कांग्रेस बागमती : दलको नेतामा लामा र बानियाँबीच प्रतिष्पर्धा हुने

चितवन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ ।

लामाको अविश्वासको प्रस्ताव दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्रीको लागि निर्क्यौल गरेपनि संसदीय दलको नेताबाट आउट भएका मुख्यमन्त्री लामा भने प्रतिष्पर्धामा आउने नआउने बताएका थिएनन् ।

उनले आफ्नो तर्फबाट ललितपुरबाट प्रदेश सांसदमा प्रतिनिधित्व गरेका रामकृष्ण चित्रकारलाई प्रस्ताव गरेका थिए । तर, आफ्नो विपक्षमा रहेका सांसदहरूलाई आफूतर्फ तान्ने प्रयास गरिरहेका मुख्यमन्त्री लामाले अन्ततः आफै संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् ।

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको निर्वाचन अहिले १० बजेदेखि सुरु भएको छ । १० देखि ११ बजेसम्म नामावली प्रकाशन गरेपछि ११ः३० देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको संसदीय दलका सचिव कृष्ण तामाङले जानकारी दिएका छन् ।

सोही तालिका अनुसार सकेसम्म पाँचै जना मन्त्री टुङ्ग्याएर शपथ समेत खुवाएर मनोनयन दर्ता गर्न जाने तयारी मुख्यमन्त्री लामाले गरेका छन् ।

संसदीय दलको नेतामा लामाका तर्फबाट उम्मेदवार बन्ने चर्चा रहेका सांसद रामकृष्ण चित्रकारले जित्ने निश्चित भएका कारण मुख्यमन्त्री लामा नै संसदीय दलको नेतामा उम्मेदवार बन्ने निर्णय भएको नेपाल प्रेसलाई बताए ।

उनले नेपाल प्रेससँग भने, ‘संसदीय दलको नेतामा म उठ्ने कि भन्ने थियो । तर, जित निश्चित भएका कारण फेरि मुख्यमन्त्री ज्यू नै उम्मेदवार बन्ने निश्चित भएको छ । उहाँले नै उम्मेदवारी दिनुहुन्छ ।’

सांसद चित्रकारले सकेसम्म पाँच जना मन्त्री आजै टुङ्गो लगाउने नभए निश्चित भएका तीन जनाको शपथ आजै खुवाउने पनि जानकारी दिए । नेपाली कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको नेतृत्वमा गठित निर्वाचन समितिले आजै निर्वाचन र दलको नेता घोषणा गर्ने तालिका सार्वजनिक गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *