काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेको ४ वर्ष बितेपछि औचित्य पुष्टि गर्ने ढंगले अघि बढ्न नसकेको बताएका छन्।
अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान भनेपछि पत्रकार सम्मेलन गरेर विद्रोहको औचित्य पुष्टि गर्ने कार्यदिशा नै अघि बढाउन नसकेको बताए। उनले पार्टीले दक्षिणपन्थी अवसरवाद खण्डन र आलोचना गर्नै नसकेको जिकिर गरे।
उनले भने, ‘औचित्य पुष्टि गर्न नसकेको कुरा मैले मात्रै भनेको होइन। आम नेता कार्यकर्ताको कुरा हो। मैले उठाइदिएको मात्रै हो। आजको नेतृत्वलाई खबरदारी गरेको पनि हुँ।’
उनले नेतृत्वले आफ्नो खबरदारीले अस्वीकार गरेको बताए। उनले एउटै कार्यक्रममा सहभागी हुँदा पनि आफूले वैज्ञानिक समाजवादको कुरा गरेपछि अध्यक्षले जबज छाड्नै सकिँदैन भन्ने गरेको बताए।
उनले थपे, ‘म त यस्ता कुराहरू पार्टीभित्र छलफल गरेर सही र गलत छुट्टाएर समाधान गर्नुपर्छ भन्ने पक्षमा छु। म अरू ढंगले जान्न। विद्रोह गरेको गलत भनेको छैन। तर औचित्य पुष्टि गर्न सकेनौँ भने स्वतः गलत हुन्छ। त्यसैले वैचारिक सैद्धान्तिक छलफल गरौँ भनेको हुँ।’

Leave a Reply