काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डले स्टालिनकै शैलीमा पार्टीमा विरोधी नेताहरूलाई पालैपालो राजनीतिक र सांगठानिक सफाया गर्दै आइरहेको आरोप लगाएका छन् ।
दुवै पार्टीमा अन्तरसंघर्ष चर्किरहँदा बेलामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता-कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाको निम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हाबी भएको बताएका हुन् ।
ओली र प्रचण्डको फोटो राख्दै उनले भनेका छन्, ‘अहिले नेपालका कम्युनिस्ट मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र साङ्गठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठूलो विडम्बना नभए के होला त ?’
उनले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
उनले थपेका छन्, ‘अझै पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिस्ट पार्टीमा भावनात्मक ढङ्गले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्ने साथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि ?’

Leave a Reply