‘म पार्टी विभाजनको पक्षमा छैन, एमालेसँग नजिकिएको पनि होइन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले विभाजन गर्नुको औचित्य पुष्टि नभएको भन्दै विद्रोह गर्नु गलत भएको निष्कर्षसहितको अभिव्यक्ति दिएपछि पार्टीभित्र अन्तरसंघर्ष चर्किएको छ।

एमाले विभाजन गर्नु र छाड्नु आफैँमा गल्ती भएको स्वीकार गर्दै खनालले एक अन्तर्वार्तामा भनेका थिए, ‘म त अब के भन्न थालेको छु भने जतिबेला पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म।’

नेता खनालको यो अभिव्यक्ति लगत्तै अध्यक्ष नेपालले आक्रोश हुँदै पार्टी छाड्न चेतावनी दिए। खनाललाई जवाफ दिँदै नेपालले भने, ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन। अचेल त एआई को जमाना छ। नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । उहाँले पाटीबाट बिदा लिनुपर्छ ।’

उनले खनाललाई पाटीको निर्णय उलङ्घन गर्ने कुरामा नम्बर वान भएको समेत आरोप लगाए। दुई नेताबीच चर्किएको अन्तरसघंर्ष, अध्यक्षको चेतावनीपछिको अबको कदम, सचिवालय बैठकमा राखेको लिखित मागदेखि एमालेसँग नजिकिएको चर्चाको विषयमा केन्द्रित रहेर नेता खनालसँग गरिएको कुराकानी।

-तपाईंले एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि नभएको भनेपछि अध्यक्षले पार्टी छाडेर जानु भन्ने अभिव्यक्ति दिनुभयो, त्यसलाई कसरी लिनुभएको छ ?

म कम्युनिस्ट पार्टीको नेता हो। मैले हाम्रो पार्टीको अध्यक्षलाई पनि कम्युनिस्ट नेता मानेको, कम्युनिस्ट पार्टी विधि, पद्धति र प्रणालीबाट चल्छ। कसलाई कतिबेला पार्टीबाट निकाल्नुपर्छ, कुनै नेता पत्रकारहरूको बीचबाट आदेश जारी गरेर अर्को नेतालाई निकाल्ने भन्ने कुरा कम्युनिस्ट पार्टीको डिसनेरीमा हुँदैन।

यति मात्रै पनि विधि पद्धति नबुझेको, पार्टीमा कसैलाई निकाल्नुपर्‍यो भने कसरी निकाल्ने भन्ने तरिका मात्रै पनि थाहा नपाएको नेतालाई हामीले अध्यक्ष बनाएछौँ भन्ने कुरा थाहा पाउँदा मलाई दुःख लागेको छ।

– अध्यक्षले खुरुक्क राजीनामा दिएर बिदा हुनु भनिसक्नुभयो ?

यो हामीले बनाएको पार्टी हो। छाडेर जाने भन्ने प्रश्न हुन्छ र? कसैले भन्ने बित्तिकै ? यो पार्टीको मालिक चाहिँ अर्को छ र ? यो हामी सबैको पार्टी हो नि। त्यसैले कसैले पार्टी छाडेर जा भन्दैमा कोही जान्छ ? जाँदैन। जसलाई जान मन लाग्छ आफैँ गए हुन्छ।

-एमालेबाट विद्रोहको गर्नु गलत थियो भनेपछि उहाँ चिढिनुभएको देखिन्छ, अब पार्टीमा कुन मोड लिन्छ ?

यो पार्टीभित्र छलफलको विषय बन्छ। पार्टीले जुन ढङ्गले विद्रोहको औचित्य पुष्टि गर्नुपर्ने थियो। राजनीतिक, वैचारिक, सैद्धान्तिक र जनसंगठनात्मक हिसाबले त्यो पुष्टि भएन भन्ने अहिले सिङ्गो पार्टीपंक्तिको धारण बनिरहेको छ। आम पार्टी कार्यकर्ताले सोचिरहेका छन्। औचित्य पुष्टि गर्न सकेन। नेतृत्वले सकेन भन्ने नै छ। त्यो यथार्थ हो त्यसलाई कसैले अस्वीकार गर्छ भने केही भन्न सकिँदैन।

-नेतृत्वले औचित्य पुष्टि गर्न सकेन भन्नुभयो। अध्यक्षमाथि भ्रष्टाचारको मुद्दा पनि छ। अब उहाँले पद छाड्नुपर्ने तपाईँको माग हो ?
अघिल्लो सचिवालय बैठकमा मैले लिखित प्रस्ताव प्रस्तुत गरेको छु। त्यसबारेमा अहिलेसम्म पार्टीमा छलफल भएको छैन। मैले छलफलको माग गरिरहेको छु। चाँडो सचिवालय बैठक राखेर त्यसबारेमा छलफल होस् र त्यसबारेमा निष्कर्षमा पुगोस् भन्ने मेरो माग रहिरहेको छ।

– तपाईंकाे त्यही प्रस्तावले अध्यक्ष नेपाल अलिबढी रुष्ट भएजस्तो सुनिन्छ। त्यसमा के छ  ?

मैले राखेको प्रस्तावमाथि पार्टीभित्र छलफल नै भएको छैन। त्यो प्रस्ताव पारित भएपछि वा पार्टीले अस्वीकार गरेपछि मात्रै मैले सार्वजनिक गर्छु भनेको छु।

-अध्यक्षसँग अन्तरसंघर्ष चर्किएपछि तपाईँ एमालेसँग नजिकिएको चर्चा पनि छ नि?
त्यो चर्चा मात्रै हो, कतै नजिकिएको छैन। म कहिले कता, कहिले कता गर्ने व्यक्ति होइन। म कम्युनिस्ट आन्दोलनको एउटा नेता हुँ। नेपालमा पुँजीवादी जनवादी सम्पन्न भइसकेपछि अब समाजवादी क्रान्ति र रूपान्तरणको दिशामा जानुपर्छ, अबको लक्ष्य समाजवाद हो।
त्यो समाजवाद प्राप्त गर्नको निम्ति सही क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा, अगाडि बढ्नुपर्छ र त्यो अगाडि बढ्ने पार्टी निर्माण गर्दै सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाएर लानुपर्छ भन्ने पक्षमा छु।

– अहिले समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्न माओवादीसँग तत्कालै एकता हुँदैछ भन्ने चर्चा छ, यसमा तपाईँको राय के छ?

अहिले समाजवादी मोर्चा पार्टीमा रूपान्तरण हुने कुनै आधार छैन। पार्टी निर्माण आफ्नै प्रक्रियाबाट हुन्छ। पार्टी एकताको आफ्नै प्रक्रिया हुन्छन्। वैचारिक राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक कार्यदिशाहरू मिल्यो भनेर विभिन्न पार्टीबीच एकताको कुरा अघि बढ्छ। यो जटिल प्रक्रिया हो। अहिले कसैले फकाउँदैमा माओवादीसँग एकता हुँदैन।

– अध्यक्ष अध्यक्षले त माओवादीसँग एकताको लागि तयार नै देखिन्नुहुन्छ ?
त्यस्तो केही पनि छैन। त्यो बाहिरका मान्छेले गरेको प्रचार मात्रै हो। नेकपा एकीकृत समाजवादी एकताबद्ध भएर अघि बढ्छ। पार्टीभित्रको विकृतिलाई हामी बढारेर फ्याँक्छौँ। यो पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा पुनर्गठन गरेर अगाडि बढ्छौँ।

-अध्यक्ष र तपाईँबीचको अन्तरसंर्घषले पार्टी विभाजनतिर जाँदैछ ?
म विभाजनको पक्षमा छैन। जसले गल्ती गरेको छ उसले आत्मालोचना गर्नुपर्छ। त्यसलाई सच्याएर सही नीति र सही नेतृत्व निर्माण गरेर पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ।

-तपाईँले विभाजनको पक्षमा छैन भन्नुभयो। तर, अध्यक्षले पार्टी छाड भनिसक्दा पनि अझै सँगै बस्नुहुन्छ ?

कुनै पनि व्यक्ति विशेषको इच्छा अनुसार कम्युनिस्ट पार्टी चल्दैन। न कुनै अध्यक्षको आधारमा चल्छ, न कुनै अरूको। कमिटीको निर्णयको आधारमा पार्टी चल्छ। पार्टीका कार्यदिशा, नीति र सिद्धान्त हुन्छन्। आफ्नै पद्धति हुन्छन्, व्यक्तिको आग्रह र पूर्वाग्रहबाट कम्युनिस्ट पार्टी चल्दैन।

Comments

One response to “‘म पार्टी विभाजनको पक्षमा छैन, एमालेसँग नजिकिएको पनि होइन’”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीको आदेश मान्नेले आदेश नमान्नेलाई त जा भन्ने नै भयो । नेताज्यूमा एउटा भ्रम अझै पनि बाँकी रहेछ कि रूपान्तरणको लागि पार्टी फुटाएको भनेर । राजनीतिमा अझै केटाकेटी । ओलिले देशलाई सम्वृद्व बनाउने भए, स्वाभिमान नेपाल बनाउने भए, आफ्नो हित हुने भए मात्र अरूको कुरा सुन्ने भए, ओलि रहुन्जेल नेपाललाई गुलाम बनाउन र नियन्त्रित अस्थिरतामा राख्न नसकिने भयो भनेर दक्षिणले आफूले खुवाएर पालिरहेका भाडाका टट्टुहरूलाई निर्देशन दिएकाले पार्टी फुटाएका हुन् । न विचार, नि गन्तव्य केही केही छैन । छ त केवल ओलिलाई र एमालेलाई कमजोर बनाउने । एक दुई जना मूल नेता हुन् त्यस्तो आदेश मान्ने फेरि । अरू त तिनै नेताका पछि लागेर खान पल्केका, केही चाहिँ तपाईं जस्तै साच्चिकै पुनर्गठन गर्न सकिन्छ कि क्या हो भन्ने, केही चाहिँ यहि मौका हो झापाली कान्छोलाई देखाईदिउँ न भन्ने, केही फेरि त्यहि मालिकाले पालेका घरपालुवाले हो पार्टी फुटाएको । देश बनाउने होईन देश बिगार्ने, अस्थिरता मच्चाउने, उत्तरतिर मिल्न नदिएर गुलाम बनाईराख्ने दक्षिणको मूल उद्देश्का सहयोगी भरौटेहरू मात्र हुन् ती । सिपि, आरके, भिम जस्तैको हालत हुन्छ तिनको । अहिले भिम पार्टी भित्र हुँदा पनि र नहुँदा पनि एक नम्बरको भाडाको टट्टु बनेको छ । गरिवको सिटमा छोरो पढाएर उसैको गुणगान गाउन नक्कली राष्ट्रवादी बन्दैछ अहिले त्यो । उसलाई दिईएको कार्य भनेको ओलिको विरोध । तर आफू सकिएको पत्तै छैन । हुन त दानापानी आएकै छ किन पिर गर्नु । हो यत्रो वर्ष राजनीति गरेका नेताले अहिले आएर विभाजनको ओैचित्य पुष्टि भएन भनेको सुन्दा केटाकेटी नै रहेछन कामरेड भनेर दया लाग्यो । उमेरले धेरै वर्ष कान्छो भए पनि, कामरेडजस्तो पार्टीमा नलागेको भए पनि त्यो विभाजन दक्षिणले नेपालमा भएका उसका पालेका टट्टुहरू मार्फत गराएको थियो र त्यसमा तिमीजस्ता केटाकेटी पनि मिसिन गए भनेर मैले त विभाजनताका नै भनेको हो । विभाजन पछि त्यो शक्तिले भिमलाई उचाल्यो, अहिले विद्यालाई उचाल्दैछ । हिजो विद्यालाई उचाल्दै थियो एउटा पत्रकार नामको त्यहि शक्तिको दानापानी खाईरहेको देशद्रोही । तर एमालेलाई म विनम्र अनुरोध गर्दछु कि यस्ता विभाजनकारीहरूलाई फेरि पार्टीमा नभित्र्याउ । यिनीहरू आएर पार्टी कहिल्यै ठूलो हुँदैन । यिनको पेशा नै फुटाउने हो । बामदेवले आफ्नो असली चरित्र देखाउन थालिसक्यो । त्यसैले प्रतिबद्व वडास्तरको कार्यकर्ता झलनाथभन्दा पार्टीको लागि बलियो र महान हुन्छ । यस्तालाई भित्र्याउने, चुनावताका भित्र्याएर टिकट बाँडनेजस्ता मूर्ख काम एमालेले नगरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *