किन पोखरा आए सिन्धुलीका हायू परिवार ? (भिडिओ)

पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट शनिबार राति एक बजे बेपत्ता भएका हायू परिवारका सदस्य सोमबार पोखरामा भेटिए । मध्यरातमा घर छाडेर हिँडेका उनीहरु पोखराको गगनगौँडास्थित स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको बसिरहेको अवस्थामा फेला परेका हुन् । कास्की प्रहरीले उनीहरुलाई मंगलबार आफन्तको जिम्मा लगायो । तर, उनीहरु सिन्धुली नगई यतै पोखरा नै बस्ने अडानमा छन् ।

आफ्नै तरिकाले जीवन चलाउन पोखरा आएको उर्मिला हायूका जेठा छोरा २९ वर्षीय राजु हायू बताउँछन् । ‘आफ्नो जीवन आफ्नै तरिकाले बिताउने भनेर हिँडेको हो’, उनले भने ।

पानी, बत्तीको समस्या र धेरै बिरामी भएका कारण उक्त ठाउँ छोड्न बाध्य भएको राजुले उल्लेख गरे । ‘पानी, बत्तीको पनि समस्या भयो । केटाकेटी धेरै बिरामी भए । राम्रो ठाउँमा उपचार गरेसी राम्रो हुन्थ्यो की भनेर आएको हो’, उनले भने, ‘एक दुई महिना, ४, ५ महिना घुमौं हेरौं । यता के कस्तो हुन्छ । त्यहीअनुसार अघि बढ्नुपर्छ ।’

इभी भ्यानमा शनिबार पोखरा आएका उनीहरु लेकसाइडस्थित होटल जननी बसेका थिए । आइतबार उक्त होटलबाट चेकआउट भएका उनीहरु सोमबार गगनगौँडामा कोठा लिएर बसिरहेको अवस्थामा फेला परे ।

उनीहरुले अहिले गगनगौंडामा ५ वटा रुम लिएर बसिरहेका छन् । प्रहरीका अनुसार त्यसको बन्दोबस्त धनबहादुर तामाङले गरेका हुन् । उनी हायू परिवारकी ५२ वर्षीया उर्मिला हायूका ज्वाई हुन् । उनले पोखरा–मुग्लिङ सडक निर्माणमा काम गर्दै आएका छन् ।

आफु बस्ने ठाउँ उपयुक्त नभएको कारण आफूखुसी पोखरा आएको बताएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया बताउँछन् । उनी भन्छन्, ‘बस्ने ठाउँ एकान्त भयो, बालबच्चा पटकपटक बिरामी भइराख्ने कारणले त्यो ठाउँ उपयुक्त नभएर हामी आफु खुसी हिनेका हौं भन्नुभएको छ ।’

यतै केही काम खोजेर बस्ने योजनासहित उनीहरु पोखरा आएको एसपी ओलियाले बताए । ‘उर्मिलाको ज्वाई पोखरा-मुग्लिङ सडकमा काम गर्नुहुने रैछ । उहाँमार्फत पोखरा आएको देखियो । रुमको बन्दोबस्त पनि उहाँले नै गर्नुभएको रहेछ’, उनले भने, ‘पुनः फर्केर जाँदैनौं यतै काम खोज्छौं भनेर भन्नुभएको छ ।’

मंगलबार प्रहरीले आफन्तको जिम्मा लगाएपछि उनीहरुले फेवा ताल पुगेका थिए । फेवा तालमा डुंगामा शयर गरेर उनीहरुले तालबाराही मन्दिरको दर्शनसमेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हायू परिवारका १६ जना बेपत्ता रहेको उल्लेख गरेको थियो । तर, पोखरामा १९ जना आएको कास्की प्रहरीको तथ्यांक छ । थप ३ जनामा एक जना हिमाल हायूका साली १४ वर्षीया सन्तमाया हायू, हायु परिवारका ज्वाई नाता पर्ने २० वर्षीय सुजन हायू र कमला हायूकी ९ महिने छोरी डायना तामाङ छन् ।

उनीहरु छोडेर आएको ठाउँमा प्रहरीसहितको टोली पुग्दा त्यहाँको अवस्था लथालिंग थियो । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार हायूका परिवारले आफूहरुले घर छोडेर निस्कदा लथालिंग पारेर निस्किएका थिए । साउन ८ गते सामाजिक सुरक्षा कोषवाफतको पैसा बुझेका उनीहरुले ९ गते कार्डको नविकरण गरेका थिए । त्यसपछि भने उनीहरु सम्पर्कमा नभएको वडाध्यक्ष श्रेष्ठले बताए ।

कोही नभएको खबर पाएपछि प्रहरी टोलीसहित आइतबार पुग्दा बाख्रा र कुखुरा त्यतिकै छोडिएको र ढोका खुला रहेको अवस्थामा भेटिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *