बिलखबन्दमा माधवकुमार नेपाल- उनी निर्णय गरौं भन्छन्, घनश्याम ‘माइन्युट लेख्दिनँ’ भन्छन्

काठमाडौं । आफैँ अध्यक्ष रहेको र पार्टीभित्र आफू पक्षको बहुमत दाबी गर्ने माधवकुमार नेपाल अहिले तीनवटा विषयमा बिलखबन्दमा परेका छन् ।

रामकुमारी झाँक्रीलाई पार्टीबाट निकाल्नुपर्ने पक्षमा नेपालसहित बहुमत पदाधिकारी छन् । तर, महासचिव घनश्याम भुसालले त्यस्तो निर्णयको माइन्युट आफ्नो हातबाट लेख्न नसक्ने भनेपछि नेपाल बिलखबन्दमा परेका हुन् ।

विषय रामकुमारीको मात्रै छैन । गत साता पार्टीमा आबद्ध वरिष्ठ नेता वामदेव गौतमले माग गरे बमोजिमको जिम्मेवारी दिनुपर्ने पक्षमा महासचिव भुसाल छन् । तर, अध्यक्ष नेपालले मानेका छैनन् । गौतमको माग छ, संगठन विभागको प्रमुख ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालसँग पार्टी एकतालाई टुंगो लगाइहाल्न तारन्तार कुरा गरिरहेका छन् । तर, नेपाल पार्टीभित्र उक्त एजेन्डा लैजान सकिरहेका छैनन् । किनभने, त्यस्तो एजेन्डा लगेमा अधिकांश पदाधिकारी छलफलसम्म गर्न तयार छैनन् । महासचिव भुसाल पनि उक्त विषयलाई एजेन्डाका रूपमा अगाडि सार्न तयार भएका छैनन् ।

भ्रष्टाचार मुद्दा लागेका कारण नेपालले विशेष महाधिवेशन गरेर ‘मार्ग प्रशस्त’ गर्नुपर्ने अभिव्यक्ति दिएपछि झाँक्रीलाई पार्टीबाट निकाल्नुपर्ने उनको माग रहँदै आएको छ । तर, निकाल्नु त टाढाको कुरा, उल्टै आज बुधवार झलनाथपक्षीय युवाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि हुन उनी जाँदै छन् ।

गत साता रौतहट गएर फर्किएकै दिन अध्यक्ष नेपालले महासचिव भुसालसँग पार्टी कार्यालयमा एक्ला एक्लै कुरा गरे । भोलिपल्टै बैठक बोलाउने विषयमा छलफल भयो । तर, एजेन्डामा कुरा नमिल्दा बैठक बोलाइएन । एजेन्डा थिए, रामकुमारी झाँक्रीलाई कारबाही, वामदेव गौतमलाई जिम्मेवारी र माओवादी केन्द्रसँगको एकता ।

वामदेवबारे आनाकानी

नेपाल एकातिर वामदेवलाई पार्टीभित्र हाबी हुने गरी संगठन विभागको जिम्मेवारी दिन तयार छैनन्, अर्कातिर उक्त विभागको जिम्मेवारी सम्हालेका अर्का वरिष्ठ नेता बेदुराम भुसाल नेपालका निम्ति वामदेवभन्दा निकट र विश्वासिला हुन् ।

त्यसमाथि पार्टीको देशव्यापी सञ्जालमा हाबी हुनसक्ने संगठन विभागको जिम्मेवारी पार्टीमा आउनासाथ वामदेवले ताक्नुको अर्थ भोलि आफैँलाई अप्ठेरोमा पार्न चाहेका हुन् भन्ने नेपालको बुझाई छ । त्यसैले उनी वामदेवलाई न टाढा, न नजिक– समदूरीमा राख्ने पक्षमा छन् । महासचिव भुसाल भने त्यत्तिको नेताले मागिसकेपछि संगठन विभागको प्रमुख बनाउन आनाकानी गर्न नहुने पक्षमा छन् ।

वामदेव समूहका नेता डीबी कार्कीका अनुसार, माग गरिएको जिम्मेवारी दिने, नदिनेबारे अध्यक्ष नेपालले केही भनेका छैनन् । ‘छिटै आवश्यक निर्णय गर्ने भन्नुभएको छ’, उनले भने । स्वयं कार्कीलाई स्थायी कमिटी सदस्य बनाउने पूर्वसहमति पनि हालसम्म कार्यान्वयन नभएको उनले बताए ।

एकताको तड्कारो

नेपाल अहिले आफ्नो सिंगो राजनीतिक जीवनको सबभन्दा अप्ठेरो मोडमा छन् । एकातिर भ्रष्टाचार मुद्दा लागेको छ । यस विषयमा पार्टीभित्रकै एउटा पङ्क्ति उनको पक्षमा छैन । अर्कातिर, एमालेमा अरूलाई स्वागत गरे पनि ‘माधव नेपालका लागि ढोका बन्द छ’ भनेर अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शङ्कर पोखरेलसम्मले भनेका छन् । त्यसमाथि पार्टीभित्र आफूले चाहेका निर्णय गर्न सकेका छैनन् ।

नेताहरू पार्टी निर्माणमा भन्दा आपसी मतभेद र गुटबन्दीमा तल्लीन हुँदा नेपाल अहिले ‘पार्टी’ नामको ‘झ्याउलो’ पन्छाएर माओवादीसँग एकता गर्ने पक्षमा छन् । तर, पार्टीको सचिवालयभित्रै उक्त विषय पारित गर्न सक्ने मत उनीसँग छैन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई तत्काल एकतामा आउन र अब हुने नयाँ

सत्ता समीकरणमा प्रधानमन्त्रीको जिम्मेवारी पाउँदा उनलाई दिनेसम्मका अफर गरेका छन् । नेकपा एस चलाएरै नेपाल प्रधानमन्त्री बन्ने बाटो छैन । पार्टी सानो भएका कारण अख्तियारदेखि अदालतसम्मबाट हेपिनुपरेको धारणा त उनले राख्दै नै आएका छन् । सानो पार्टीबाट कुनै निर्णायक काम हुन नसक्ने कारण विचार मिल्नेसँग एकता वा सहकार्य गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

तर, नेपालले प्रचण्डको अफर स्वीकार गर्दा उनीसँग उनकै कोटरीका सीमित नेता, कार्यकर्ता मात्र साथमा हुने स्थितिका कारण त्यो कदम चाल्न पनि हच्किरहेका छन् । माओवादीसँग हुने एकतामा जानुभन्दा सानै भए पनि नेकपा एस नै चलाउने पक्षमा केही नेता छन्, कतिपय नेता एमालेमा बिनाशर्त फर्किनका लागि तयार छन् ।

‘बरु च्यासलमा गएर हात उठाइन्छ’

नाम उल्लेख नगर्ने शर्तमा नेकपा एसका एक उपाध्यक्षले नेपाल प्रेससँग भने, ‘माओवादीसँग एकतामा गएर राजनीतिक आत्महत्या गरिँदैन । बरु, एमालेको च्यासल हेडक्वार्टमा गएर हात उठाइन्छ, पाले पूण्य, मारे पाप भनेर त्यहीँ बस्ने हो ।’

उनी अहिले माओवादीसँग एकताभन्दा सहकार्यसम्म ठीक हुने धारणा राख्छन् । ‘एकता गर्दा माओवादीले कति पेल्छ भन्ने कुरा हामीले २०७५ को एकतापछि भोगेकै हो’, उनी भन्छन्, ‘त्यस्ता माओवादी साथीसँग झगडा गर्न जानुभन्दा पुरानै एमाले साथीहरूसँग पाखुरा सुर्किनु मज्जा हुन्छ ।’

युवा, विद्यार्थी विवाद र रामकुमारी झाँक्री

नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालपक्षीय युवा संघका कार्यकर्ताले आज दिउँसो काठमाडौंमा अलग्गै ‘उपत्यकास्तरीय युवा विशेष झेला’ को आयोजना गर्दैछन् । सोही पक्षमा रहेको बागमती प्रदेश कमिटी पुनर्गठन गर्नका लागि आयोजना गरिएको उक्त कार्यक्रमकी प्रमुख अतिथिका हुन्, रामुकमारी झाँक्री ।

अर्कातिर, असार २७ गते झाँक्री उपस्थित भएको अनेरास्ववियूको बैठकले समानान्तर कमिटी बनाउने झलनाथपक्षीय अध्यक्ष नरेश न्यौपाने र महासचिव प्रकाश श्रेष्ठलाई क्रमशः एक वर्ष र ६ महिना निलम्बन गर्ने निर्णय गरेको छ । यद्यपि, उक्त निर्णय गरिएको बैठकको उद्घाटनमा उपस्थित भए पनि निर्णय गरिँदा उनी बैठकभित्र थिइनन् ।

प्रश्न उठेको छ कि, युवा संघको झलनाथपक्षीय भेलामा जाने झाँक्रीले अनेरास्ववियूमा किन त्यही पक्षका नेतालाई साथ दिइनन् ? अनेरास्ववियूका एक नेता भन्छन्, ‘झाँक्री झलनाथपक्षकी हैनन्, घनश्याम भुसालपक्षकी हुन् ।’ आज अनामनगरस्थित तमु सेवा समाजको हलमा आयोजना हुन लागेको ‘झलनाथपक्षीय’ भनिएको युवा संघको भेलाका हर्ताकर्ता सञ्जीव राई हुन् । उनी झलनाथनिकट हुन्, तर महासचिव घनश्याम भुसालसँग पनि उत्तिकै निकट छन् ।

अनेरास्ववियूको समानान्तर कमिटीका अध्यक्ष न्यौपाने र महासचिव श्रेष्ठ भुसाल निकटका हैनन्, झलनाथसँग मात्रै निकट हुन् । स्वयं झाँक्री पनि झलनाथसँग निकट छैनन् । अनेरास्ववियूका ती नेताले भने, ‘अध्यक्ष नेपालका निरंकूश गतिविधिको मामिलामा झलनाथ र घनश्याम मिल्छन्, तर उनीहरुका अलग अलग समूह छन् ।’

के हो विवाद ?

पार्टीको केन्द्रीय सदस्य भएका जनसंगठनका अध्यक्षलाई जनसंगठनको जिम्मेवारीबाट मुक्त गर्ने भनी अपानि जारी गर्दै युवा संघका तत्कालिन अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूकी अध्यक्ष आरती लामालाई हटाइयो । यी दुबै झलनाथ पक्षका हुन् । जबकी, उक्त पार्टीका अन्य जनसंगठनका अध्यक्ष पनि पार्टीको पदाधिकारीदेखि स्थायी कमिटी र पोलिट्व्युरो सदस्यसम्म छन् । नेपाल पक्षको भएका कारण उनीहरु हटाइएनन् ।

बरु, अनेमसंघको अध्यक्ष रहेकी पार्टी केन्द्रीय उपाध्यक्ष जयन्ती राईले महाधिवेशन गरेर अध्यक्ष पद छाडिन् । नयाँ अध्यक्ष बनाइएकी मुनु सिग्देल पार्टीकी केन्द्रीय सदस्य हुन् ।

झलनाथपक्षीय भएका कारण युवा संघ अध्यक्ष विश्वकर्मालाई हटाएर गत वैशाखमा रोशन थापाको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरियो । त्यसमा सञ्जीव राईलाई सहसंयोजक बनाइयो । तर, उनले स्वीकार गरेका छैनन् ।

अनेरास्ववियूबाट लामालाई अध्यक्ष हटाएर महेश श्रेष्ठलाई बनाइयो । त्यसपछि झलनाथ पक्षका नरेश न्यौपानेको अध्यक्षतामा अलग्गै समानान्तर कमिटी घोषणा भएको छ । आधिकारिक भनिएको महेश श्रेष्ठको कमिटीमा पार्टी महासचिव घनश्यामपक्षीय भएका कारण मिलन राईलाई उपाध्यक्ष बनाइयो । यद्यपि, राई झलनाथनिकट हुन् ।

युवा संघमा थापालाई आयोजक कमिटीको संयोजक तोकेर भदौ महिनाभित्र महाधिवेशन गर्ने कार्यादेश दिइएको छ । तर, झलनाथ पक्षले एकलौटी प्रतिनिधि चयन गरेर कर्मकाण्डी महाधिवेशनका नाममा संगठन कब्जा गर्ने रणनीति भन्दै विरोध गरिरहेको छ ।

Comments

2 responses to “बिलखबन्दमा माधवकुमार नेपाल- उनी निर्णय गरौं भन्छन्, घनश्याम ‘माइन्युट लेख्दिनँ’ भन्छन्”

  1. Yes Avatar
    Yes

    ‘उपत्यकास्तरीय युवा विशेष झेला’

  2. bharat kumar thapa Avatar
    bharat kumar thapa

    कठै एमालेमा रहदाका सम्मानित नेताको बिजोग अव पार्टी एकिकरण माओवादी संग होइन च्यासलमा जानुस् गल्ती स्वीकार्नु एमालेमा पार्टी एकता गर्नुस कमरेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *