रिलिजपूर्व झमेलामा ‘रिमै’ : निर्मातालाई पारिश्रमिक सल्टाउन धौधौ, दयाहाङ रुष्ट

काठमाडौं । आउँदो भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रिमै’ मा लामो समयदेखि आन्तरिक समस्यामा परेर गिजोलिएको छ । समस्याको प्रमुख कारण आर्थिक व्यवस्थापन हो ।

मुख्य अभिनेता दयाहाङ राईले चलचित्रको पोस्टर र टिजर आफ्नो सामाजिक सञ्जालमा सेयर नगरेपछि विवादको विषय सतहमा आएको थियो । आफैंले अभिनय गरेको चलचित्रलाई बेवास्ता गरेको भन्दै निर्माताले चित्त दुखाएका छन् भने राईले चलचित्रका कलाकार–प्राविधिकको सबै भुक्तानी गरिसकेपछि मात्रै आफू प्रमोसनमा जुट्ने अडान लिएका छन् ।

राईले नेपाल प्रेससँग भने, ‘मेरो पारिश्रमिकको कुरा त मिलाउँला, तर अन्य प्राविधिक र निर्देशन डिपार्टमेन्टको पेमेन्ट नभएसम्म पोस्टर र टिजर सेयर नगर्ने भन्ने हो । धेरै प्राविधिकहरुले अहिलेसम्म पैसा पाएका छैनन् ।’

दयाहाङको अडानमा चलचित्रका लेखक उपेन्द्र सुब्बाको पनि साथ छ । सुब्बाले पनि चलचित्रको पोस्टर र टिजर सेयर गरेका छैनन् ।

सुरुदेखि नै आर्थिक संकट

लकडाउनकै वेला सुब्बाले लेखेका थिए ‘रिमै’ को कथा । लकडाउनपछि नै सुटमा जाने भनिए पनि विविध कारणले रोकिएको थियो । गत वर्ष मात्रै चलचित्रको सुटिङ सकिएको हो ।

सुटिङको अन्तिम सेड्युअल गोर्खाबजारमा थियो । गीतको सुटका लागि काठमाडौंबाट ६० जना कोरस डान्सर लगिएको थियो । सिनेम्याटोग्राफर शैलेन्द्र डी कार्कीका अनुसार आर्थिक समस्याले काम नै रोकिने स्थिति आएपछि उनी र दयाले पैसा सापटी दिएर सुट सकाएका थिए ।

‘सुटिङ नै रोकिने अवस्था आयो । गौमाया गुरुङ युके र रिश्मा गुरुङ अमेरिका फर्कनुपर्ने थियो । सुटिङ रोकिँदा निर्माता पनि फस्थे,’ कार्कीले भने, ‘विदेशमा रहने कलाकार छन् । सबैलाई निश्चित समयको वचन दिएर ल्याइएको छ । दया दाइ र मैले जसरी पनि चलचित्र सकाउनैपर्छ भनेर पैसा हाल्यौं । अन्तिम समयमा आएर चलचित्र रोकियो भने पूरा हुन वर्षौं लाग्छ भनेर निर्मातालाई सहयोग गरेका हौं ।’

निर्माता घले पनि राई र कार्कीले पैसा हालेको स्वीकार्छन् । घलेका अनुसार त्यस दिन शनिबार भएकाले बैंकहरु सबै बन्द थिए । पैसाको जुगड गर्नलाई सकस परिरहेको थियो । सुटका लागि ठूलो टिम भेला भएको अवस्थामा राई र कार्कीले तत्कालको गर्जो टारिदिएको घले बताउँछन् ।

‘उहाँहरुले सहयोग गर्नुभयो । भोलिपल्ट आइतबार हामीले उहाँहरुको पैसा सधन्यवाद फिर्ता गर्यौं,’ घलेले भने ।

सुरुवातमा रोहित कट्टेलको वितरण कम्पनी आरआर फिल्म्सले ‘रिमै’ लाई एक करोड ३५ लाख रुपैयाँ अग्रीम दिएको थियो । तर, ‘रिमै’ को निर्माण टिम कट्टेललाई ‘धोका’ दिएर अर्का वितरक करण श्रेष्ठ क्रेजीसित जोडिन पुगे । अहिले क्रेजीलाई पनि छोडेर वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्म्सकहाँ रिमै पुगेको छ । अब मानन्धरकै वितरण कम्पनीले चलचित्रको वितरण गर्नेछ ।

एक करोड ३५ लिइसकेर ‘रिमै’ टिम अर्को वितरकतिर लागेपछि कट्टेलले पैसा फिर्ता माग्दै निर्माता संघमा उजुरी दिए । त्यसपछि निर्माताले उनलाई ४० लाख रुपैयाँ फिर्ता गरिदिएर टिजर सार्वजनिक गरियो । अब यही साउन २० गतेभित्र थप ४० लाख दिने कागज गरिएको छ । बाँकी पैसा सेन्सर पास अगाडि फिर्ता गरेर मात्रै प्रदर्शन गर्ने सम्झौता भएको छ ।

यस विषयमा भने निर्माता दून बहादुर घले बोल्न मानेनन् । उनले भने, ‘हामीबीच यो विषय टुंगिसकेको छ । यसमा थप कुरा नगरौं ।’

पारिश्रमिक क्रमिकरुपमा भुक्तानी हुँदैछः निर्माता

धेरै ठूलो कालखण्ड पार गरेको ‘रिमै’को भदौ २० मा प्रदर्शन मिति तय भएको छ । प्रदर्शनअघि नै प्राविधिकदेखि कलाकारसम्मको बाँकी पारिश्रमिक तिरिसक्नुपर्ने कागज गरिएको छ । निर्माता संघलाई साक्षी राखेर कागज गरिएको हो ।

आफूले प्राविधिक र कलाकारको पैसा क्रमिक रुपमा तिर्दै गएको घलेले बताए । उनले भने, ‘धेरैलाई पैसा तिरिसक्यौं । अब केही बाँकी छ । चलचित्र प्रदर्शनअघि सबै भुक्तानी गरिसक्छौं ।’

चलचित्रका एक प्राविधिकले पनि निर्माताहरुले पैसा तिर्दै आएको बताए । ती प्राविधिकका अनुसार तिर्न बाँकी पारिश्रमिक विस्तारै कम हुँदै आएको छ ।

‘किचन डिपार्टमेन्टको एक लाख जति दिन बाँकी छ । आर्ट डाइरेक्टर, कोरियोग्राफर र बाँकी निर्देशन डिपार्टमेन्टको पनि पैसा बाँकी छ,’ ती प्राविधिकले भने, ‘विस्तारै कलाकारहरु पनि पैसा दिइरहेका छन् क्यार ।’

अहिलेसम्म ९५ प्रतिशत प्राविधिकको पेमेन्ट सकिएको घलेको दाबी छ । दयाहाङको अलिकति बाँकी रहेको रकम(मौखिक सम्झौता) पनि तिर्ने उनले बताए । दयालाई ३१ लाख र सुब्बालाई सात लाख जति दिइसकेको उनले जानकारी दिए । सुब्बालाई बाँकी तीन लाख पनि चाँडै दिने बताए ।

फुटेज रोकिएपछि निर्माता संघमा उजुरी

पारिश्रमिक रोकिएपछि प्राविधिकरुले निर्माता घले र निर्देशक गुरुङलाई फुटेज नदिएर ‘स्ट्राइक’ गरेका थिए । फुटेज नै प्राप्त नभएपछि चलचित्रको एडिटिङको काम रोकियो । कलाकार र प्राविधिकहरुले एक सूत्रीय माग राखे, ‘पैसा क्लियर नभएसम्म फुटेज दिँदैनौं ।’

निर्माता र निर्देशकले पटकपटक फुटेज मागेपछि एडिटिङको काम नरोकियोस् भनेर आफूहरुले केही फुटेज रिलिज गरिदिएको कार्कीले बताए । कार्कीका अनुसार तीनचार दिन जतिको मात्रै फुटेज होल्ड गरिदिएका थिए ।

पछि फुटेज होल्ड गरिदिएको भनेर निर्माता र निर्देशकले निर्माता संघमा उजुरी दिए । फुटेज रिलिज गरिपाउँ भनेर घले र गुरुङले उजुरी हालेपछि छलफल भयो । प्राविधिकहरुले सर्त राखे, ‘सबै पैसा रिलिज गरिदिएपछि मात्रै चलचित्र प्रदर्शन गर्न पाइन्छ ।’

उनीहरुको सर्तमा निर्माता र निर्देशक सहमत भए । उनीहरुले एउटा कागज गरेका छन् ।

निर्माता संघका अध्यक्ष नवल खड्काले भने, ‘उहाँहरुबीच कागज भएको छ । सेन्सर पास हुनुअघि सबै पैसा पेमेन्ट गरिदिने सर्त छ ।’

कागज गरेपछि आफूहरु ढुक्क भएको कार्कीले बताए । अर्कातिर निर्माता घलेको भने फुटेज रोकिएकोप्रति चित्त दुखाई छ । फुटेज रोकिएकैले आफूहरु समस्यामा परेको उनले दुखेसो गरे ।

‘फुटेज रोकिएकाले निर्माताहरु अलग हुनुभयो । नत्र पैसाको जुगड हुन्थ्यो,’ घलेले भने ।

आफूले १५ वर्षभन्दा बढी गुरुङ चलचित्रमा काम निर्माता र नायक भएर काम गरेको भन्दै उनले आविश्वास गर्नुपर्ने कारण नभएको बताए ।

घले आशावादी, दयाहाङ सकारात्मक

चलचित्रलाई लिएर निर्माता आशावादी छन् । दयाहाङ पनि सकारात्मक छन् । गुरुङ समुदायको अर्गानिक कथा भएकाले दर्शकलाई मनपर्ने उनीहरुको सोचाइ छ ।

तर, प्राविधिक र कलाकारको पारिश्रमिक गरिसक्नुपर्ने शर्तबाट पछि हट्ने मुडामा छैनन् दयाहाङ । उनको शर्त पूरा गर्नलाई आफू द्रूत गतिमा लागिरहेको घले बताउँछन् ।

‘तर, उहाँहरुले पोस्टर सेयर गर्नुभएन, त्यसमा मेरो चित्त दुखाई हो । पैसा पाएपछि मात्रै गर्छु भन्नुहुन्छ भने पनि ठिकै छ । ‘रिमै’ डुब्दा हामीलाई मात्रै होइन, दयाहाङ सरलाई पनि गाह्रो हुन्छ नि ! उपेन्द्र सुब्बा दाइलाई पनि नराम्रो हुन्छ नि,’ घलेले भने, ‘अप्ठ्यारोमा पर्दा पेल्न मिलेन नि त । बेइमानी गर्ने मेरो कुनै नियत छैन । प्रमोसनमा हिँडिदिनु भयो भने राम्रो हो, तर हामीले जबरजस्ति गर्न मिलेन । हामी त सानो मान्छे, उहाँहरु हिँड्नुभएन भने हामीले के नै गर्न सक्छौं र !’

दयाहाङ भने आफूले ‘रिमै’लाई कुनै हेलोहेचों नगरेको बताउँछन् । आफूले अभिनय गरेका सबै चलचित्र उत्तिकै प्यारो हुने उनको भनाइ छ ।

उनले भने, ‘प्रमोसनमा नहिँड्ने भन्ने हुँदैन । रिमै मेरै चलचित्र हो । चलचित्रको प्रमोसनमा सक्दो खटिन्छु । तर, मेरो मूल माग भनेको प्राविधिक र कलाकारको बाँकी पारिश्रमिक तिर्नुपर्यो भन्ने हो । मलाई विस्तारै गरे हुन्छ, तर प्राविधिकहरुलाई त चाँडोभन्दा चाँडो दिएर उनीहरुको गर्जो टारिदिनुपर्यो ।’

चलचित्रमा दयाहाङको अलवा रिश्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ । प्रदर्शन हुँदासम्म तीन करोड बजेट छुने निर्माता घलेको आँकलन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *