काठमाडौं । नेपालमा पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा उल्लेखनीय रूपमा लगानी बढेको छ । होटल व्यवसायमा लगानीकर्ता आकर्षित भएसँगै अर्बौँ लगानीमा एकपछि अर्को होटल खुलिरहेका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नै पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आयो । नेपालको व्यापारिक घराना शंकर समूहले ८ अर्ब ३५ करोडको लागतमा काठमाडौंको नक्सालमा यो होटल बनाएको हो ।
गत आर्थिक वर्ष नै काठमाडौंको सुकेधारामा अर्को पाँचतारे होटल ‘मर्क्योर काठमाडौं’ सञ्चालनमा आयो । यस होटलका लागि पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब लगानी गरेका छन् । जसको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ ।
गत माघमा काठमाडौंको गौशाला पिंगलास्थानमा होटल वेस्ट वेस्टर्न प्लस सञ्चालनमा आयो । एक अर्ब ५० करोड लगानीमा बनेको यो होटल चार तारे स्तरको होटल हो ।
सात वर्षको समय खर्चिएर गत आर्थिक वर्षको जेठमा काठमाडौंको ठमेलमा गैर आवासीय नेपाली कृष्ण सिम्खडाले ‘आर्या होटल एण्ड स्पा’ सञ्चालनमा ल्याए । नेवारी आर्किटेक्चर र विलासिताको मिश्रण भएको यस होटलको सफ्ट ओपनिङसम्म सिम्खडा एक्लैले २ अर्ब ५० करोड लगानी गरेका छन् । यो आलीसान होटलको वर्गीकरण भने हुन बाँकी छ ।

काठमाडौं आसपास र बाहिरी सहरमा पनि होटल खुलिरहेका छन् । गएको पुसमा गुण समूहले ललितपुरको ग्वार्कोमा ६ अर्ब लगानीमा होटल रोयल टुलिप सञ्चालनमा ल्यायो ।
पर्यटन व्यवसायी विश्वराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले पोखराको लेकसाइडमा टेम्पल बेल बुटिक होटल एन्ड स्पा प्रालि सञ्चालनमा आयो । गएको चैतमा सञ्चालनमा आएको यस होटलमा एक अर्ब २५ करोड लगानी गरिएको छ ।
गत आवमै सिद्धार्थ हस्पिटालिटीले तनहुँको दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालन ल्याएको थियो । त्यसअघि पछिल्लो समय मेरियट, लेमनट्री, रमादा, दुसित थानी, ह्यात प्यालेस जस्ता अन्तर्राष्ट्रिय चेन होटलहरू सञ्चालनमा आएका छन् ।
पर्यटन विभागको तथ्यांक अनुसार नेपालका विभिन्न प्रमुख सहरहरुमा रिसोर्टदेखि तारे होटलको संख्या थपिने क्रम बढ्दो छ । पछिल्ला वर्षहरूमा नेपालको होटल क्षेत्रमा लगानीको ‘बाढी’ नै आएको छ ।
पाँच वर्षको अवधिमा देशैभरि सयभन्दा बढी तारे तथा पर्यटकस्तरीय होटलहरू थपिएका छन् । नेपालमा पाँचतारे डिलक्स र पाँचतारे होटलको संख्या उल्लेख्य रूपमा बढेको छ । काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरूमा नयाँ होटल खुल्ने क्रम जारी छ ।
गत आव २०८१/८२ मा मात्रै ६ वटा पाँच तारे होटल सञ्चालनमा आए । जुन संख्या पर्यटन विभागमा दर्ता भएर वर्गीकरण गरिएको हो । यो स्तरको होटल आर्थिक वर्ष २०७७/७८ मा एउटा पनि सञ्चालनमा आएको थिएन । आव २०७८/७९ मा २, आव २०७९/८० मा एक वटा र आव २०८०/८१ मा ४ वटा सञ्चालनमा आएका थिए ।
पर्यटन विभागको तथ्यांक अनुसार आव २०७७/७८ देखि आव २०८१/८२ मा ११४ वटा तारे होटल तथा रिसोर्टहरु खुल्दा ६ हजार बढीले रोजगारी पाएका छन् ।
यस अवधिमा खुलेका होटल तथा रिसोर्टहरुमा ६ हजार ६ सय बढी कोठाहरु रहेका छन् । जसको शय्या संख्या ९ हजार ७ सय बढी रहेको छ ।

होटलमा लगानी बढ्नुको प्रमुख कारण देशको पर्यटन सम्भावना नै रहेको पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थी बताउँछन् । सरकारले पर्यटनलाई प्राथमिकतामा राखेकाले पनि लगानीकर्ताहरू उत्साहित भएको उनको भनाइ छ ।
‘पछिल्लो समय होटलहरुमा लगानी निरन्तर बढिरहेके छ । यस क्षेत्रमा सम्भावना देखेर लगानीकर्ताहरु उत्साहित भएका छन्’, उनले भने, ‘सयौँका संख्यामा होटलहरू खुलिरहेका छन् । निर्माणधीनको संख्या पनि उल्लेख्य छ ।’
उनका अनुसार सरकारले हालै ल्याएको नयाँ कानूनले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिएको छ । जसले व्यवसायीहरूलाई थप प्रोत्साहन मिलेको छ ।
विभागको तथ्यांक अनुसार हाल ३४७ वटा तारे स्तर तथा रिसोर्टहरू सञ्चालनमा छन् । जसमा कोठा संख्या १६ हजार रहेको छ भने शय्या संख्या २५ हजार रहेको छ ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नेपालको पर्यटन पूर्वाधार थप बलियो बन्दै गएको छ । होटल क्षेत्रमा हालसम्म खर्बौं रुपैयाँ लगानी भइसकेको छ । सञ्चालनमा रहेका होटलमा वार्षिक ३५ लाख पर्यटक राख्न सक्ने क्षमता बनिसकेको छ ।

Leave a Reply