प्रधानमन्त्री तुर्कमेनिस्तान जाँदै, यी हुन् क्याविनेटका १८ निर्णय (सूची)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन् ।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान गरेका हुन् । साउन १२ को मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुन:स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । रानी जमरा सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रूपैया बराबरको सहुलीयतपूर्ण ऋण सहायता पनि स्वीकार गरिएको छ ।

बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार सर्वोच्च अदालतका रजिष्टार विमल पौडेललाई मुख्य रजिष्टार पदमा बढुवा गरेको छ ।

बैठकले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्टारमा तनहुँका ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ भने भक्तपुर क्यानसर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा कास्कीका डा.उज्जवल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायतका निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न रामुप्रसाद डोटेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा रमेशप्रसाद शिवाकोटी र चण्डीप्रसाद घिमिरे रहेका छन् ।

प्रवक्ता गुरुङले वर्षा नहुँदा समस्या परेका किसानलाई आवश्यक राहतलगायतका व्यवस्था गर्न सरकारले तराई मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *