चेम्बरले भन्यो– संस्थापक शेयर स्वतः सर्वसाधारणमा परिणत नहुने प्रस्तावित निर्देशिका अव्यवहारिक 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थाको विरोध गरेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को तयार पारेको उक्त निर्देशिकालाई अव्यवहारिक, लगानी प्रतिकूल र शेयर बजारमै अनिश्चितता पैदा गराउने चेम्बरले ठहर गरेको छ ।

सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियड पछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्था प्रति गम्भीर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको छ । सीडीएससीको निर्देशिका लागू भएमा नेपालको सेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने, र विशेषतः ऊर्जा क्षेत्र, सिमेन्ट, होटल, उत्पादनमूलक उद्योग, मिडिया लगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ ।

प्रस्तावित सो व्यवस्था अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरीत हुने पनि चेम्बरको भनाई छ । चेम्बरद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “यो निर्देशिका लगानीकर्ताको हितविरुद्ध जान्छ, र नेपालको परिपक्व नबनेको पुँजी बजारमा यस्ता व्यवस्थाले लगानीको वातावरणमा अन्यौलता र असुरक्षा थप्नेछ ।”

विगत केही वर्षदेखि सीडीएससीले सेयरको अभौतिकीकरण प्रक्रिया रोकेको अवस्थामै अहिले निर्देशिका ल्याएर संस्थापक शेयरमा स्वतः रूपान्तरण रोकिने तथा वर्गीकरणमा अलग–अलग आईएसआईएन नम्बरको व्यवस्था गर्ने निर्णयले बजारमा विश्वासको संकट सिर्जना गरेको चेम्बरले जनाएको छ ।

नेपालमा शेयर बजार अझै पनि लगानीमैत्री बन्न नसकेको बेला  सीडीएससीजस्तो संस्थाले आफैँले बनाएका पुराना मापदण्ड उल्ट्याउँदै नयाँ व्यवस्था ल्याउँदा बजारमा नकारात्मक मनोविज्ञान उत्पन्न भएको चेम्बरको भनाइ छ ।

चेम्बरले यो निर्देशिका तत्काल संशोधन गरी व्यावहारिक र लगानीमैत्री खालको व्यवस्था बनाउन सरकार तथा नियामक निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ । अन्यथा, लगानीकर्ताको भरोसा घट्दै जाने, संस्थापक शेयर निष्क्रिय हुने र बजारमा तरलताको संकट बढ्दै जाने गम्भीर जोखिम रहेको चेम्बरले भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *