लागु औषधमा कैद सजाय पाएका गाउँपालिका उपाध्यक्षको सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं । ‘गुण्डा नाइके’ का रूपमा परिचित काभ्रेको भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा (जितेन्द्र) विरुद्धको लागुऔषध मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । लामाको सुनुवाइको पेशी न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको छ ।

२०७१ भदौ २ गते प्रहरीले बौद्ध, नयाँ बस्तीस्थित दिव्य पार्टी प्यालेसको स्वीमिङ पुलबाट दावालाई पक्राउ गर्दा उनीबाट एप्पल कम्पनीको मोबाइल थान-१, सामसुङ कम्पनीको मोबाइल थान १ सहित १४.८० ग्राम खैरो हेरोइन बरामद भएको थियो ।

उक्त मुद्दामा उनीसँगै कञ्चनपुर जिल्ला, महेन्द्रनगर नगरपालिका वडा नं. ४ का प्रवीण खड्का र दार्चुला साविक धारी गाविस- ७ का वीरेन्द्रबहादुर कुँवर पनि पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतबाट २०७२ मंसिर २७ मा भएको फैसलाले दावाको हकमा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१) (१) बमोजिम ५ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर गरेको थियो । अरु दुईले सफाइ पाए ।

उक्त फैसलालाई उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्रकुमार शिवाकोटी र रामप्रसाद अधिकारीको इजलासले २०७५ असोज १६ गते सदर गरेको थियो । उच्चको आदेश पुनरावलोकनको माग गर्दै दावाले सर्वोच्चको दिएको रिट निवेदनमाथि आज पेशी तोकिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *