काठमाडौं । पूर्वनवयुवराज हृदयन्द्र शाहले ‘जुम्ला भ्लग’ मार्फत जुम्लाका सर्वसाधारणसँग गरेको साक्षात्कार अहिले चर्चामा छ । आमा हिमानीसँगै जुम्ला भ्रमणमा गएका बखत बनाएको भ्लग उनले आफ्नो जन्मदिनको अवसर पारेर अस्ति बुधवार सार्वजनिक गरेका थिए ।
हृदयन्द्रले जुम्ली जनतासँग भलाकुसारीसँगै र त्यहाँको प्राकृतिक सुन्दरतासँग आफ्नो हृदय पोखे । पूर्वराजपरिवारका सदस्य, जो यदि देशमा राजतन्त्र कायम रहेको भए राजा बन्ने लाइनमा हुने थिए, ले एउटा आमनगरिकका रूपमा देश देशावर डुलेर स्थानीयसँग घुलमिल गरेको धेरैले रुचाएका छन् । हृदयन्द्रको शालिनता र सरलताको प्रशंसा भएको छ ।
हृदयन्द्रको भ्लगले जुम्लाकै एक युवतीलाई पनि चर्चामा ल्याइदिएको छ, जसले हृदयन्द्रसँग रोचक कुराकानीसँगै मिठो गीत पनि सुनाएकी थिइन् । उनी हुन् पञ्चकली बुढा । जसरी भ्लगमा तीला नदीको छङछङ बगिरहेको पानीले मिठास थपिदिएको छ, जसरी शान्त र मनोरम गुम्बाले भ्लगमा शोभा थपिदिएको छ, त्यसैगरी पञ्चकलीको गीतको भाका र शब्दको भावले भ्लगलाई लय दिएको छ ।
भ्लगमा पञ्चकली विरही भाका गाउँछिन्, ‘कोइ सुन्दैन, कोई सुन्दैन कन्नाली रोयाको आवाज ।’ यो गीत पञ्चकली आफैँले लेखेकी हुन् । गीतको भाका भने ‘जुम्ली देउडा’ हो । जुम्ली देउडा किन पनि भनिएको हो भने सुदूरपश्चिमको देउडा र जुम्लामा गाइने देउडामा केही भिन्नता हुन्छ । मुख्य रूपमा भाषाको भिन्नता प्रष्टै हुने भइहाल्यो । जुम्लाको देउडामा खस भाषा प्रयोग गरिन्छ, सुदूरपश्चिमको देउडामा डोटेली भाषा प्रयोग गरिन्छ ।
हृदयेन्द्रको भ्लगमा गाएको जुम्ली देउडाबारे पञ्चकली भन्छिन्, ‘पहिले म रेडियोमा काम गर्थेँ । त्यतिवेला बीबीसीकी एकजना दिदीले मलाई केही शब्द दिएर गीत गाउन अनुरोध गर्नुभएको थियो । शब्द तयार गरेपछि हामीले गीतमा ढाल्नलाई धेरै लयहरू खोज्यौँ, तर ती शब्दहरूलाई यही देउडामा गाउँदा मीठो सुनिन्छ भन्ने भएपछि मैले यही लय छानेकी हुँ ।’
हृदयेन्द्रलाई यही यो गीत सुनाउनुको पछाडि जुम्लाको समस्या व्यक्त गर्ने उद्देश्य समेत रहेको पञ्चकलीको तर्क छ । हृदयेन्द्रलाई देख्नसाथ आफूलाई केही कुरा गर्न मन लागेको भन्दै उनले थपिन्, ‘जुम्लालाई पिछडिएको क्षेत्र मानिन्छ, उहाँ यहाँ आएर अवलोकन गर्दा केही सकारात्मक परिवर्तन होला भन्ने आशाले गर्दा मैले कर्णालीको दुःख समेटिएको गीत गाएँ ।’
जुम्लामै देउडा सुनाएकी पञ्चकलीले हृदयेन्द्रलाई एक सामान्य नागरिकको रूपमा पाएको बताइन् । हृदयेन्द्रसँग बोल्न कोसिस गर्दा अलिकति डर र खुसी एकैपटक महसुस भएको उनको अनुभूति छ ।
‘मैले उहाँलाई पूर्वराजपरिवारको सदस्यको रूपमा भेटेकी होइन । उहाँ पनि मजस्तै एक सामान्य व्यक्ति हो भनेर कुराकानी गरेकी थिएँ,’ पञ्चकली हृदयेन्द्रसँगको भेटबारे सुनाउँछिन्, ‘उहाँको व्यवहार पनि एकदमै नम्र र शिष्ट लाग्यो । उहाँमा ‘म ठूलो मान्छे हुँ’ भन्ने घमण्ड थिएन । उहाँ सबैसँग हाँसेर बोल्नुहुन्थ्यो । उहाँको मन ठूलो रहेछ, तर बाहिरबाट एकदमै सामान्य र भद्र हुनुहुन्थ्यो ।’
पञ्चकलीको घर जुम्लाको पातारासी गाउँपालिकामा पर्छ । उनका आमाबुवा किसान हुन् । पाँच बहिनी दिदीबहिनीमध्ये उनी कान्छी हुन् । उनीभन्दा मुनि दुईजना भाइ छन् । दिदीहरूले खासै पढ्न नपाए पनि पञ्चकली भने जुम्ला बहुमुखी क्याम्पसमा बिएड तेस्रो वर्षमा अध्ययनरत छिन् ।
भविष्यमा यही बन्ने भन्ने उनीसित निश्चित सपना केही छैन । आफ्नो गाउँ, जुम्ला, कर्णालीका लागि केही गर्नुपर्छ भन्ने इच्छा छ उनको । सबैको माया पाए आफ्नो लेखन र क्षमताको माध्यमबाट देशका लागि केही गर्ने सोचमा छिन् ।
हृदयेन्द्रलाई सुनाएको देउडा गीत अब भने रेकर्ड गराउने मनसायमा समेत छिन् ।

Leave a Reply