केटा:–“यु आर माई सैयारा”
केटीः- “यु आर माई सैयारा”
अहिले राजधानी शहरमा साउने भेल झैँ यो हेडलाइनका वाक्यहरू गुन्जिरहेको छ । केटाकेटीहरू एकले अर्कोलाई भन्न थालेका छन् “यु आर माई सैयारा ।”
केहीले थाहा पाए पनि धेरैलाई थाहा नहुन सक्दछ- “सैयारा” एक हिन्दी फिल्म हो जसले २ सय करोडको क्लब क्रस गरेर अगाडि बढिरहेको छ । यसको गति तीव्र छ । कति सय करोडमा पुगेर यो रोकिन्छ भन्न नसकिने अवस्था छ । फिल्म हेर्ने मान्छेको भिड खहरेको बाढीजस्तै छ । सिटी सेन्टरमा त्यो दिन पनि हाउस फूल थियो ।
४४ वर्षीय निर्देशक मोहित सुरीले बनाएको यो फिल्म मात्रै हैन थोरै बजेटमा धेरै नाफा कमाउने उनका अरू पनि थुप्रै हिट फिल्म छन् ।
फिल्ममा एक डायलग छ “सैयारा अर्थात् आकाशको एक बेग्लै तारा, जो सबैभन्दा बढी चम्कन्छ, तर ऊ सधैँ एक्लै हुन्छ, आफैँ जलेर धेरैलाई प्रकाश दिन्छ, तर कहिल्यै बदलिँदैन, हो त्यही तारा तिमी हौ मेरो ।”
मलाई जे भए पनि तिमी मलाई सधैँ माया गरिराख ल भन्ने भाव हिरोइन वाणीले प्रकट गर्छिन् । हिरो कृषले त्यो भूमिका निभाउँछन् । फिल्ममा गीत छ ।
“सैयारा तु तो बदला नही हे मौसम जरा सा बदला हुआ हे ।”
गीतजस्तै फिल्ममा मौसम र हालत बेस्कन बदलिन्छ । तर, हिरोको माया बदलिँदैन । मुख्य प्लट यही हो फिल्मको । अलिकति कथामा छिर्दा भने यस्तो छ । वाणीको स्मरण शक्ति क्षीण हुँदै जान्छ । यति सम्म हुन्छ कि उनी कृषलाई नचिनेर छुरा हान्छिन् । तैपनि कृष (हिरो) बदलिँदैन । माया गरिरहन्छ ।
नाम, ठाउँ, गते, बार मात्रै हैन केही कहीँ याद नहुने वाणीलाई पूर्व स्मृतिमा ल्याउन हिरो कृषले कुशलता देखाउँछ । जे जस्तो अवस्थामा पनि कृषले वाणीलाई माया मात्रै गर्दछ र ऊ साँच्चै सैयारा हुन्छ । प्रसिद्ध गायक कृष र गीतकार वाणीबीच भएको प्रेमिल कथा नै यो फिल्म हो । यसलाई सत्य कथामा आधारित भनिएको छ । कोरियन फिल्मको कपी भनिएको छ । जे भनिए पनि सैयाराले मान्छेको मनमनमा सयर गरिसक्यो ।
मेरै मनमा पनि मज्जाले सयर गरिरहेछ । सैयारा हेरेको भोलिपल्ट शनिबार साउन १० गते हाइकिङ महभीर झरना जानु थियो । त्यहाँ गएपछि थाहा पाएँ । ओहो ! त्यो झरना झन् राम्रै सैयारा रहेछ । प्रकृतिको सैयारामा फिल्मको जस्तै डायलग मैले नबोलीकनै बोलिरहेझैँ भएँ ।
भनेँ, “महभीर झरना अर्थात् प्रकृतिको बेग्लै झरना । यस्तो भीरमा बसेर पनि तिमी सेतो प्रकाश फ्याँकिरहेको छौँ । एक्लै छौ तर हजार झरना जस्तै छौ । पृथ्वीमा आएपछि धेरै बदलिए, तर तिमी कहिल्यै बदलिएनौँ । एक विशिष्ट झरना जसले सबैलाई शीतलता प्रदान गरिरहेको छौ, तिमी मेरो लागि सधैँ यस्तै हुनु ।”
महभीरमा नै मैले सैयारा देखेँ । म त महभीरको प्रेमी भए । फिल्म हेरेको आनन्द भन्दा कता हो कता आनन्द त्यहाँ नुहाउँदा आयो ।
फिल्म हेर्दा मेरो मनमा प्रश्न आइरहेको थियो ।
“बाफ्रे बाफ ! यस्तो पनि लभ कसैले कसैलाई गर्छ र ,हुनै सक्दैन ?”
फिल्म हेरपछिको यो प्रश्न महभीर झरनामा गएपछि उसैगरी आइरह्यो ।
झरनाकै अगाडि मै छु । प्रश्नले मन उद्वेलित भइरहेथे ।
“बाफ्रे बाफ ! यस्तो सुन्दर झरना पनि कहीँ हुन्छ र, हुनै सक्दैन ?”
अचम्मै लाग्यो । म त हिरोइन वाणीले बिर्सने बानीले ट्वाल्ल परे झैँ सब बिर्सेर ट्वाल्ल परेँछु । झरनामा ट्वाँ परेको देखेर नजिकैको साथी राजारामले भन्यो “नुहाउने हैन, लुगा फुकाल न के हेरिरा, म फोटो खिचिदिन्छु आइजो ।”
यस्तो लागिरहेथ्यो । म फिल्मको वाणी बनेर वाणीविहीन भइसकेछु ।
घोष्ट राइटिङ नेपाल हुँदै लेखन कुञ्जसम्म आउँदा मान्छेको किताब पढ्दापढ्दा, लेख्दालेख्दा , सुन्दासुन्दा मलाई प्रकृति र जीवनमा जे पनि सम्भव छ भन्ने लाग्छ । पत्रकारले झैँ कहाँ यो हुन्छ यो हुनै सक्दैन ? तपाईँले के हावा कुरा गरेको ? लौ त प्रष्ट पार्नुस् । बताउनुस्, भन्नुस्, जोड दिनुस् भन्न छाडिसकेको छु ।
फिल्म र झरना दुवै मेरो लागि अप्रत्याशित, आश्चर्यचकित, अनौठो अदभूत लागिरहेको थियो ।
पानी परिरहेको थियो । राजारामले नबोलाउन्जेल रेनकोट लगाएर झरना हेरिरहेथेँ । १८५० मिटर उचाइमा रहेको महभीर महको भीर पो रहेछ । भीर मौरीले भीरमा मह पारिरहेका चाकाहरूको फोटो हेरेको थिएँ । बेच्न हिँडेका मान्छेका फोटो हेरेका थिएँ । तर, त्यो दिन पानीले ती कुनै दृष्यहरू हेर्न दिएन ।
महभीर झरनाबारे बुझौँ न त भनेर गुगलभाइलाई सोधी हेरेको उसले भटाभट नामहरू दियो । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको टेम्के डाँडामा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ७ हिस्तानमा, मकवानपुरमा, बागलुङको निसीखोलामा गाउँपालिका- ३ मा र सिन्धुपाल्चोक पिस्कर , जलजले , तौथली सिमानामा रहेको महभीर झरना (जहाँ हामी उभिएका थियौँ ।
भीरको देश नेपालमा महभीर झरना धेरै ठाउँमा रहेको थाहा भयो । तर, यो झरनालाई भने मह हैन महाभीर भने हुन्थ्यो भन्ने लाग्यो । महाभीरबाट झरेको यो झरनाको झरझरले दिमाग सरसर सरसराईरहेको थियो ।
महाभीर झरना जाने बाटो सुकुटेबाट सुरू हुने रहेछ ।
०००
सुकुटे आजकल सुकुटे छैन । ऊ मोटाएको छ । मान्छेहरूको हुल उसले नबोलाई ऊतिर आइरहेका छन् । सुकुटेले र्याफ्टिङ गराउँछ । मीठो खाना खुवाउँछ । बीच भलिबल खेलाउँछ । बीच नभएको देशमा बीचको तिर्सना मेटाउँछ । यसैले त आजकल सुकुटे फुकुटे हुँदै गएको छ ।
हो त्यही सुकुटेमा हामीले ब्रेकफास्ट गर्यौँ र लाग्यौँ सुनकोसी नदीको पुल तरेर उकालो । छक्क परेँ – पीच बाटो रहेछ त्यस्तो ठाउँमा पनि । धारापानीको उकालो नपुग्दै पीच त ईच भयो । खल्ड्याङखुल्डुङ डरलाग्दो र कहीँ कहीँ ढलान बाटोमा टेकानपुर , गैरीगाउँ हुँदै पुगियो त्रिपुरा सुन्दरी गाउँपालिका तौथली । जहाँ त्रिपुरासुन्दरीको मन्दिर थियो र थियो महिलाले छिर्न नहुने मन्दिर । सूचना टाँसिएको थियो –
श्री नातेश्वर गुरुले सबैको रक्षा गरुन् !!
तपाईँहरूलाई यस ऐतिहासिक नगरी तौथलीमा स्वागत छ ।
यस ऐतिहासिक नगरी तौथलीमा पर्ने धरोहर मध्ये एक महत्त्वपूर्ण स्थल (नातेश्वर) भित्र दर्शन गर्नको लागि परापूर्व कालदेखि नै महिला प्रवेश गर्नु हुन्न भन्ने मान्यता रहेको र अझैसम्म पनि पालना हुँदै आएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौ ।
मिति २०८० असार २८ धन्यवाद !
सौजन्य तौथली सिभिल क्लब ।

सिभिल क्लबले किन यस्तो “अन सिभिल” काम गरेको होला भन्ने मेरो मनमा परिरह्यो । महिलाको कोखबाट जन्मेकै मान्छेले बनाएका होलान् अनि महिलाहरूको पनि यो मन्दिर बनाउँदा उति बेला योगदान थियो होला भन्ने मनमनमा च्वास्स लागेर हेर्न गएँ ।
पुरुष भएको फाइदा भनेर मनमनमा बेकामको पुरुष मनोविज्ञान पनि खेलिरहेको थियो । भित्र गएर हेरेँ अलिक अनकन्टार रहेछ । त्रिशूलहरू टन्नै । मलाई त न कुनै साधुले केही कतै कहीँ बदमासी गरेर पो यहाँ महिला जान हुँदैन भन्यो कि भन्ने कुरा मन्दिर हेरेपछि लाग्यो भन्या ! ओहो मन्दिरमा आएर पाप चिताए कि भन्ने पनि लाग्यो फेरि भन्या !
यस्तो सोचको लागि आफैले आफ्नै कान समाउँदै क्षमा मागेँ । तौलीमाथिको आकाशको बदलिएको बादलको मौसम झैँ मन मडारिएको थियो । पानी छिट्याउन थालिगो ।
बाटोमा एक स्थानीय महिला भेटिनुभयो । भाँचेको मकै डोकोमा हालेर स्वाँ स्वाँ गर्दै उकालो उक्लँदै गरेको उहाँलाई सोधेँ “किन यहाँ महिला नजाने, कोही मरेर हो आमा ?”
हिँड्दाहिँड्दै उहाँले भन्नुभयो “मान्छेहरू मरेर हैन देवता पनि लोग्ने मान्छे मात्रै छ, पूजा पनि लोग्ने मान्छेको मात्रै हुन्छ नि।”
मैले फेरि सोधेँ “कहिलेदेखि नि यो ?”
उहाँले भन्नुभयो “पहिलेदेखि नै यस्तै चलन चल्यो ।”
सूचनाभन्दा अलिक पर रातो अक्षरमा बोल्ड गरी लेखिएको थियो ।
महिला प्रवेश निषेध
No Entry For Women
यस नातेश्वर मन्दिरमा महिलाले दर्शन गर्नु हुँदैन भन्ने परापूर्वकालदेखिको मान्यता रही आएको हुनाले कृपया महिला प्रवेश निषेध गरिएको छ ।
दुई-दुई वटा सूचना लेखेको देखेपछि हामीहरूसँग हाइकमा जाने महिला जनको मन मैलो भयो । उहाँहरू त्यहाँ जानु हुन्न भनेपछि किन जाने भन्दै अलिकति स्वाभिमान अलिकति चित्त दुःखाई मिसाउँदै मन अमिलो बनाउँदै त्रिपुरा सुन्दरी लाग्नु भयो । आफूसँगै आउनुभएको दिदीबहिनीमध्ये कोहीले त्यो कहीँ नभएको नचाहिँदो परम्परा तोडे हुन्थ्यो नि ! भन्ने लागे पनि नआउनु भएकोमा म पनि मन मैलो बनाउँदै नातेश्वरमा नाता लगाउन छिरेँ र निक्लिहालेँ ।
०००
जसको नाउँमा गाउँपालिका बनेको थियो । उसलाई त भेट्नै पर्यो भनेर हामी हिँड्यौँ त्रिपुरासुन्दरीको मन्दिरमा । अग्लो त्रिशूल साथमा डम्बरु गडिएको चार तले मन्दिरमा पुरानो नेपाली कला झल्किएको घर कलात्मक लाग्यो । त्यही घरमा त्रिपुरासुन्दरीलाई एक तल्लामाथि लगेर चिटिक्क पारेको देखेँ । सिन्दूर चुरा पोते, टीका, गाजल लगाएको असाध्यै राम्री त्रिपुरासुन्दरीको बारेमा पुजारी दिलबहादुर श्रेष्ठले भन्नुभयो- “सात देवीमध्येको कान्छी हो उहाँ, पलाञ्चोक जेठी, कालिञ्चोक माइली, दोलखा, काठमाडौं, हुँदै…..।” उहाँले बिर्सनुभयो । मैले सम्झने कुरै भएन ।
त्रिपुरासुन्दरीको सुन्दरता मनमा हालेपछि हाम्रो आजको एक मात्र लक्ष्य, उद्देश्य सबै भएको ठाउँ महाभीर झरनातर्फ थियो । बाटो न उकालो न ओरालो तेर्सोतेर्सो रहेछ । त्यहाँ पुग्नु अगाडि स-साना ३/४ झरनाले कास्टिङ देखाए । हामी ट्रेलर हैन फिल्म हेर्न हिँडेका थियौँ ।

अरू बेला भए त्यही झरना नै कत्रो लाग्दथ्यो । फोटो खिच्ने , नुहाउने हुन्थ्यो । आज यो जरुरत थिएन । शक्तिको पछाडि लाग्ने मानवीय स्वभावलाई शिरोपर गर्दै हामी शक्तिशाली झरनातिर लाग्दै थियौ । ती झरनालाई झूर मान्दै फोटो पनि नखिचेर हामी लाग्यौँ महभीर झरना ।
साउन हामी वरिपरि वर्षा बनेर हिँडिरहेको थियो । छाता र रेनकोट लगाएर हामीले साउनको सौन्दर्य बढाइरहेका थियौँ । हामी पानी हेर्न पानी पानी हुँदै गइरहेको थियो । बाटोमा पानी । परेको पानी । झरना खोला सबै नाघ्दै जाँदा आइहाल्यो ४/५ किमीको दूरीमा रहेको झरना । कोही चिच्याइहाले “आम्मामामा कत्रो झरना ।”
जब झरना नजिकै पुगियो छाताले नथाम्ने पानी आयो । रेनकोटबाट पनि भित्र छिरेर टिसर्ट भिजिहालेछ । जुत्ता त लपक्कै भयो । झरनामा झरनाभन्दा ठूलो स्वरले कराउनेहरू चिच्याएको देख्दा पनि मस्त हाँसो लाग्यो ।
लुगा खोलियो । लुगा लगाइयो । यो झरना लुकेको हीरा रहेछ । हीरा पाउन कालाम्मे भए जस्तै दुःख गर्नु परेन । तर, दुःख चाहिँ भयो । लेउ लागेको ढुङ्गाले भन्दै थियो- “मेरो साथी झरनालाई भेट्न बढी जान्ने भएर दौडेर नहिँड् अहिले तँलाई उत्तानो टाङ्ग पार्दिउँला !”
ढुङ्गाले भने झैँ चिप्लो थियो झरना जाने बाटो । बिस्तारै बिस्तारै छेउमा पुगियो । झरनाभन्दा पचास मिटर पर नै झरनाको पानी आएर मान्छे भिजिरहेको थिए । भिज्न के को डर ! भिज्नै आएपछि ! भिज्दै पुगिहाल्यौँ ।
ओहो ! पहिलोपल्ट झरनामा टाउको थाप्दा त थुचुक्कै बसाल्छ जस्तो भयो । झरनामा ह्वात्तै पानी आउँदा त असिनाले टाउकोमा हाने झैँ टिनिन्न भयो । कोही झरनाले बनाएको पोखरीमा भिजिरहेका थिए । कोही पोखरी बाहिरै भिजिरहेका थिए । झरनाको छाँगोले शरीरमा हान्दा त एक सङ्गीत पैदा भए झैँ लाग्थ्यो । कति नरम पानी रहेछ, साक्षात् प्रकृति भनेको त्यही होला । जति बस्यो बसिरहन मन लाग्ने ।

कोही भन्दैथे “घाम लागेको भए कत्ति मज्जा हुन्थ्यो , पानी परेर झूर भयो।”
राजाराम भन्दैथ्यो “मेरो त ढाड दुःखेको नै निको भयो भन्या !”
बम बहादुर थापा भन्दै हुनुहुन्थ्यो “यो विशुद्ध प्रकृति हो नि त !”
प्रकृतिले जति प्रेम कसले गर्दछ र ! उसले जत्ति प्रेम कसले सिकाउँछ र ! यस्तो वर्षामा त्यस्तो चिसो पानीमा नुहाउँदा न टाउको दुख्ने न रुघा लाग्ने । यस्तो लागिरहेछ । यसको ऊर्जा शरीरभर छ र रहनेछ । यस्तो लागिरहेछ । यो ठाउँमा धेरैपल्ट पुगेको छु, पुगिरहनेछु ।
साउन वर्षिएर झरनामा नुहाएको खिच्न नै धेरै टेक लाग्यो । मोबाइलको लेन्स भरि परिरहेको पानीले थोप्ला बनाएको थियो । मैले आजसम्म झरनामा साबुन लगाएर नुहाएको थिइनँ । बिहानै लुगा हाल्दा झरनामा साबुनले नुहाउने हो भन्दै हिँडेको थिएँ । मस्त साबुन लगाएपछि आँखै पीरो भएर हेर्न सकिनँ । झरनाले एकैछिनमा साबुन त पखालिदने रहेछ । ओहो ! अद्भुत आनन्द । दुईपल्ट साबुन लगाएर नुहाएँ धोको फेरेर । आधा घण्टा झरनासँग जिस्किएपछि लाडिँदै लागियो लुगा भएतिर ।
सब आफ्नो आफ्नो तालमा मस्किँदै, ठस्किँदै, उस्किँदै , चुस्किँदै थिए ।
पानी परिरहेको थियो । लुगा फेरेर रेनकोट लगाएर सब आ-आफ्नो तालमा हिँडिहाले । सानैमा स्कुलमा सीट रोके झैँ झोला राखेर सीट रोक्न । झरनामा ग्रुप फोटो खिच्न पाइएन । अलिक माथि अर्को झरना छ भन्दै थिए साथीहरू “बडा बा नै भेटिसकेपछि छोरा भेट्न को जाने ?” भन्दै कोही गएनन् ।
पानीले आँखा पखालिरहेको थियो । मैले कहीँ कतै पढेको सम्झेँ “म झरीमा हिँडिरहेको बेला रुन्छु ता कि आँसु हो कि झरी कसैले थाहै नपाओस् ।”
यस्तो राम्रो महभीर हाम्रै देशमा । यसको संरक्षण गरेर लाख पर्यटन ल्याउन पाए मेरो देश कस्तो हुन्थ्यो होला भन्ने संवेदना समुन्द्र झैँ आयो । यस्तो भावनाले मेरो आँखा नि रसाइरहेको थिए । पानीको कारण कसैले थाहै पाएनन् ।
असार १२ मा भारतको मसुरी पुगेथेँ । केम्पटी फल्स हिट रहेछ । लाखौँ मान्छे आउँछन् यो झरनामा भन्थे उनीहरू । मलाई त हाम्रो देशको धारा पनि यो भन्दा ठूलो हुन्छन् भनेर जानै मन लागेको थिएन र गइनँ पनि । तल पोखरीमा मान्छेहरू त्यही फल्सबाट फल भएको पानीमा पौडिरहेका थिए । पौडँदै के के न गरेँ कहाँ कहाँ न आएँ भनेर चिच्याएको आवाज अहिले पनि मेरो कानमा छ ।
ती मान्छे यहाँ यो महभीरको चिसोमा आएर आँखा, नाक, कान, छाला र मुख (जिब्रो), पञ्चेन्द्रीयका रूप, रस, गन्ध, शब्द स्पर्शको व्याख्या यहाँ पाउँदा के गर्लान् भने झैँ लागिरह्यो र भावुक भइरहेँ देशवादी बनेर ।
०००
हाइकर्सका आफ्नै कथा हुन्छन् । खानपानका, लवाइका, डुलेका कथा हुन्छन् । यहाँ पनि त्यस अतिरिक्त सबैका आ-आफ्ना कथा रहेछन् । ती कुनै दिन लेखौँला ।

यो पाला ह्याप्पी हाईकर्सहरूमा राजाराम फुयाँल उसकै उत्तराधिकारी नमन, अचित्र थिङ्ग, प्रवेश ढुङ्गाना, पासाङ शेर्पा , प्रकाश तिमल्सिना, प्रदीप कँडेल, निराकार श्रेष्ठ , राज श्रेष्ठ, जय दाहाल , निश्चल पौडेल , मनोज प्याकुरेल , बाबुकाजी महर्जन, प्रवीण अर्याल, राम श्रेष्ठ, सुमन मानन्धर , सुमित्रा मानन्धर , शिलु अधिकारी श्रेष्ठ, सुदीप अधिकारी, कर्मा गुरुङ, प्रमिला सापकोटा , बमबहादुर थापा मगर, हरिहर रेग्मी , लक्ष्मणबहादुर साउद, निर्मल बोहरा, रतन शाह, सनतकुमार रेग्मी रामकृष्ण शंखदेव, सञ्जय लामा र म गरी दशको तीन गुणा थियौँ ।
उकालो बाटो, चिप्लो माटो ठसठसी कन्दै गाडी उक्लँदा कहिँकहिँ डर फुत्त बाहिर निक्लन्थ्यो । फेरि यत्रो छौँ भन्ने लाग्दथ्यो । अनि यत्रो भएकै कारण झन् केही भयो भने के होला भन्ने पनि लाग्यो । त्यो बढेको सास फाल्न कहीँ गाडी रोकिने बित्तिकै ओर्लिएँ ।
काठमाडौँबाट सुकुटे हुँदै झरना पुग्दा गाडीमै दश घण्टा बिताइयो । त्यो मेहनतले थाहा पाएँ । गुरुत्वाकर्षण र झरनाको मीठो सु-सम्बन्ध हुँदो रहेछ । नत्र त पानी पनि कहाँ तल खस्दथ्यो र ! मलाई त पृथ्वीको देखिएको झरनालाई हेरिरहँदा नदेखिएको गुरुत्वाकर्षणलाई धन्यवाद दिन मन लाग्यो र दिएँ मनमनै ।
बाटोमा आउँदा साउने जुकाले सबलाई माया गरिरहेको रहेछ । परजीवीलाई जीवन दिँदै सबैले थाहै नदिई जुका चुसाएछन् । एक जना साथीको त यति रगत आएको थियो कुरै नगरौँ । मेरो त लुगामा पनि जुका रहेछ । यसो चिलायो भनेर छाम्यो जुकै जुका । जुकाका ६ पुस्ता चढे होलान् शरीरमा भन्दै थिइन् पासाङ शेर्पा ।
बिहान ५:२५ मा गाडी चढेको रातको ७:२६ मा गाडीले चप्पल कारखाना ओराल्यो । लामो समय लाग्यो भनेर दुःख हैन सुखको अनुभूति गरेको छु । एक प्रेमी भेटेँ झैँ मन अल्हादित भइरहेछ । प्रेमीकाले फिल्ममा प्रेमीलाई भने झैँ म पनि महभीर झरनालाई भन्दैछु : “यु आर माई सैयारा !”
तस्वीर : निराकार श्रेष्ठ ।

Leave a Reply