काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेको वनेपा नगरपालिका–१०, जनगलमा निर्माण गर्न लागिएको अत्याधुनिक इन्डोर फिल्म स्टुडियो ‘सिनेपाः’ को दोस्रो फेजको निर्माणको लागि बोलपत्र आह्वान गरेको छ । आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै ३० दिनभित्र ई–बिडिङ प्रणालीबाट प्रस्ताव पेश गर्न आह्वान गरिएको हो ।
परियोजनामा सहभागी हुन चाहने कम्पनीहरूले ३६ लाख रुपैयाँको बोलपत्र सुरक्षा रकम र १० हजारको दस्तावेज शुल्क बुझाउनु पर्नेछ । यसअघि, २०८१ माघ २७ गते चलचित्र विकास बोर्डले पहिलो टेन्डर आह्वान गरेको थियो ।
बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, ‘सिनेपाः’ नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुनेछ । निजीस्तरमा केही स्टुडियोहरू रहेका भए पनि सरकारी स्वामित्वमा यस्तो स्टुडियो पहिलोपटक बन्न लागेको हो ।
४२ रोपनी क्षेत्रफलमा निर्माण हुने यस स्टुडियोले स्वदेशी चलचित्र निर्माताहरूलाई प्रविधियुक्त, गुणस्तरीय र लागत–मैत्री छायांकन स्थल उपलब्ध गराउनेछ । वर्षौंदेखि योजनास्तरमा रहेको यो परियोजना हालै निर्माण चरणमा प्रवेश गरेको हो ।
२०८२ वैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आयोजित विशेष कार्यक्रममा सिनेपाः स्टुडियो निर्माण आरम्भ भएको औपचारिक घोषणा गरेका थिए । उनले यसलाई नेपाली चलचित्र क्षेत्रका लागि ‘एक प्रकारको क्रान्ति’ को संज्ञा दिएका थिए ।
‘छ दशकअघि देखिको सपना अब साकार हुँदैछ,’ उनले भने, ‘राज्यसँग धेरै बजेट नभए पनि सुरु गरिएका कामहरू पूरा हुन्छन् । सिने क्षेत्रप्रति हाम्रो प्रतिबद्धता दृढ छ ।’
सिनेपाः को निर्माणले नेपाली फिल्म उद्योगमा आधुनिक सुटिङ पूर्वाधारको खाँचो पूर्ति गर्दै अन्तर्राष्ट्रिय मापदण्डको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।


Leave a Reply