कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रका नेता ओमविक्रम भाट ‘सरल’ले मुख्यमन्त्री कमलबहादुर शाहको विश्वासको मतका क्रममा गरिएको भाषणप्रति गम्भीर टिप्पणी गरेका छन् ।
प्रदेशसभामा बोल्दै भाटले मुख्यमन्त्रीको भनाइ सुन्दा सुदूरपश्चिममा सबै कुरा ठिक छ, अब केही गर्न बाँकी छैन भन्ने भ्रम सिर्जना हुने बताए। उनले पछिल्लो एक वर्षलाई ‘ठूला काण्डको वर्ष’ भने ।
‘एक वर्ष नपुग्दै फेरि विश्वासको मत किन? दुई मन्त्री किन बर्खास्त गरिए? उनीहरूमाथि छानबिन किन भएन ? फेरि त्यही पार्टीलाई सरकारमा ल्याउने प्रयास के सुशासन हो ?’, भाटले प्रश्न गरे । भाटले राजधानी सार्ने विषयलाई लिएर पनि सरकारको आलोचना गरे ।
‘राजनीतिक फाइदाका लागि राजधानी सार्ने कुरा गलत हो’, उनले भने, ‘यदि प्राविधिक वा कानुनी समस्या छ भने खुला रूपमा छलफल होस् ।’
उनले प्रदेशसभाले अघिल्लो निर्णयअनुसार नै राजधानी निर्माण गर्नुपर्ने धारणा राखे । प्रदेशसभाले गरेको निर्णय कार्यान्वयन नभएको विषयमा उनले प्रदेश सरकारसँग प्रश्न गरेका थिए । भाटले सरकार जनताको हितमा काम गर्न चुकेको दाबी गरे ।
उनले भने, ‘छाउपडी जस्ता कुप्रथाको अन्त्यमा, दुर्घटना न्यूनीकरणका लागि सिसिटिभीको प्रयोगमा, वा युवालाई रोजगारी दिन कुनै ठोस पहल भएन ।’
विदेशिन रोकिएको तथ्याङ्कबारे प्रश्न गर्दै भाटले सोधे, “भारत लगायत विदेश जान कति युवालाई रोक्न सकियो ?’
उनले स्थिर सरकारको नाममा गरिएको गलत गतिविधिको पनि आलोचना गर्दै दुईतिहाइको दम्भ देखाउनु भन्दा जनताप्रति उत्तरदयी बन्न सरकारलाई सुझाव दिएका थिए ।

Leave a Reply