काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनका स्वकीय सचिव छत्र खडायतले पार्टीकै एक कार्यकर्तामाथि हातपात गरेका छन् । अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा जथाभाबी लेखेको भन्दै उनले पाल्पाका राजु गैरेमाथि भौतिक कारबाहीको प्रयास गरेका हुन् ।
हिजो धुम्बाराहीस्थित राप्रपा कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा गैरे केही व्यक्तिहरूसँग चिया खाएर बसिरहेका थिए । त्यही बेला मोटरसाइकलमा आएर खडायतले गैरेलाई हेलमेटले हानेको आरोप छ । गैरेले हिजो महाराजगन्ज प्रहरीमा खडायतविरूद्ध ठाडो निवेदन दिएका छन् ।
गिरीमाथि हेलमेट प्रहार गरिएको दृश्य छाप्रो रेस्टटुरेन्टको सीसीटीभी फुटेजमा कैद भएको छ । फुटेजमा उक्त रेस्टुरेन्टको प्राङ्गणमा घटना भएको देखिन्छ ।
गैरैसहितका व्यक्तिहरू गफ गरेर बसिरहँदा खडायत अर्का एक व्यक्तिसहित मोटरसाइकलमा आएर रोकिन्छन् । उनीहरूले त्यहाँ बसिरहेका गैरेबाहेक अरूसित हात मिलाउँछन् । त्यसपछि खडायतले गैरेलाई उठाएर काँधमा हात राख्दै अर्को साइडमा लैजान्छन् । त्यहाँ उनीहरूबीच वादविवाद चल्छ । त्यो देखेर बसिरहेका अरू व्यक्ति पनि जान्छन् ।
विवादकै क्रममा खडायतले गैरेमाथि २-३ चोटि हेलमेट प्रहार गरेको देखिएको छ । त्यसपछि अन्य व्यक्तिहरूले छुट्याउँछन् । अनि, खडायत फेरि आफूसित आएका व्यक्तिसँगै मोटरसाइकलमा फर्किन्छन् ।
यो घटनालाई लिएर गैरेले सिधै पार्टी अध्यक्ष लिङ्देनलाई आरोपित गरेका छन् । आफूलाई कुट्न लिङदेनले नै स्वकीयलाई खटाएको दावी उनको छ ।
‘अध्यक्षले त कुटेर आउनु भन्नुभएको थियो, तर म तँलाई यहीँ मारिदिन्छु भन्दै बुलेटको हेलमेटले हाने’ गैरेले फेसबुकमा लेखेका छन् ।
आफूले न्याय नपाएमा पार्टी कार्यालयमा नै पासो लगाएर मरिदिने उनको चेतावनी छ ।
गैरे राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाा पक्षधर कार्यकर्ता हुन् । उनले प्रदेशसभा चुनावमा राप्रपाबाट उम्मेदवारीसमेत दिएका थिए। हाल उनले सामाजिक सञ्जालमा अध्यक्ष लिङदेनविरूद्ध टीकाटिप्पणी गर्ने गरेका छन् ।

Leave a Reply