुवन र ईश्वर रिजाल मोरङ इन्चार्ज जीवन घिमिरे निकट मानिन्छन् ।

यस्तै ११ मा सूर्यकिरण घिमिरे, १२ मा भानुभक्त पाठक, १३ मा निरज बस्नेत, १५ मा भिखारी खत्वे, १६ मा धनकुमार लामा, १७ मा मोहम्वत गुल्जार, १८ मा जितेन्द्र कामत र १९ मा अमिरलाल चौधरी सर्वसम्मत अध्यक्ष बने । यीमध्ये लामा संस्थापनतिरका हुन् ।

महानगरका ९ वटा वडा कमिटीका अध्यक्षहरू दोहोरिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *