काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कार्यकक्ष बाहिर एउटा सूचना टाँसिएको छ । सूचनामा लेखिएको छ, ‘कृपया मोवाइल फोन लकरमा राखेरमात्र भित्र प्रवेश गर्न अनुरोध गरिन्छ ।’
उच्च पदस्थलाई भेट्न जाँदा मोबाइल बाहिरै छोड्नुपर्ने अभ्यास नेपालमा सामान्यतया छैनन् । प्रधानमन्त्रीदेखि राष्ट्रपतिलाई समेत मोबाइलसहित नै कार्यकक्षमा भेट्न सकिन्छ । सिंहदरबारभित्रै अरु थुप्रै मन्त्रालयहरू छन् । नेपाल प्रेसको टीमले हिजोमात्रै संघीय मामला तथा सामान्य प्रशासनमन्त्री, महिला बाललबालिकामन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको कार्यकक्ष बाहिर पनि अवलोकन गर्यो । अन्यत्र कतै पनि यस्तो सूचना लेखिएको थिएन ।
उद्योगमन्त्रीले चाहिँ कार्यकक्षमा मोबाइल लैजान किन निषेध गरे त ? यो प्रश्न हामीले स्वयम् मन्त्री भण्डारीलाई नै सोध्यौ । उनले नलुकाइकन जवाफ दिए- ‘जो आउँदा पनि मोबाइलबाट कुराकानीको अडियो रेकर्ड गर्न थाले । फोनमा सुरक्षा भएन, कसैको विश्वास भएन ।’

उद्योगमन्त्री भण्डारीले आफू आउनुअघि पनि यस्तै सूचना रहेको बताए । तर, यसअघि मन्त्रालय जादाँ त्यस्तो सूचना टाँसिएको थिएन ।
उद्योगमन्त्री भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टले भने, ‘सुरूदेखि नै त्यस्तो सूचना टाँसिएको थियो । हाम्रो मन्त्रीज्यू आएपछि केही खुकुलो बनाएका थियौं । त्यसपछि एक-दुईवटा समूहगत भेटघाटमा आएका व्यक्तिले आन्तरिक छलफलको पनि भिडिओ बनाउने गरेपछि एक सातादेखि कडाइ गरिएको हो ।’
वाईफाईको स्क्यान गर्ने र दिनभरी नेट चलाएर बस्ने समस्या पनि रहेको उनको भनाइ छ ।
भर्खरै बहिर्गमित सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो सार्वजनिक भएपछि मन्त्रीज्यू डराउनुभएको त होइन ? भन्ने प्रश्नको उनले प्रतिवाद गरे ।
भट्टले भने, ‘त्यस्तो केही पनि होइन । मन्त्रीज्यूको काममा प्रभाव पर्न थाल्यो । मन्त्रीज्यू गम्भीर छलफलमा बसिरहेको बेला भिडिओ खिच्ने र फोनको घन्टी बजेर डिस्टर्ब हुने भएपछि त्यस्तो गरिएको हो ।’
उनले पूर्णतया नियन्त्रण नगरिएको तर समूहगतरूपमा आउनेलाई केही कडाइ गरिएको बताए ।
केहि दिनअघि मात्रै तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाटै राजीनामा दिनु परेको थियो । उद्योग मन्त्रालयमा पनि उद्योगी व्यवसायी र व्यापारीहरू मन्त्रीलाई भेट्न आइराख्छन् ।

Leave a Reply