काठमाडौं । शीतल पिंकी गुरुङ नेतृत्वको ब्लु डाइमन्ड सोसाइटीले आर्थिक अनियमितता गरेको तथा विकृति फैलाएको भन्दै पूर्वसांसद सुनीलबाबु पन्तको नेतृत्वमा रहेको टोलीले सोसाइटीको धुम्बाराहीस्थित ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ गरेको छ ।
डाइमन्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीको नाममा भ्रष्टाचार गरेको तथा सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको आरोप पन्त नेतृत्वले लगाएको छ ।
पूर्वसांसद समेत रहेका पन्तले नेपाल प्रेससँग भने, ‘संस्था पारदर्शी हुनुपर्यो । चार-पाँचजना मान्छेले संस्थालाई चलाएर, कार्यसमितिमा मनमौजी मान्छे राखेर, असमावेशी बनाएर काम गर्न मिल्दैन ।’

यतिमात्रै नभएर संस्थाको कार्यक्रम सुकुटेबीचमा गएर किन गरियो भन्ने प्रश्न पनि रहेको उनले बताए । सोसाइटीसँग धुम्बाराहीमा त्यति ठूलो भवन हुँदाहुँदै सुकुटेबीचमा तामझामका साथ कार्यक्रम गर्नुको औचित्य खुलाउनुपर्ने पन्तको दाबी छ ।
साधारण सभामै संस्थापक र सदस्यहरूलाई नबोलाइएपछि वास्तविक संस्था वास्तविक समुदायको बन्नुपर्ने भन्दै दबाब भइरहेको छ । अहिले लिङ्ग परिवर्तनका लागि भन्दै विभिन्न औषधि सेवन गरेर वास्तविक समुदायलाई बेवास्ता गर्दै सोसाइटी कब्जा गरेको उनीहरूको भनाइ छ ।


Leave a Reply