नेपाली नागरिकताधारी भारतीयविरुद्ध ५१ करोड बिगोसहित सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । पर्सामा नेपाली नागरिकताको दुरुपयोग गरेर करोडौंको सम्पत्ति आर्जन गरेको खुलासा भएको छ । भारत राजस्थान घर भई पर्सा, वीरगंज महानगरपालिका–१० लाठगल्ली बसोबास गर्ने निरन्जन कुमार अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५१ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी बिहीबार जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको हो ।

यो प्रकरणले नागरिकता र सम्पत्ति शुद्धीकरणलाई लिएर नेपालमा भइरहेका गम्भीर अपराधको नयाँ नमुना देखाएको छ ।

विभागका अनुसार अग्रवालले झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिनुका साथै श्रीमती रितुदेवी अग्रवाललाई वैवाहिक अंगीकृत नागरिकता दिलाएका पाइएको छ । त्यसपछि उनीहरूले विभिन्न नाममा सम्पत्ति आर्जन गर्दै गएका भेटिएको हो ।

अनुसन्धानका क्रममा अग्रवालले आफ्नो नाम मात्र नभएर श्रीमती र अन्य व्यक्तिको नाममा समेत सम्पत्ति किनेर राखेको तथ्य खुलेको छ ।

जग्गा, बैंक खाता, शेयर लगायतमा रहेको सम्पत्ति अवैध रूपमा कमाएको आयबाट आर्जन गरिएको ठहर विभागले गरेको छ । बिगो कायम गरिएको रकम ५१ करोड ११ लाख ९५ हजार ७० रुपैयाँ ८ पैसा पुगेको छ ।

विभागले अग्रवाललाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारण ऐन, २०६४ अनुसार सजाय हुन माग गर्दै सम्पूर्ण अवैध सम्पत्ति जफत गर्न माग गरेको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति रकम पीडित राहत कोषमा जम्मा गर्न माग गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *