कांग्रेस बागमती: सिन्धुपाल्चोकका दुई सांसद दुईतिर

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकका दुई सांसद दुई खेमामा लागेका छन् । कांग्रेस संसदीय दलको मङ्गलवार भएको अविश्वासको पक्ष र विपक्षमा मत विभाजन हुँदा दुई प्रदेश सांसद दुई खेमामा लागेका हुन् ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा १ (क) बाट निर्वाचित सांसद मसिना खडका भण्डारी बहादुरसिंह लामाको कित्तामा उभिएकी छन् भने सिन्धुपाल्चोक २(ख) बाट निर्वाचित सांसद कृष्ण कुमार तामाङ ‘समीर’ इन्द्र बानियाँको पक्षमा उभिएका छन् ।

सिन्धुपाल्चोकबाट निर्वाचित दुवै प्रदेश सांसद नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका अति निकट मानिन्छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयनको केही समय अगाडि मात्रै दुवैको उम्मेदवारी सुनिश्चित भएको थियो ।

निर्माण व्यवसायमा आबद्ध लामा र सर्जिकल व्यापारमा संलग्न खडका यस अघि मन्त्री समेत भइसकेकी छन् भने तामाङ अहिले कांग्रेस संसदीय दलका सचिव रहेका छन् । बानियाँ पक्षले तामाङलाई मन्त्री बनाउने आश्वासन समेत दिएको कांग्रेस स्रोतको दाबी छ ।

नेपाली कांग्रेस केन्द्रमा सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत अब हुने १५ औं महाधिवेशनमा देउवा सभापति नहुने भएपछि उनी ‘क्याम्प’ चेन्ज गर्ने मनस्थितिमा छन् । उनी खुलेर कता लाग्ने भन्ने प्रष्ट नभए पनि शेखर कोइरालासँग अहिले निकट रहेकाले त्यतै लाग्न सक्ने कांग्रेस नेता कार्यकर्ताहरूको बुझाइ रहेको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग निरन्तर ‘टसल’ गरिरहेका र आउने महाधिवेशनमा गगन पनि देउवाको पक्षबाट अघि बढ्ने संकेत पाएपछि बस्नेत कोइराला पक्षमा जान सक्ने कांग्रेस नेताहरूको बुझाइ छ ।

बागमती प्रदेशमा इन्द्र बानियाँलाई सभापति देउवाले नै ‘ग्रिन सिग्नल’ दिएपछि बहादुर विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको पक्षमा २२ सास।द देखिएपछि आज हुने मतदानमा बस्नेतको समर्थन कता हुने प्रष्ट भएको छैन ।

मसिनालाई बानियाँको पक्षमा मतदान गर्न दबाब छ तर बस्नेतले जता भन्नुहुन्छ,त्यतै मतदान गर्ने भएकाले अहिले नै भन्न सक्ने अवस्था छैन कांग्रेस बागमतीका एक नेताले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *