काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच चलेको अन्तरसंघर्षबारे स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ। स्थायी कमिटीको बैठक शुक्रबारदेखि सुरु हुँदैछ।
आज बसेको पदाधिकारी बैठकले बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। उनले सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरणबारे स्थायी कमिटी बैठकमा नै छलफल हुने बताए।
प्रचण्ड र जनार्दनबीचको अन्तरसंघर्षबारे सोधिएको प्रश्नमा उनले भने, ‘आन्तरिक एकतालाई मजबुत बनाउनेबारे हरेक बैठकमा एजेन्डा हुन्छन्। जनार्दनजीको बारेमा आजको बैठकमा चर्चा भएको छैन। आजको बैठक संक्षिप्त भएको छ। स्थायी कमिटी बैठक बस्ने बेलामा यसबारे मैले व्यक्तिगत धारणा दिन वाञ्छनीय हुँदैन।’
स्थायी कमिटीलगत्तै माओवादीको पदाधिकारी बैठक बस्ने माओवादीको तयारी छ। पछिल्लो समय प्रचण्ड र जनार्दनबीचको असमझदारी सार्वजनिक रूपमै छताछुल्ल भएको छ।
अन्तरसंघर्षबारे एक पदाधिकारीले भने,‘आजको बैठकमा एजेन्डा तय गर्नमा केन्द्रित भयो। ठोस केही छलफल भएन। यो विषयलाई स्थायी कमिटी बैठकको एजेन्डा बनाउने कुरा भएको छ। त्यहाँ छलफल गरेर एकखालको निष्कर्षमा पुग्छ।’
प्रचण्डले जनार्दनलक्षित गर्दै आफूले पार्टीमा जतिपनि सिँगौरी खेल्न दिएको टिप्पणी गरेका छन्। भने, शर्माले पार्टी फुट्छ भनेर माथिबाटै प्रचार भइरहेको भन्दै विशेष महाधिवेशनमा केन्द्रित हुनुपर्ने प्रस्ताव अघि सारेका छन्।

Leave a Reply