काठमाडौं । नेपाल-दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ ।
बागबजारस्थित काठमाडौं मोडल कलेजमा आयोजित समारोहमा दक्षिण कोरियाका विभिन्न कम्तिमा २० वटा विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै आएका २५ जना विद्यार्थी, अध्यापकहरुको समूह सम्मिलित थियो ।
उनीहरुलाई स्वागत गर्दै केएमसीका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदीले आजको आधुनिक परिस्थितिसँग सामना गर्न विद्यार्थीहरुले विश्वव्यापी संस्कृतिलाई पहिचान गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी यस किसिमका सांस्कृतिक आदानप्रदानका कार्यक्रम भएको बताए ।
‘हामीले चार पटक दर्जनौं कोरियन विश्वविद्यालयका विद्यार्थी र अध्यापकलाई स्वागत गरिसकेका छौं । जसले उनीहरुलाई नेपाल आउँदा नेपालमा कोही साथी छ भन्ने भावना जागृत गराउने र नेपालीले पनि कोरिया जाँदा त्यहाँ कोही भएको महसुस हुनेछ’, समारोहलाई सम्बोधन गर्दै प्रमुख सुवेदीले भने, ‘अहिले हामीले कोरियन मित्रहरुलाई स्वागत गरिरहेका छौं । आगामी दिनमा हाम्रा विद्यार्थीलाई कोरियमा स्वागत हुने अवस्थाको सिर्जना हुँदैछ । जसले दुवै देशका संस्कृति, रहनसहन र शैक्षिक पद्धतिबारे जानकारी हुने र अपनत्व अनुभूति हुन्छ ।’
कार्यक्रममा केमएसीका विद्यार्थीहरु चेन्जुली लिम्बु र समुन्द्र कोइरालाले आफ्ना अनुभव र शैक्षिक क्षेत्रसँग रहेर प्रस्तुति दिएका थिए भने अपेक्षा पौडेल, तिसा मानन्धर र रिया केसीले नेपाली सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए । त्यस्तै, कोरियन विद्यार्थीहरुले विभिन्न कोरियन गीतहरुमा नृत्य प्रदर्शन गर्नुका साथै मार्सल आर्टको कला प्रदर्शन तथा नेपाली गीत ‘मत ढलेँ ढलेँ’ मा नृत्य गरेका थिए । उनीहरुले ‘आई लभ नेपाल’को टिसर्ट तथा नेपालको झण्डा अंकित गरेर प्रदर्शन गरेका थिए ।
नेपाल प्रससँग कुरा गर्दै यस कार्यक्रममा प्रोजक्ट म्यानेजर तथा कन्नम विश्वविद्यालयका प्राध्यापक काङचाङवुकले नेपाल र कोरियन विद्यार्थीहरुबीचको यस्ता कार्यक्रमले दुवै देशबीचको मित्रतालाई बलियो पार्ने र विश्वव्यापी बजारमा प्रतिस्पर्धी बनाउने बताए ।
कार्यक्रममा वाङकङ हेल्थ साइन्स युनिभर्सिटीकी अध्यापक जोङ सुआ र हाङकुक युनिभर्सिटी अफ फरन स्टडीजकी ली जीनलगायतको नेतृत्वमा २५ सदस्यीय टोली सहभागी थिए । त्यस्तै, नेपालबाट केएमसीका आइक्यूएसी प्रमुख ध्रुव प्रसाद तिमिल्सिना, बीबीएस र बीएका तथा बीबीए र बीबीएमका प्रोग्राम प्रमुखहरु एलिस राजोपाध्याय र सागर खरेल तथा स्नातक तहका विद्यार्थीहरु सहभागीता थियो ।


Leave a Reply