पाल्पा । एक गाग्री पिउने पानीका लागि घण्टौँ समय बिताएका पाल्पाको तिनाउ सानीउदाङ्ग गाउँका स्थानीयलाई अब भने खानेपानीको पीरलो छैन । घरमै धारा जडान गरेर पानी आएपछि स्थानीयको मुहार फेरिएको छ ।
तिनाउ गाउँपालिका वडा नं. १ स्थित सानीउदाङ्ग गाउँ विकट भेगमा पर्छ । वर्षौंदेखि यहाँका स्थानीयले खानेपानीका लागि कष्ट भोग्दै आएका थिए । अहिले तिनाउ गाउँ सरकारको सहयोगमा योजनामार्फत घरघरमा पानी आएको देख्दा स्थानीय खुसीले उत्साहित बनेका छन् ।
यहाँका स्थानीयलाई खानेपानी मात्र नभई घरायसी प्रयोजनका लागि पानीको उत्तिकै दुःख थियो । गाउँ नजिकका खोला, खोल्सा, मूल, कुवामा पुगेर एक गाग्री पानीका लागि घण्टौँ समय खर्चनु पर्दथ्यो ।
तिनाउ गाउँपालिकाको सहयोगमा लिफ्टिङमार्फत खानेपानी योजना निर्माण भएपछि घरघरमा पानीको सुविधा पुगेको सानीउदाङ्ग खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीत बहादुर थापाले जानकारी दिए । उनका अनुसार योजना निर्माणका लागि स्थानीय उपभोक्ताले श्रमदानसमेत गरेका छन् ।
गाउँपालिकाले खानेपानी योजना निर्माणका लागि विभिन्न आर्थिक वर्षमा गरेर रु २३ लाख २० हजार रकम र स्थानीय उपभोक्ताको सहयोगमा खानेपानी योजना सम्पन्न भई सञ्चालनमा आएको तिनाउ गाउँपालिकाका खानेपानी प्राविधिक विनोद न्यौपानेले बताए । खानेपानी योजना सञ्चालन भएपछी यहाँका ३०० उपभोक्ता लाभग्राही हुने गाउँपालिकाले जनाएको छ ।
समितिका अध्यक्ष थापाले ट्याङ्की निर्माण गरी लिफ्टिङमार्फत योजना सम्पन्न गरी घरघरमा पानी वितरण भइरहेको बताए । लिफ्टिङमार्फत यहाँको रामपाटा, सानीउदाङ्ग, कटहरबस्ती, बामकोटडाँडालगाएत स्थानका ५२ घरपरिवारलाई शुद्ध पिउने पानी वितरण गरेको अध्यक्ष थापा बताउछन् ।
खानेपानी योजनाले स्थानीयको दैनिकीमा ठूलो परिवर्तन ल्याइदिएको स्थानीय अम्मर तरामुले बताए । ‘पानीका लागि धेरै समय खर्चनु पर्ने बाध्यता थियो । योजनामार्फत घरघरमा धारा जडान गरेर पानी आउँदा हर्षित छौँ, पानी बोक्ने समय अन्य घरायसी काममा लगाउन पाईएको छ’, उनले खुसी हुँदै भने ।
यो भन्दा पहिले खमारखोला लिफ्टिङ खानेपानी योजनाको मोटर बिग्रेपछी पानीको ठुलो समस्या भएको भन्दै तरामुले खेर गएको पानी बचत गरि अन्नबाली र तरकारी बालीमा समेत सिंचाई गर्न सकिने उनले बताए । बुटवल देखि ८ किलोमिटरको दुरीमा रहेको यस स्थानमा खानेपानी आएपछि व्यवसायिक रुपमा होमस्टे सञ्चालन गर्ने योजना रहेको उनको भनाई छ ।
गाउँका स्थानीयले भोगेको खानेपानी समस्याले कतिबेला योजना सम्पन्न गरेर घरघरमा पानी खुवाउने भन्नेमा ध्यान केन्द्रित रहने गरेको र अहिले आएर सपना पूरा भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
खानेपानी योजनाका लागि गाउँपालिका अध्यक्ष श्रेष्ठको जोडबलमा कामलाई धमाधम अगाडि बढाएर अहिले घरघरमा पानी पुर्याइएको हो । जनताको आवश्यकतालाई पूरा गर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै आवश्यकताका आधारमा काम गर्दै आएको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

Leave a Reply