काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको भैँसेपाटीस्थित घरमै पुगेका छन् । लामो समयदेखि अस्वस्थ रहेकी मिश्रकी आमासँग उनले भेटघाट गरे ।
पार्टीभित्र दुई गुटको अन्तरद्वन्द्व चर्किएका बेला ‘न्यूट्रल’ रहेका मिश्रको घरमा लिङदेनको उपस्थितिलाई अर्थपूर्णरूपमा हेरिएको छ । भेटघाटको प्रयोजन राजनीतिक नभए पनि यसले दुई नेताहरूबीचको आपसी सम्बन्धमा सुधार ल्याउने विश्वास गरिएको छ ।
मिश्रकी आमा डिमेन्सिया रोगबाट ग्रस्त छिन् । उनी सबै कुरा बिर्सिँदै गएकी छन् । छोरालाई पनि कहिलेकाहीँ चिन्दिनन् । भेटका क्रममा मिश्रले आमालाई अध्यक्षसँग चिनाउने प्रयास गरेका थिए । मिश्रले उनलाई स्वास्थ्य लाभको कामना गरे ।

स्रोतका अनुसार लिङदेनले मिश्रको घरमा जाने योजना पहिल्यै बनाए पनि अहिले मौका जुरेको हो । पार्टीभित्र द्वीपक्षीय टकराव चलिरहँदा कतै पनि नखुलेका मिश्रलाई विश्वासमा लिने प्रयासका रुपमा पनि यसलाई हेरिएको छ । यद्यपि, आजको भेटघाटमा राजनीतिक कुराकानी नभएको स्रोतले बतायो ।
लिङदेनसँगै राप्रपाबाट बाग्मती प्रदेशकी सांसद लक्ष्मी घिमिरे र पार्टीका सहमहामन्त्री अमृत पुडासैनी पनि मिश्रको घरमा पुगेका थिए ।
प्रहरी हिरासतबाट बाहिर निस्किएयता मिश्र राजनीतिक गतिविधिहरुमा त्यति सक्रिय छैनन् । पार्टीको आन्तरिक विवादमा त उनी पूर्णतया मौन नै छ । अध्यक्ष नेतृत्वको संस्थापन पक्ष र महामन्त्री डा. धवलशमशेर राणा नेतृत्वको असन्तुष्ट पक्ष दुवैका लागि उनको पक्षधरताले ठूलो महत्व राख्ने निश्चित छ ।
राप्रपाको आगामी महाधिवेशनमा लिङदेन र राणाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मिश्रले भने कुनै पनि पनि पदका लागि आकांक्षा देखाएका छैनन् ।

Leave a Reply