पतञ्जली भ्रष्टाचार मुद्दा : पूर्वसचिव पन्तलाई ५ लाख धरौटीमा छोड्न विशेष अदालतको आदेश

काठमाडौं । पूर्व भूमिसुधार सचिव छविराज पन्तलाई पतञ्जली जग्‍गामा भ्रष्टाचार गरेको मुद्दामा ५ लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

मंगलबार विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पाँच लाख धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार पन्त मंगलबार अदालतमा हाजिर भएपछिको बयान र थुनछेक बहसपछि यस्तो आदेश दिएको हो ।

पन्तसहित पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २२ मा ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । २०६६ माघ १८ मा मन्त्रिपरिषद्‌ बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो । उक्त निर्णय विरुद्ध अख्तियार अदालत गएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *