रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी निर्णय विपरीतका अभिव्यक्ति दिएका केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र)लाई निष्काशन गरेको छ ।
पार्टी अध्यक्ष महन्त ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै गुप्तालाई पार्टीको प्रतिष्ठामा आँच आउने र पदीय मर्यादा विपरीतका अभिव्यक्ति दिएको भन्दै निस्काशन गरिएको जनाएका छन् ।
उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । रुपन्देही निवासी गुप्ता गत निर्वाचनमा लोसपाबाट प्रदेश सभाको उम्मेदार बनेका थिए ।
आइतबार मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका सन्तोष पाण्डेयको आलोचना गर्दै नेता गुप्ताले पार्टी र संसदीय दलप्रति कटाक्ष गर्दै सामाजिक सन्जालमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । गुप्ताले यसअघि पटक पटक अवसर पाएकाले गुप्ताभन्दा दलका उपनेता तथा केन्द्रीय सदस्य कनैया बानियालाई मन्त्री बनाउनुपर्ने बताउँदै आएका थिए ।
संसदीय दलका नेता तथा पार्टीको प्रदेश अध्यक्ष पाण्डेले कुनै जानकारी नदिई आफै मन्त्री बनेको भन्दै बानियाले पनि आपत्ति जनाउदै आएका छन् । प्रदेश सभामा एकै दिन सत्तापक्षबाट विपक्षमा गएर बजेट पास गरेको विषयमा आलोचित बनेका पाण्डेका विरुद्ध लोसपामा असन्तुष्ट समूहले विरोध गर्दै आइरहेको छ ।
दोहोरिएर प्रदेश सभामा आएका मन्त्री पाण्डे जसरी पनि सरकारमा जाने र अहिलेसम्म ४ पटक मन्त्री बनिसकेको भन्दै कार्यकर्ताले विरोध गरेका छन् ।



Leave a Reply