विश्वप्रसिद्ध लेखक लियो टोल्सटोयद्वारा लिखित यो कथा ‘हाउमच ल्याण्ड डज अ म्यान निड’ निकै चर्चित मानिन्छ। यस कथाका माध्यमबाट टोल्सटयले चाहिने भन्दा बढी लालच दुःखको एउटा ठूलो कारण मात्र नभई, यसले सज्जन मानिसलाई समेत कसरी पतन गराउन सक्छ भन्ने गहिरो सन्देश दिन खोज्नु भएको छ। यस आलेखमा यो कथालाई म बुद्ध धर्मको दृष्टिकोणबाट छोटो समीक्षा गर्ने प्रयास गर्नेछु।
यस कथाका मुख्य पात्र पाहोम नामक एक सामान्य रुसी किसान हुन् । उनी एक मेहनती तर निकै महत्त्वाकांक्षी किसान हुन् । उसले बेला–बेलामा एउटै मात्र गुनासो गरिरहन्छ कि, मसँग पर्याप्त जमिन छैन । यदि मसँग अलि धेरै जमिन भएको भए अझै बढी फसल उत्पादन गर्ने थिएँ । त्यसको बिक्रीबाट अझ धेरै सम्पत्ति आर्जन गर्ने थिएँ र सुखी हुने थिएँ ।
ऊ बिस्तारै जमिन जोड्न थाल्छ र मेहनती भएकै कारण उत्पादन पनि निकै राम्रो गर्न सफल हुन्छ । पहिलोको भन्दा राम्रै सम्पत्ति आर्जन गरी ठिकठाक, भन्नुपर्दा सुखी नै जीवनयापन गर्ने अवस्थामा पुग्छ । तर, विडम्बना, केही समयपछि यो पनि उसलाई अपुग भएको भान हुन थाल्छ, र सुरु हुन्छ पाहोमको पहिलेकै असन्तोषी, असन्तुष्टिले भरिएको विलाप।
ऊ अझै बढी, सस्ता जमिनको खोजीमा विभिन्न ठाउँमा जान थाल्छ । जमिन खोज्दै विभिन्न गाउँ, शहर चहार्ने क्रममा उसले एक दिन ‘बाशकिर’ जातिका धनी, व्यापारी मानिसका बारे सुन्छ। उसले थाहा पाउँछ कि धेरै जग्गाका मालिक ती बाशकिर जातिका मानिस निकै सस्तो मूल्यमा जग्गा बेचिरहेका छन् । सस्तो मूल्यमा धेरै जग्गा हत्याउने लोभले पाहोम बाशकिरलाई भेट्न पुग्छ।
जग्गा किनबेच गर्ने छलफलको क्रममा पाहोमलाई बाशकिरले आश्चर्यचकित पार्ने यस्तो प्रस्ताव गर्छन्
‘केवल १००० रुवलमा म तिमीलाई तिमीले बिहानदेखि बेलुकासम्म मेरो जमिन, तिमीले जत्ति हिँडेर घेर्न सक्छौ त्यो सबै तिमीलाई दिनेछु। बस, तिमी सूर्य अस्ताउनुअघि आफूले सुरुवात गरेको बिन्दुमा अनिवार्य फर्केर आइसक्नु पर्नेछ, अन्यथा पैसा र जग्गा दुवै गुमाउनेछौँ ।’
लोभी पाहोम बढीभन्दा बढी जमिन ओगट्ने लालचमा दिनभरि हिँड्छ । हिँड्दाहिँड्दै ऊ यति टाढा पुग्छन् कि दिन ढलेको उसलाई होसै हुँदैन। साँझ परेर सूर्य अस्ताउनै लाग्दा ऊ होसमा आउँछ र दौडिएर सुरुवाती ठाउँमा फर्किन थाल्छ । भोक, थकान र तिर्खाले ग्रसित पाहोम बिहानी पखको झैँ ऊर्जा र रफ्तारमा फर्किन सक्दैन । अझै फर्किने बेलाको अन्तिम ठाडो उकालोले उसको श्वास नै रोकिएला जस्तो हुन्छ। जसोतसो आफूलाई घिसार्दै पाहोम, सूर्य झण्डै निभी सकेको बेला, सुरुको बिन्दुमा पुग्न त सफल हुन्छ । तर, लगतै ढलेर उसको मृत्यु हुन्छ। पाहोम ढलेकै ठाउँमा बाशकिरले ६ फिट लामो र २ फिट चौडाईको खाल्डो खन्ने आदेश दिन्छन् र पाहोमलाई त्यही गाडिन्छ।
कथाको बौद्ध विश्लेषण
पाहोमको यात्रा तृष्णाले कसरी दुःख निम्त्याउँछ भन्ने कुराको एउटा उत्कृष्ट उदाहरण हो । शुरुमा, पाहोमलाई जीवनयापनका लागि पर्याप्त थियो । तर, उनको मन ‘यदि मसँग अझ धेरै जमिन भइदिएको भए… मेरा सारा समस्याहरु हराउनेछन्, म सुखी हुनेछु’ भन्ने सोचले विचलित भयो, र ऊ आफैँ ठूलो भ्रममा परेको थाहा नै पाएन । प्रत्येक प्राप्तिले लालसाको आगोलाई झन् बढाउँदै लग्यो, कहिल्यै निभाउन सकेन र अन्त्यमा उनको दुखद निधन भयो।
बौद्ध दर्शनअनुसार यो संसार दुःखको चक्र हो। भौतिक संसार (माया) मा सन्तुष्टि खोज्दा केवल बेचैनी, असन्तुष्टि, र अतृप्तिको तातो रापले निरन्तर पोलिरहन्छ । यसले गर्दा मनुष्य सधैँ दुःखी भइरहन्छ।
त्यस्तै, नियन्त्रण र स्वामित्वको भ्रमले गर्दा कुनै स्थायी, अपरिवर्तनीय आत्मा छैन भन्ने ज्ञान दिन्छ, सबै कुरा निरन्तर परिवर्तनशील छन् भन्ने सन्देश दिन्छ ।
पाहोमले आफूले जमिनको मालिक बन्न सक्छु, यसलाई नियन्त्रण गर्नसक्छु र यसैको माध्यमले आफ्नो जीवन र भाग्यलाई नियन्त्रण गर्नसक्छु भन्ने गलत विश्वास गर्दछ। तर बुद्ध धर्मले भनेझैँ ‘स्वामित्व भ्रम सिवाय केही नभएको सिकाउँछ, हामी शरीरका पनि साँचो मालिक होइनौँ, बाहिरी वस्तुको त झन् कुरै भएन’ भन्ने गहिरो ज्ञान प्रदान गर्दछ।अन्त्यमा, उनले ‘स्वामित्व’ गरेको सबै जमिन मात्र नभईक्षण भरमै उसको अस्तित्व नै समाप्त हुन्छ।
बौद्ध दृष्टिकोणबाट हेर्दा, संसारलाई पकड्ने र नियन्त्रण गर्ने पाहोमको प्रयास व्यर्थ थियो, किनभने उसको शरीर र उसको धनी पहिचान, उसका सम्पत्तिले मुक्ति ल्याउँदैनन्, केवल दुःख निम्त्याउँछन्।
बौद्ध ब्रह्माण्डमा, मार राक्षस हो, जसले भ्रम, घमण्ड र डर आकर्षित गर्छ । पाहोमलाई त्यसरी नै लोभ्याइन्छ, जसरी मारले बुद्धलाई लोभ्याएको थिय, ऐस-आराम, शक्ति र सुरक्षाका तवरबाट।
‘यदि मसँग अझ धेरै भएको भए, म अजेय हुने थिएँ’ भन्ने उनको विश्वास अहंकारको भ्रमलाई झल्काउँछ कि व्यक्तिले धरै भन्दा धेरै सामान एकट्ठा गरेर दुःखलाई जित्न सक्छ । तर बुद्धले मुक्ति भौतिक सामानको प्राप्ति, अनित्य चीजको उपभोग र क्षणिक सुखको अनुभूतिबाट नभएर, त्याग, अध्यात्म र करुणाबाट प्राप्त हुन्छ भनेर अमूल्य ज्ञान दिनुभएको छ।
चेतना र असंवेदनशीलतालाई व्याख्या गर्दा पाहोम आशक्ति र आवेगका साथ कार्य गर्दछ, सचेत जागरूकताका साथ होइन। यसक्रममा ऊ जमिनको खोजीमा आफ्नो शरीरको पीडालाई बेवास्ता गर्छ, आफ्नो वास्तविक आवश्यकतामाथि विचार गर्न असफल हुन्छ, सधैँ अगाडि हेरेर जिउँन खोज्छ, तर कहिल्यै पूर्ण रूपमा वर्तमानमा हुँदैन।
बौद्ध धर्ममा, एक सचेत व्यक्तिले सोध्छन् कि ‘मलाई साँच्चै के चाहिन्छ ?’, ‘म तृष्णाले वा असन्तुष्टिले प्रेरित छु ?’, ‘यो मार्गले मलाई मुक्ति वा बन्धनतर्फ लैजाँदैछ ?’ । त्यस्तै, बुद्ध धर्मले अन्तिम शिक्षकको रूपमा मृत्युलाई लिने गरेको छ। मृत्युमाथि ध्यान (मारणसती) गर्नु साँच्चै महत्त्वपूर्ण छ भनी विचार प्रकट गर्न समेत यो कथाको सन्देशलाई लिन सकिन्छ।
टोल्स्टोयको अन्तिम पङ्क्ती ‘उसको टाउकोदेखि खुट्टासम्म छ फिट जमिन मात्र उसलाई चाहिने थियो’ बौद्ध धर्मको दिव्य ज्ञानसँग मेल खान्छ, ‘केवल चेतना, न त कुनै सम्पत्ति, या भौतिक शरीर नै टिक्छ। यी सबै एकदिन पतन भएर जान्छन् । जमिन, सम्पत्ति, सम्बन्ध सबै पछाडि छोडिन्छन्, तर आफ्नो कर्मको परिणामहरू रहिरहन्छन्।’
बौद्ध धर्मअनुसार, ‘तपाईँसँग कति छ, त्यसले फरक पार्दैन, बरु तपाईसँग भएकोले कतिको सन्तुष्टि प्रदान गरिरहेको छ, त्यसले बढी फरक पार्दछ।
(लेखक ह्याल्मो समाज सेवा केन्द्र, तीनचुलीमा कार्यरत छन्, उनले त्रिविबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर गरेका छन् ।)

Leave a Reply