सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ: मुख्यमन्त्री आचार्य

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

‘हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिने गरी काम गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले यो विषयमा संवेदनशील बन्न जरुरी छ।’

लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उनले जाेड दिए । ‘मुलुक बनाउन बाहिरबाट कोही आउँदैन । हामी आफैंले बनाउनु पर्छ,’उनले भने ।

मुख्यमन्त्री आचार्यले सरकार समस्याको समाधानका लागि सुन्न र कार्यान्वयनमा जान तयार रहेको स्पष्ट पारेका छन् । उनले मिडिया संस्थाको संख्या वृद्धि भएकाे र सरकारले पनि बजेटको आकार बढाउन भूमिका खेलिरहेकाे बताए । ‘राजस्वमा डेढ अर्बले वृद्धि गर्न सकेका छौं । सुरुमा योजना कम थिए, अहिले ती योजना विस्तार भएका छन्,’ उनले भने । मुख्यमन्त्री आचार्यका अनुसार, प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ । १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्त्व दिइएको र मिडियाको हकहितका लागि वकालत गरिरहेको उनले उल्लेख गरे ।

‘सञ्चार समन्वय परिषद्को भूमिका थप प्रभावकारी बनाउन कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘अहिले अर्थ मन्त्रालयमा पुगेको ऐन मन्त्रिपरिषद् हुँदै यही वर्षे अधिवेशनमा सदनमा प्रस्तुत हुन्छ । सञ्चार ऐनमा आवश्यक सुधार यही वर्ष हुन्छ ।’

लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा ‘मिलन’ ले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय टेलिभिजन प्रसारक संघका केन्द्रीय उपाध्यक्ष विष्णु भुसालले प्रदेशमा समानुपातिक विज्ञापन वितरणको नीति आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले आशा जगाउने खालका कार्यमा सञ्चार क्षेत्र लाग्नुपर्नेमा जोड दिँदै सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताए ।

लुम्बिनी उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशको आर्थिक विकास र सञ्चारको दिगो सञ्चालनका लागि वातावरण निर्माण राज्यको जिम्मेवारी रहेको बताए । उनले तथ्य र प्रमाणमा आधारित पत्रकारिता आजको आवश्यकता रहेकाेमा जाेड दिए । उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले मिडियाले निजी क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने गरी काम गर्नुपर्ने बताए । चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले ‘एकीकृत आवाज र आशावादी दृष्टिकोणसहित निजी क्षेत्रको समृद्धिका लागि सञ्चारको सहयोग अपरिहार्य’ रहेको बताए । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका निवर्तमान अध्यक्ष नरेश केसीकाे नेतृत्वमा रहेकाे कार्यसमितिले नवनिर्वाचित गोपाल ज्ञवालीको अध्यक्षतामा रहेकाे कार्यसमितिलाई पद हस्तान्तरण गरेकाे थियाे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *