काठमाडौं । इजरायलले गाजापट्टीमा आफ्नो गैरन्यायिक हत्यालाई जायज साबित गर्न पत्रकारलाई पनि आतंकवादीको ट्याग लगाउने गरेको पाइएको छ । अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक आइरिन खानले इजरायलको उक्त हर्कतबारे खुलासा गरेकी हुन् ।
खानले उत्तरी गाजा पट्टीमा अल जजीराका अन्तिम पत्रकारका रुपमा कार्यरत अनस अल–शरीफविरुद्ध इजरायली सेनाको धम्कीप्रति राष्ट्रसंघ चिन्तित रहेको बताएकी छन् । उनले अल जजीरा अरबिककासहकर्मीहरूसँग कुरा गर्दै प्रमाणबिनै पत्रकारलाई आतंकवादी भन्ने गरेको बताइन् ।
उनले भनिन्–इजरायली सेनाले कुनै प्रमाण बिना नै अल–शरीफ र अन्य पत्रकारहरूलाई ‘आतंकवादी’ भएको आरोप लगाउँछ । हामी विश्व समुदायलाई इजरायलमाथि गाजामा अल–शरीफ र अन्य पत्रकारहरूलाई लक्षित गर्नबाट रोक्न आह्वान गर्छाैं । इजरायली सेनाले पत्रकारहरूलाई उनीहरूको हत्यालाई जायज ठहराउन झूटो रूपमा ‘आतंकवादी’ भनेर लेबल लगाइरहेको कुरा संसारले सुन्नुपर्छ ।
खानका अनुसार इजरायलले कुनै पनि अन्तर्राष्ट्रिय पत्रकारलाई गाजामा प्रवेश अनुमति दिन अस्वीकार गर्छ र स्थानीय पत्रकारहरूको प्रतिष्ठामा कलंक लगाउँछ । प्यालेस्टिनी पत्रकारहरूको हत्या र नजरबन्द सत्यलाई दबाउने इजरायली रणनीति भएको समेत उनले बताएकी छन् ।
उनले भनेकी छन्–हामी गाजामा बहादुर पत्रकारहरूको सुरक्षाको लागि आह्वान गर्छौं, किनकि उनीहरूको इजरायली नरसंहारको रिपोर्टले संसारलाई हल्लाउन सक्छ ।

Leave a Reply