प्युठानको गौमुखीस्थित अर्खा र रजवारा जोड्ने जिल्लाकै अग्लो र लामो झोलुंगे पुल सञ्चालनमा

रुपन्देही । प्युठानको गौमुखी गाउँपालिकास्थित अर्खा र रजवारा जोड्ने जिल्लाकै अग्लो र लामो झोलुंगे पुल सञ्चालनमा आएको छ ।

प्युठानका प्रतिनिधसभा सदस्य सूर्य थापाले बिहीबार एक कार्यक्रमको आयोजना गरी पुलको उद्घाटन गरेका हुन् ।

पछिल्लो समय यो पुल आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि रोजाइको केन्द्र बनेको छ । पुलको लम्बाई ३ सय ७३ दशमलव ८० मिटर र उचाइ १ सय ८० मिटर छ ।

गाउँपालिकाको वडा नम्बर ४ स्थित अर्खा लामीडाँडा र गौमुखी वडानम्वर १ स्थित रजवाराको देउरालीलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । यस पुल सञ्चालनमा आएसँगै स्थानीयवासीको दैनिक आवतजावत धेरै सहज भएको छ ।

यसअघि झण्डै डेढ घण्टा लाग्ने पैदल यात्रा अब पुल निर्माण भएसँगै आधा घण्टामै छोट्टिएको छ । पुलले विशेषगरी विद्यार्थी, बिरामी तथा कृषक वर्गलाई निकै राहत हुनेछ ।

२०८१ सालको जेठ महिनामा दुई करोड ७२ लाख ७४ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य अधिकारी÷अपर तामाकोशी जेभीले सम्पन्न गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *