‘नेपालको लगानी वातावरण बदलिँदैछ, अब प्रोजेक्टहरू कार्यान्वयनमा जान्छन्’ (भिडिओ)

नेपाल लगानीका लागि भर्जिन ल्यान्ड मानिन्छ । विदेशी र स्वदेशी लगानी वृद्धिका लागि सरकारले डेढ दर्जन जति कानून संशोधन गरिसकेको छ । लगानीको ढोका खोल्दै सम्भावना खोजीका लागि तीन पटक लगानी सम्मेलन पनि भइसकेको छ । ती सम्मेलनमा आएका प्रतिवद्धताअनुरूप के-कति लगानी भित्रियो, लगानी बोर्डका काम गर्ने तौरतरिका कुन-कुन परियोजना कसरी अघि बढेका छन् ? यी र यस्तै विषयमा लगानी बोर्डका सीईओ सुशील ज्ञवालीसँग गरिएको कुराकानी नेपाल टकमा-

– तपाईँ लगानी बोर्डमा आउनुभएको करिब १० महिना भयो । के गरिरहनु भएको छ ?

म आएको एक महिनाभित्रैमा लगानी बोर्डको आगामी चार वर्षको नीति, कार्यक्रम, रणनीति र व्यावसायिक योजना ल्याएर चार वर्षको दीर्घकालीन योजनाको खाका टुङ्गो लगायौँ । यो लगानी बोर्डको इतिहासमा यति छिटो आएर यस्तो खालको रणनीति र व्यावसायिक योजना तत्काल बनाएर अगाडि बढाएको पहिलो पटक हो । विभिन्न लक्ष्य निर्धारण गरेर काम अघि बढाएका छौँ ।

त्यो योजना र रणनीति बनाउँदा कानूनीरूपमा केही परिवर्तन जरुरी देख्यौँ । हाम्रो संस्थागत संरचनामा परिवर्तन गर्न जरुरी छ । कार्यशैलीमा परिवर्तन गर्न जरुरी छ । र, निजी क्षेत्रबाट आयोजनाहरू आउने कुरामा पनि नयाँ ढंगले सोच्न जरुरी छ भन्ने निष्कर्ष निकालेर त्यसैमा आधारित भएर कामहरू अगाडि बढायौँ ।

पछिल्लो चरणमा हामीले विभिन्न कानून परिमार्जन गरेर सरकारसँग छलफल गर्‍यौँ । अध्यादेशबाट आएपछि संसदले त्यसलाई अनुमोदन पनि गरेर विभिन्न खालको लगानीको सहजीकरणसँग सम्बन्धित कानूनहरू परिमार्जन भएका छन् ।

दोस्रो, हाम्रो संस्थागत संरचनामा हामीले धेरैजसो लगानी प्रवर्द्धनसँग मात्रै कुराहरू गरेका रहेछौँ । सार्वजनिक-निजी साझेदारीसँग सम्बन्धित कामहरूमा हाम्रो संस्थागत संरचनामा अभाव देखियो । त्यसैले त्यो संस्थागत संरचना राख्ने गरी कानूनमा पनि सार्वजनिक-निजी साझेदारीसम्बन्धी निर्देशनालय स्थापना गर्ने भन्ने कुरा आयो । नयाँ अहिले बजेट भाषणमा पनि त्यो कुरा आएको छ । त्यहीअनुसार हामीले संघीय, प्रदेश र स्थानीय तहमा समग्रतामा देशैभरि सार्वजनिक-निजी साझेदारीसम्बन्धी आयोजनाहरूको कार्यान्वयन काम गरिरहेको छौं ।

आयोजनाहरूको कार्यान्वयनको हकमा, हिजो लगानी बोर्डले आयोजना अध्ययन गरेपछि मात्रै काम अगाडि बढ्ने खालको अवस्था थियो । त्यसबाट बाहिर निस्केर संसारभरि भएका नयाँ प्रविधि, इनोभेटिभ आइडियाहरू, क्रिएटिभिटीहरू, त्यस्ता खालका आयोजनाहरूलाई लगानी बोर्डले सीधै लिने र त्यसपछि एउटा प्रतिस्पर्धाको प्रक्रियाबाट त्यसलाई अगाडि बढाउने खालको एउटा ढाँचा बनाएर काम भइरहेको छ ।

– लगानी बोर्ड स्थापनाको १२ वर्षसम्म जम्मा ११ खर्बको लगानीका लागि सम्झौता भएको छ, तर अहिलेको नयाँ बजेटले ७ खर्बको एकै वर्षमा आयोजना सम्झौता गर्ने भन्यो । यो पूरा गर्न सकिन्छ ?

७ खर्ब बराबरको लगानी एकै वर्षमा सम्भव हुन्छ । त्यत्रो ठूलो रकम ७०० अर्ब बराबरको लगानी आउँछ भनेर प्रश्न आउने गरेको छ । १२ वर्षमा ११ खर्ब, अहिले एक वर्षमा ७ खर्ब, यो त धेरै ठूलो महत्वाकांक्षी योजना भयो भनेर पनि भन्नुहुन्छ । तर, एउटा रियालिटी के हो भने मैले लगानी बोर्डमा आइसकेपछि जुन स्केलमा लगानीकर्ताहरूको उत्साह, सम्भावित आयोजनाहरू, नेपालको समग्र पोटेन्सियल र मैले विगतमा काम गर्दै गर्दाको अनुभवसमेतका आधारमा यो खाका ल्याउने हो । हामीसँग प्रस्ट योजनाको खाका छ । पाइपलाइनमा नै धेरै आयोजनाहरू भएकाले लक्ष्य भेटाउने छौँ ।

– नेपालमा पछिल्लो समय उद्योग खोल्नुभन्दा व्यापारतर्फ बढी केन्द्रित भएको देखिन्छ । यसलाई कसरी हेर्नुहुन्छ ?

स्वाभाविक ढंगले व्यापार गर्दा अलि सहज, त्यहाँ जोखिम धेरै लिन नपर्ने हुन्छ । पूर्वाधार क्षेत्रमा वा अरु उद्योगहरूमा लगानी गर्दा त्यसको जोखिमको पाटो पनि लामो हुने । त्यसको रिटर्नको लागि पनि अलिकति समय लाग्ने हुन्छ । त्यसैले स्वाभाविक ढंगले व्यापारतर्फ अलि बढी केन्द्रित हुने खालको कुरा हामीले देखिरहेका छौँ । तर, अहिले पछिल्लो चरणमा विभिन्न नीतिगत, कानुनी व्यवस्थापनहरू हामीले गरेका छौँ । पूर्वाधारका क्षेत्रमा पनि सार्वजनिक-निजी साझेदारीको माध्यममार्फत लगानी गर्ने अवस्थाहरू देखिइरहेको छ ।

उद्योग स्थापना गर्नलाई विशेष आर्थिक क्षेत्रमा विगतमा ७० रूपैयाँ थियो । अहिले प्रति वर्गमिटरको रेन्टल भ्यालु ५ रूपैयाँ प्रति स्क्वायर मिटरमा ल्याएको छ । सरकारले रेन्टल भ्यालु लिने कुरा हैन भनेर घटाएको देखिन्छ । उद्योगहरूको स्थापना भनेको रोजगारी सिर्जना हुने हो, अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने हो, आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्ने हो ।

– नेपालमा तेस्रो पटक लगानी सम्मेलन भयो । तर ड्यांगोटे, मोटेक्सजस्ता ठूला लगानीकर्ता आएर पनि किन बस्न सक्दैनन् ?

अलिअलि समस्या भएको हो । लगानीकर्ताहरूलाई देशमा लगानी भित्र्याउने गरेर काम गर्दाखेरि हामी साँघुरो सोचबाट चलेर गर्न सक्दैनौँ । हामीले दिने सेवा, सुविधा वा वातावरणभन्दा स्थायित्वभन्दा राम्रो भारतमा, चाइनामा, बंगलादेशमा, श्रीलंकामा, भियतनाममा, लाओसमा, क्याम्बोडियामा भयो भने नेपालमा मात्रै आउनै पर्छ माया गरेर लगानीकर्ताहरू भन्ने त हुँदैन नि ? उनीहरूलाई जहाँनेर राम्रो स्थायित्व हुन्छ, जहाँनेर ‘रिटर्न अन देयर इन्भेस्टमेन्ट’मा लगानीको प्रतिफल प्राप्त हुन्छ, जोखिम कम बोक्नुपर्ने हुन्छ, जहाँ समग्र लगानीका वातावरणहरू हुन्छन्, त्यहीँ जान्छन् ।

विगतमा अलिकति हाम्रो बुझाइमा कमी भएको देखिन्छ । हाम्रो राजनीतिक तहमा निजी क्षेत्रलाई परिचालन गर्ने सन्दर्भमा स्पष्टताको खाँचो छ । सामाजिक हिसाबले, समाजले र जनस्तरमा पनि निजी क्षेत्रलाई नकारात्मक तरिकाले हेरको पाइन्छ । अब सकारात्मक दिशातिर जानुपर्ने अवस्था देखिन्छ । त्यस्तै गरेर सरकारी संयन्त्रभित्र, कर्मचारीतन्त्रको संरचनाभित्र पनि हाम्रो त्यो खालको दृष्टिकोणमा परिवर्तन जरुरी छ ।

– दुई ठूला भौगोलिक र अर्थतन्त्र भएको मुलुक चीन र भारतको बीचमा नेपाल छ । तर, पनि हाम्रो अर्थतन्त्र आयातमुखी छ । यसलाई चिर्न राज्यले के-के गर्नुपर्छ ?

सबैभन्दा पहिला आयातमा आधारित जति पनि क्षेत्र छ, त्यसलाई प्रतिस्थापन गर्ने गरेर उद्योगहरू स्थापना गर्नु पर्छ । दोस्रो, हाम्रो प्रतिस्पर्धी क्षेत्र कुन-कुन हो । त्यसलाई पहिचान गर्ने हो । हामी सबै क्षेत्रमा आत्मनिर्भर बन्छौँ भन्ने अवस्था नहुन सक्छ । हाम्रो देशको अवस्था अनुसार हामीले आयात नै गर्नुपर्ने अवस्था होला ।

तर, जुन चीज हामीसँग छ र जसमा हामीले त्यसलाई उत्पादन गर्न सक्छौँ । त्यसमा केन्द्रित भएर यो बजारलाई हेरेर हामी अगाडि जानुपर्छ । त्यसको निम्ति अहिले हामी औद्योगिक क्षेत्रहरूमा गएर उद्योगहरू त्यो ठाउँमा स्थापना गर्ने हो । त्यहाँबाट उत्पादन गर्ने कुरालाई सुनिश्चित गरेर जाने गनु आवश्यक छ । कृषि उत्पादन भण्डारण गरेर राख्न सक्ने आयोजना निर्माण गर्नु गर्नुपर्छ ।

– तपाईं पुनर्निर्माण प्राधिकरणमा हुँदा उदाहरणीय बनेर त्यहाँबाट निक्लिनु भयो । जहाँ सरकारले आफैँले स्रोत परिचालन गरेर काम गर्थ्यो । तर, लगानी बोर्डमा निजी क्षेत्र र लगानीकर्तालाई कन्भिन्स गरेर लगानी भित्र्याउनु पर्छ । दुई संस्थामा फरक के रहेछ ?

पुनर्निर्माण प्राधिकरणभन्दा यो पृथक के छ । त्यहाँ सरकारले पैसा दिन्थ्यो, कार्यान्वयन गरेपछि हुन्थ्यो । यहाँ पैसा पनि जुटाउने, कार्यान्वयन हुने कुराको पनि सुनिश्चितता गर्ने र त्यसको साथसाथै दीर्घकालीन रूपमा दिगो हुने कुरालाई पनि सुनिश्चितता गर्नुपर्छ । नत्र त त्यो निजी क्षेत्रले आफ्नो प्रतिफल त ल्याउन सक्दैन । त्यसकारण यहाँ अलिकति बृहत्तर र फरक खालको बृहत्तर छ ।

उताको र यहाँको कामको हिसाबले समानताको हिसाबले भन्ने हो भने जसरी उता पुनर्निर्माण प्राधिकरणमा बस्दा धेरै सरकारी निकायसँग समन्वय गर्नुपर्थ्यो । यहाँ पनि त्यही अनुसार काम गर्न आवश्यक रहेको छ ।

– नयाँ बजेटले नेपाली लगानीकर्तालाई विदेशमा पनि लगानीको बाटो खोल्दिने भनेर बजेटमा व्यवस्था गरेको छ । त्यसो गर्दा यहाँ भएका उद्यमी-व्यवसायीहरू बाहिर जान सक्ने सम्भावना रहन्छ कि रहँदैन ?

लगानी बोर्डले नै गर्छ । सरकारले नै एउटा दृष्टिकोण, सोच र कानुनी खाका बनाएर गर्ने हो । यो अहिलेको बजेटमा पनि विदेशमा प्रत्यक्ष वैदेशिक लगानी विदेशमा गर्ने, नेपालको लगानी विदेशमा गर्नेको लागि पनि लगानी बोर्डले नै त्यसको काम गर्ने भनेर तोकेको छ । तर, त्यसको कानुनी खाकाहरू बनाउने काम बाँकी छ ।

नेपालबाट विदेशमा लगानी गर्न खुल्ला गर्दा पैसा सबै बाहिर जान्छ कि भन्ने कुरा छ, त्यस्तो हुँदैन । निश्चित मापदण्डमा आधारित भएर मात्रै विदेशमा लगानी गर्न दिने हो । बाहिर जाँदा पनि कुन आयोजना, कुन क्षेत्रमा काम गर्ने भनेर जाने भनेर मात्रै लगानीको बाटो खोल्ने हो । लगानी फिर्ता आउने, नाफा हुने क्षेत्र नभइकन पैसा बाहिर लाग्ने कुरा त हुँदैन ।

– नेपालमा लगानीको लागि लगानीकर्ताले नै झन्झट भयो भनेर तीतो यथार्थ पोखिरहेका हुन्छन् । लगानी बोर्डबाट लगानी स्वीकृत भइसकेपछि वन, भूमि, अर्थ, गृह लगायतको मन्त्रालयमा गएर किन फाइल अड्किन्छ ?

यो विभिन्न निकायहरूको बीचको बुझाइ वा उनीहरूले यसलाई राम्रोसँग आत्मसात् गर्ने कुरामा कमी भएर पनि होला । कतिपय अवस्थामा लगानी बोर्डले पठाउनुपर्ने कागजातहरूमा कमी भएर पनि हुनसक्छ । तर, समग्रताको बुझाइको हिसाबले पनि समस्या परिरहेको छ । म पछिल्लो चरणको कुरा गर्दा विगतमा त्यस्ता खालका गुनासाहरू सुनिन्थ्यो ।

तर, अहिले लगानी बोर्डमा, लगानी बोर्डको कामको गति र जुन उत्साह देखिएको छ । यो स्केलमा यति छिटो पनि काम हुन्छ भन्ने त हामीले कल्पना पनि गरेका थिएनौँ भनेर भनिरहनु भएको छ ।

निजी क्षेत्रबाट दिनुपर्ने, विकासकर्ताहरूबाट, लगानीकर्ताहरूबाट दिनुपर्ने कागजात पनि समयमा राम्रोसँग जाँचबुझ गर्ने काम पनि राम्रोसँग गर्नुपर्‍यो । सम्बन्धित निकायहरूसँग पनि त्यसलाई राम्रोसँग बताउन पनि पर्‍यो ।

– अपर कर्णाली आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन कसरी हुँदैछ । योसँगै बुढीगण्डकी पनि जोडौँ, यी परियोजनाहरू किन बन्नै सुरू गरेनन ?

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सन्दर्भमा वित्तीय सम्झौता हुन नसकेर अल्मल भएर बसेको थियो । हामीले एकदमै कडा कदम लिएर त्यसलाई अलिकति बलियो गरी अगाडि बढायौँ । जीएमआरले अर्को साझेदार थाईल्याण्डको आईटीडीजी कम्पनीको सट्टामा सतलज कम्पनी, जुन अरुण तेस्रोमा पनि काम गरिरहेको कम्पनी हो । एउटा अदालतमा मुद्दा परेर अल्मल भएर बसेको थियो । वित्तीय सम्झौताका कागजातहरू सम्बन्धित कम्पनीले लगानी बोर्डमा पेस गरेको छ । चाँडै अब यो आयोजना कार्यान्वयनमा जाने खालको अवस्था बनिरहेको छ ।

पश्चिम सेतीको आयोजना, जलाशययुक्त आयोजना हो । डीपीआर बन्ने काम सम्पन्न भएको छ । अब हामी त्यसको वित्तीय विश्लेषणको पाटोमा, त्यसको पीडीएको छलफलको चरणमा पुगिरहेका छौँ । हामी छिट्टै त्यो विषयलाई पनि टुङ्गो लगाउँछौँ ।

अरुण तेस्रो जलविद्युत आयोजना कार्यान्वयनको करिब ७० प्रतिशत काम सम्पन्न नै भएर गइसकेको छ । आउने दुई वर्षभित्रमा यो आयोजना सम्पन्न भएर हामीले विद्युत नै आपूर्ति हुने र त्यसको करिब २२ प्रतिशत बराबरको विद्युत निःशुल्क नेपालले पाउने खालको अवस्था छ ।

बुढीगण्डकीलाई सरकारले सार्वजनिक-निजी साझेदारीबाटै अगाडि बढाउनुपर्छ भनेर अहिले रिसेन्ट्ली निर्णय भएर बजेटमा त्यो कुरा आएको छ । हामीले त्यसलाइ एउटा जलाशययुक्त परियोजनाको टुङ्गोमा पुर्‍याऊँ भने अगाडि बढेका छौँ ।

– सरकारले बजेटमा नै एकल बिन्दु सेवा केन्द्रको व्यवस्था गरेको छ । उद्योग विभागमा भएको एकल बिन्दु सेवा केन्द्रको लगभग बिजोगै छ भन्दा हुन्छ । अब लगानी बोर्डमा स्थापना हुनेले कसरी काम गर्छ ? सबै काम त्यहाँ बाट हुन्छ ?

सबै काम एकलबिन्दु सेवा केन्द्रबाट हुन्छ । लगानी बोर्डमा एकलबिन्दु सेवा केन्द्र स्थापित गर्ने योजना रहेको छ । त्यसमा जाने कर्मचारीहरू, सम्बन्धित निकायहरूले जसलाई सेवा प्रदान गर्नुपर्ने हो, त्योसँग सम्बन्धित मन्त्रालय, विभाग वा अन्य निकायहरूले कर्मचारी पठाउँदा अधिकारसहित पठाउनुपर्ने भनेर निर्णय गरेको छ । ऐनको पनि व्यवस्था छ । अब हामी त्यसको कार्यविधि बनाएर निर्णय प्रक्रिया कुन तहमा कसरी गर्ने भन्ने खालको निचोड निकाल्छौँ ।

व्यक्तिले मात्रै नभई कतिपय अवस्थामा सम्बन्धित निकायमै कर्मचारी रहने व्यवस्था रहन्छ । लगानी बोर्डबाट सिफारिस भएको कामहरू हेर्नको निम्ति विशिष्ट एउटा एकाइ सम्बन्धित मन्त्रालय, विभाग जहाँनेर छ त्यहीँ नै राख्ने हो । त्यहाँबाट पनि चाँडो गर्न सकिन्छ । डिजिटल प्रणालीमा काम गर्छौँ । त्यो भनेको त मान्छे जहाँ बसेपनि उसले आफ्नो कुरा त्यहीँनेर लेख्छ । त्यसको भौतिक उपस्थितिको कुरा दोस्रो हुन जान्छ ।

– हाम्रोमा परम्परागतरूपमा जलविद्युतमा मात्र लगानी केन्द्रित देखिन्छ । सूचना प्रविधि, डाटा सेन्टर, कृषि प्रशोधन र उत्पादनमूलक जस्ता क्षेत्रमा आवश्यक छैन ?

विगतमा हामी ऊर्जा क्षेत्रमा मात्रै केन्द्रित भयौँ । अहिले हामी अरु नयाँ क्षेत्रमा गइरहेका छौँ । सूचना प्रधिको क्षेत्रमा, हाइड्रोजन उत्पादन गर्ने क्षेत्रमा, रेल्वेको लागि हामी सर्वेक्षण अनुमति दिएर अध्ययन गर्न दिनेसम्मको कुरामा गइरहेका छौँ ।

हामी पछिल्लो चरणमा जस्तो कृषिमा, हाम्रो लामो समयदेखि रोकिएको रासायनिक मलको कारखाना स्थापना गरेर उत्पादन गर्ने भन्ने योजनाका साथ काम भइरहेको छ । स्थापना गर्ने काम करिब-करिब अन्तिम चरणमा पुगिराखेका छौँ । त्यसको वित्तीय मोडालिटी र अध्ययनमा छिट्टै टुङ्गोमा पुग्छौँ ।

– सरकारले लगानी गर्न दिएपपछि रोक्ने खोजे जस्तो देखिन्छ । जस्तै ‘टेक एन्ड पे’ आयो नि ! त्यस्तो भयो भने कसरी लगानी आउँछ ?

‘टेक एन्ड पे’ र ‘टेक अर पे’ को विषय विद्युत प्राधिकरणको फाइनान्सियल हेल्थ र त्यसपछि गएर उसले वितरण गर्न सक्ने विद्युतको ऊसँग आपूर्तिको अवस्थासँग त्यसको अन्तरसम्बन्धित छ । हामी अझै त्यो भन्दा अगाडि बढेर विद्युतको ट्रेडिङलाई खुला गर्नुपर्‍यो । एनईएले सबै विद्युत लिएन भने त्यसलाई सिधै कुनै औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने खालको अवस्था बनाउन सकियो भनेदेखि भयो ।

उत्पादन पनि भयो, ट्रान्समिसनको प्रयोग पनि भयो, आपूर्ति पनि भयो ।

– नेपालमा हामी हाइड्रोजनको पनि सम्भावना छ भनेर भनिरहेका छौँ । कसरी अगाडि बढाउन सकिन्छ ?

हाइड्रोजन सम्बन्धी गहन अध्ययन आवश्यक छ भन्ने हामीले महसुस गर्‍यौँ । यसको वृहत्तर मार्केटको सम्भावना पनि हेर्छु भनेर एउटा विश्वासिलो विदेशी कम्पनी आएको छ । ठूलो लगानी पनि गछु भनेको छ ।

नेपाल हाइटी हब बनाउने कुरा अगाडि बढेको छ ।

– सरकारले विद्युत मार्गचित्र भनेर साढे २८ हजार विद्युत उत्पादन गर्ने भनेको छ । त्यो सम्भव रहन्छ ? उत्पादन भए हामीले व्यापार गर्न सक्छौँ ?

एउटा निश्चित खाकाका साथै आएको हो । त्यो एउटा एम्बिसियस छ तर, असम्भव पनि हैन । त्यसको निम्ति सबभन्दा धेरै हामीलाई चाहिएको भनेको स्टोरेज प्रोजेक्टहरू हो । हाम्रो रन अफ रिभरभन्दा स्टोरेज प्रोजेक्ट अन्तर्गत प्राप्त हुने विद्युत चाहिराखेको छ ।

पश्चिम सेतीको एउटा खाका बनाउन सकेको अवस्थामा अरु आयोजनाहरू पनि बनाउन सकिन्छ । २८ हजार ५०० मेगावाटको उत्पादन मात्रै हैन, त्यसको डिस्ट्रिब्युसन र ट्रान्समिसन प्रणालीदेखि समग्र कुराहरू हामीले काम गर्नुपर्छ ।

– पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय योजना आयोग हुँदै तपाईँ लगानी बोर्डमा पनि हुनुहुन्छ । राज्यले एकपछि अर्को नियुक्तिमा तपाईँलाई खुब पत्याइरहेको छ है ?

विगतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जुन तहमा काम भयो त्यो हेरेर पनि होला । अनि त्यसको मूल्यांकन भएर नै अन्य ठाउँमा राखिएको होला । यो लगानी बोर्डमा आउँदाखेरि म प्रतिस्पर्धाको प्रक्रियाबाट आएको हुँ । बोर्डमा लामो प्रक्रियाबाट पुरा गरेर, परीक्षा, व्यावसायिक योजना दिएरमात्रै आएको हुँ । विभिन्न ठाउँमा मेरो योजना देखेर नै नियुक्ति पाएको हुँ ।

मैले त्यो महत्वाकांक्षी योजनालाई स्वीकार गरेर ७ खर्ब बराबरको योजनाहरूको यो वर्ष म सम्झौता गर्छु भनेर अगाडि बढेको छुँ । लगानी बोर्डको अध्यक्ष, प्रधानमन्त्रीसँग कार्यसम्पादन करार गरेर निर्धारित हुने विषय हो । त्यसको निम्ति, मैले यहाँ थुप्रै योजनाहरूको कुरा गरेँ ।

ठूला परियोजना ५-७ वर्षको समय लाग्छ । लगानीकर्ताहरू आएर सम्झौता नै सुरू गरेपछि गफमा मात्रैमा सीमित भएर बस्दैन । काम नै सुरू हुन्छ ।

Comments

2 responses to “‘नेपालको लगानी वातावरण बदलिँदैछ, अब प्रोजेक्टहरू कार्यान्वयनमा जान्छन्’ (भिडिओ)”

  1. Hem nath poudel Avatar
    Hem nath poudel

    देशको दीगो वन ब्यबस्थापन बाट प्राप्त हुने काठ दाउराको उचित ब्यबस्थापन हुन न सक्दा बार्षिक करोडौ क्यु फिट काठ वन मै कुहिएर जाने अवस्था छ। ब्यबस्थापन भएका वन क्षेत्रबाट पनि बजार सम्म आउने बाताबरण बनाउन पूर्व तैयारी न हुदा जायन्ट कम्प्युटराईज्ड प्रशोधन उद्योग फंसनिङ् न हुंदा राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा स्वदेशी उत्पादनले बजार प्रवेश न पाएको अवस्था छ।वनको सम्वर्धन प्रणालीमा आधारित वन ब्यबस्थापन गर्दा सो योजना कारन्वयन गर्दा लुम्विनि प्रदेशले वनको उत्पादकत्व बृद्धि गर्दै स्वदेशी काठमा आत्ममनिर्रभर बन्न करोडौ क्यु फिट काठ बजारमा आउनबाट रोक्ने काम काठ आयातमा ब्यबसायीहरुको मोहबाट ध्यान मोड्ने कानुनले हो , आयातित काठमा भन्सार महसुल बढाएर ,निर्यात हुने काठको भन्सार महसुलमा सहुलियत प्रदान गर्ने हो भने हामी हाम्रो उत्पादन अन्तराष्ट्रिय बजारमा प्रतिश्पर्धा गरि पफरेन करेन्सी भित्र्याउन सक्छौं यस्मा सि ईन ओ साबको ध्यान जाओस्।

  2. Hem nath Avatar
    Hem nath

    नेपालको वन क्षेत्र हिजोको जस्तो संरक्षणमुखि अवस्थाबाट फड्को मार्दै आज वन संवर्द्धन प्रणालीमा आधारित बनको दीगो ब्यबस्थापन को चरणमा प्रवेश गरेको छ।प्रारंभिक नतिजाले वन क्षेत्रमा उत्साहजनक परिणाम हासिल भएको कुरा सर्वविदितै छ। वनको दीगो ब्यबस्थापनका कार्यहरु समग्र उत्पादनशिल वन अन्तर्गत एउटा सानो ईकाईमा अवलम्वन गर्दा लुम्विनी प्रदेशले मात्रै लाखौ सि एफ टी काठ स्वदेशी मागलाइ धान्ने गरि बजारमा पुर्याउन लागेको देखिन्छ , तर फितलो कानुनी ब्यबस्था ,आयातित काठको झन्झटले हाम्रो प्रकृतिले दिएको वरदान स्वरुप सित्तैमा थुप्रिएका र वनमै भण्डार भएका अरवौ अरवौ मूल्यका काठ त्यसै वनमा कुहिएर खेर जाने अवस्था छ। वनको दीगो ब्यबस्थापन गरि वनको पुनरूत्पादनमा र उत्पादकत्वमा बृद्धि ल्याई निकाल्न सकिने काठको आन्तरिक र बाह्य खपत बढाउन सक्ने निति राष्ट्रिय लगानी बोर्डको क्षेत्राधिकार भित्र ल्याउने थोरै मात्र प्रयत्न गर्न सके स्वदेशी उत्पादनको प्रशोधन र बजारिकरणमा वन क्षेत्रले वातावरणीय सेवाको अलावा राज्यलाई खरवौको राजश्वमा योगदान दिन सक्ने देखिन्छ।यो क्षेत्रलाई उपेक्षा गरेर होईन वन क्षेत्रको योगदानलाई उत्पादनमा समेटेर राष्ट्रिय आयमा जोडेर लैजाने दिशामा वन सम्वर्द्धन मा आधारित वन ब्यबस्थापन गर्ने हजारौ समूहको तर्फबाट हामी आदरणीय सि.ई.ओ. लाई ध्यान आकृष्ट गराउन चाहन्छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *