समृद्ध सुदूरपश्चिमका लागि कांग्रेस-एमाले सहकार्य अपरिहार्य : राजेन्द्र रावल

कैलाली । नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले समृद्ध सुदूरपश्चिमका लागि कांग्रेस-एमाले सहकार्य अपरिहार्य रहेको बताएका छन् । मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन आह्वान गरेको बैठकमा उनले कांग्रेस र एमालेबाट मात्रै प्रदेशको संवृद्धि सम्भव भएको बताएका हुन् ।

‘सरकारलाई स्थायित्व दिन तथा समृद्ध सुदूरपश्चिमको लक्ष्य हासिल गर्न कांग्रेस–एमाले सहकार्य अपरिहार्य छ’, उनले भने, ‘हामी मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको समर्थनमा मतदान गर्छाैं ।’

रावलले प्रदेश विकासका लागि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती, कञ्चनपुर–डडेल्धुरा–दार्चुला एसआर ६ मार्ग, देवाटवी पर्यटकीय सर्किट, कृषि तथा औद्योगिक क्षेत्रको प्रवर्द्धन, र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले स्थिर सरकार निर्माण गरी युवाका लागि रोजगारी सिर्जना, सामाजिक समावेशिता, गरिबी उन्मूलन तथा बसाइसराइ नियन्त्रणका लागि प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे। साथै, सामाजिक र सांस्कृतिक विभेद अन्त्य गर्दै सुदूरपश्चिमका मौलिक संस्कृति र पहिचानको संरक्षण गर्नुपर्ने धारणा पनि राखे ।

मन्तव्यको अन्त्यमा नेता रावलले विपक्षी दलहरूलाई पनि विश्वासको मतको पक्षमा मतदान गर्न आह्वान गरे । ‘आउनुस्, समृद्ध सुदूरपश्चिमको महाअभियानमा एकजुट भई विकास र समृद्धिको साझा डेउडा खेलौँ’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *