मानसिक स्वास्थ्य जाेखिममा बालबालिका, शिक्षक र अभिभावकको हुन्छ संवेदनशील भूमिका

बालबालिका मानव विकासका अपरिहार्य स्तम्भ हुन् । उनीहरूको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासको समुचित सन्तुलनले नै मुलुकको सुन्दर भविष्य निर्माण हुन्छ । शिक्षा केवल ज्ञान दिने प्रक्रिया मात्र होइन, व्यक्ति र राष्ट्र निर्माणको एउटा समग्र परियोजनासमेत हो । शिक्षाको मूल उद्देश्य भनेकै जीवनयात्रालाई सन्तुलित बनाउनु हो भने मानसिक स्वास्थ्य त्यस यात्राको प्रमुख मेरुदण्ड हो । यस सन्दर्भमा, बालबालिकाको मानसिक स्वास्थ्य (मेन्टल हेल्थ ) लाई शिक्षण–सिकाइप्रक्रियाको केन्द्रमा राख्नु अनिवार्य देखिन्छ ।

मानसिक स्वास्थ्य के हो ?

मानसिक स्वास्थ्य केवल रोग नभएको अवस्था मात्र होइन । यो यस्तो अवस्था हो, जहाँ व्यक्तिले आफ्ना भावनाहरूलाई सन्तुलित तरिकाले व्यवस्थापन गर्न सक्छ, समाजसँग अन्तरक्रिया गर्न सक्दछ, आफूमा आत्मविश्वास राख्छ, र जीवनको चुनौतीहरू सामना गर्न सक्षम हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार,Mental health is a state of well–being in which an individual realizes their own abilities, can cope with the normal stresses of life, can work productively and is able to make a contribution to their community. यस परिभाषाका अनुसार मानसिक स्वास्थ्य जीवनको सम्पूर्ण गुणस्तरसँग जोडिएको छ ।

आजको प्रविधि र आधुनिकताको तीव्र गतिमा अघि बढीरहेको हालको समाजमा बालबालिकाको मानसिक स्वास्थ्य एक जटिल र गम्भीर समस्याका रूपमा देखिन थालेको छ । प्रविधि, प्रतिस्पर्धा, अस्थिरता र अनिश्चितताको आजको योे वातावरणमा बालबालिकाहरू थुप्रै मानसिक दबाब, चिन्ता, डर, तनाव, थकान र अपरिभाषित अपेक्षाहरूको घेराभित्र बाँचिरहेका छन् । तिनको सूक्ष्म अध्ययन र समाधानको खोजी जरुरी भएको छ ।

विश्वमा मानसिक स्वास्थ्य समस्याको दर तीव्र गतिमा बढ्दो छ । युनिसेफको एक प्रतिवेदनअनुसार, विश्वका हरेक सातमध्ये एक बालबालिकाले कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य चुनौतीको सामना गरिरहेको छ । कोभिड–१९ महामारीपछिको यो समस्या अझ गम्भीर भएको छ । बालबालिकामा डिप्रेसन, एन्जाइटी, आत्मग्लानि जस्ता समस्याहरू तीव्र रुपमा बढेका छन् ।

नेपालकै सन्दर्भमा हेर्ने हो भने हाम्रा बालबालिकाको मानसिक स्वास्थ्यको अवस्था झनै समस्याग्रस्त बन्दै गएको छ ।ग्रामीण भेगका बालबालिकाहरूमा गरिबी, हिंसा, उपेक्षा, श्रमशोषण र भेदभावले मानसिक स्वास्थ्यमा नकारात्मक असरमा परिरहेका छन् भने शहरी क्षेत्रमा प्रतिस्पर्धा, सामाजिक तुलना, अनलाइन दुव्र्यसन, आमाबाबुबाटको दूरी आदिले मनोवैज्ञानिक असन्तुलन पैदा गरिरहेको छ । मनोरोगी बढिरहेका छन्, तर सरकारी नीति, विद्यालय संरचना र अभिभावकीय चेतनाको अभावले गर्दा समस्याहरू पहिचानमै सीमित छन् ।

बालबालिकाको मानसिक अवस्था र वर्तमान संकट

नेपालमा विद्यालयस्तरमै देखिने समस्याहरू जस्तै, एकान्तप्रेमी स्वभाव, अति आक्रोश, अत्यधिक प्रतिस्पर्धा, आत्मग्लानि, संवादको अभाव, अभिभावकीय दबाब, साथीबाट छुट्टिने डर र इन्टरनेट/मोबाइलको दुर्व्यसन जस्ता कुराले मानसिक असन्तुलन झन् बढाइरहेको छ ।

कतिपय अवस्थामा शिक्षक र अभिभावकले यी संकेतहरूलाई ‘व्यवहार समस्या’ भनेर बुझ्ने तर मनोवैज्ञानिक संकेतको रूपमा नहेर्ने प्रवृत्तिले समस्या थप जटिल बनाएको छ । किशोरावस्था जैविक, मानसिक र सामाजिक रूपान्तरणको संवेदनशील चरण हो ।

यस अवधिमा हुने हर्मोनल परिवर्तन (जस्तै टेस्टोस्टेरोन, एस्ट्रोजेन र डोपामिनको स्तरमा हुने उतारचढाव) ले उनीहरूको मुड, सोच, व्यवहार र निर्णय क्षमतामा गहिरो प्रभाव पारेको हुन्छ । यही परिवर्तनका कारण आत्मग्लानि, चिडचिडापन, डर, एक्लोपन, सामाजिक असुरक्षा र विद्रोही प्रवृत्ति देखिन सक्छ ।

कतिपय अवस्थामा साथीहरूबाट टाढिने, पढाइमा मन नलाग्ने, अनुशासनमा कमजोरी देखाउने वा आत्महीनताको भावनाले ग्रस्त हुने अवस्था पनि देखा पर्छ । यदि यस अवस्थालाई समयमै चिन्न नसकिने वा संवेदनशील शिक्षकले उचित मार्गदर्शन नदिने हो भने, विद्यार्थी गम्भीर मानसिक समस्यामा पर्ने सम्भावना बढ्छ । त्यसैले यो समयमा दिइने शिक्षा केवल किताबी होइन, भावनात्मक, व्यवहारिक र संवादमुखी हुनुपर्छ । शिक्षकले आत्मीयता, बुझाइ माया, मुस्कानसहित सिकाइको वातावरण सिर्जना गरेमा किशोर विद्यार्थीहरू मानसिक रूपमा सुदृढ, सृजनात्मक र उत्तरदायी रूपमा अघि बढ्न सक्छन् ।

शिक्षकको असंवेदनशील व्यवहारका असरहरू

कुनै विद्यार्थीले पढाइमा ध्यान नदिँदा, गृहकार्य नल्याउँदा वा अनुशासनमा समस्या हुँदा कतिपय शिक्षकले सम्हाल्ने भन्दा पनि गाली गर्ने, कराउने, ठूलो स्वरमा अपमान गर्ने र सार्वजनिक रूपमा कमजोरी औँल्याउने गरेको देखिन्छ । यस्तो व्यवहारले विद्यार्थीमा ‘म केही हैन, मेरो इज्जत छैन र शिक्षकले हेप्छन् मलाई, घृणा गर्छन् मलाई, ‘म सबैभन्दा कमजोर हुँ’ भन्ने आत्मग्लानी र अस्वीकृतिको भावना उत्पन्न गराउँछ । यस्तो स्थिति उनीहरूलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउँछ, आत्मविश्वास गुमाउँछन र समाज वा कक्षाबाट टाढा रहन कोसिस गर्छन् ।

शिक्षकहरू बालबालिकासँग प्रत्यक्ष सम्पर्कमा रहने सबैभन्दा प्रभावशाली व्यक्तित्व हुन् । उनीहरूले विद्यार्थीहरूको व्यवहार, भावनात्मक संकेत र सामाजिक सहभागितालाई प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउँछन् । तसर्थ, उनीहरूले आफूलाई संवेदनशील, सहानुभूति सम्पन्न र व्यवहारिक रुपमा सजग बनाउँदै, परामर्शदाताको भूमिकामा प्रस्तुत गर्न सक्नुपर्छ। त्यसका लागि प्रशिक्षित हुनु, बाल मनोविज्ञान बुझ्न सक्ने क्षमता विकास गर्नु अत्यावश्यक छ । शिक्षकले प्रयोग गर्ने भाषा शैलीले बालमस्तिष्कमा गहिरो प्रभाव पार्दछ ।

कठोर, अपमानजनक वा विवादास्पद शब्द प्रयोगले विद्यार्थीको आत्मविश्वासमा चोट पुग्न सक्छ, जुन मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउन सक्छ । त्यसैले शिक्षकको भाषा सधैं सभ्य, नम्र र सकारात्मक हुनुपर्छ । विशेष गरी यदि कुनै विद्यार्थी कुनै मानसिक समस्यामा परेको आशंका गरिन्छ भने, सार्वजनिक रूपमा टिप्पणी गर्नुको सट्टा गोपनीयताको सम्मान गर्दै व्यक्तिगत रूपमा उसँग संवाद गर्नुपर्छ ।

यस्तो संवेदनशील क्षणमा शिक्षकले निकट भएर, भरोसा दिलाएर, आत्मीयता र सम्मानसहित व्यवहार गर्न सक्नुपर्छ। यस्ता व्यवहारिक संवेदनशीलता र सहानुभूतिपूर्ण दृष्टिकोणले मात्र विद्यार्थीको मनोबल उठाउन सकिन्छ र मानसिक समस्या न्यूनीकरणतर्फ सार्थक कदम चाल्न सकिन्छ ।

तुलनात्मक र दबाबपूर्ण शैलीको असर

यदि शिक्षकले बारम्बारतिमीले फलानो जस्तै पढ्न सक्दैनौ ? सबैले बुझ्छन्, तिमी किन बुझ्दैनौ ? तिमी सधैं ढिलो गर्यौे, अरूले समयमै गर्छन् भन्ने तुलनात्मक दृष्टिकोण प्रयोग गर्दा बालबालिकामा ईष्र्या, हीन भावना र डर पैदा हुन्छ। यसले उनीहरूमा आत्मसमर्पण गर्ने, आफ्नो पहिचान लुकाउने वा एक्लोपन रोज्ने प्रवृत्ति बढाउँछ ।

वास्तविक समस्या नबुझ्दा थपिने चुनौती

धेरै बालबालिकाले घरको समस्या, हिंसा, गरीबी, ध्यान नपाइने अवस्था, वा यौनजन्य हिंसा समेत झेलिरहेका हुन सक्छन् । यस्तो संवेदनशील अवस्था उनीहरूको ध्यान, व्यवहार र भावनामा देखिन्छ । तर शिक्षकले ती व्यवहारलाई नबुझि केवल ‘उपनाम दिने’, ‘ध्यान नदिने’ वा ‘लाज नमान्ने’जस्ता शब्द भन्दै फरक व्यवहार देखाइयो भने समस्या समाधान होइन, समस्या थप समस्या उत्पन्न हुन जान्छ ।

शिक्षक स्वयम्लाई विद्यार्थीको ‘मनको डाक्टर’ हो भन्ने बोध नभएसम्म बालबालिकाको भित्री संघर्ष देखिन्न । बालबालिकाले शिक्षकलाई आफ्ना भावना, डर, चिन्ता र चाहना भन्न सकून् भन्ने विश्वासको वातावरण निर्माण गर्नु सबैभन्दा पहिला आवश्यक छ । असरहरुमा आत्मग्लानि र मानसिक थकान, कक्षाबाट टाढिने, उपस्थिति कम हुने, हिंसात्मक वा आत्मविनाशकारी व्यवहार, सामाजिक संवादको अभाव, दीर्घकालीन डिप्रेशन वा आघात पर्न जान्छ ।

शिक्षकको भूमिकाः संवेदनशीलता र परामर्शदाताको अभ्यास

१. संवेदनशील शिक्षक बुझ्ने प्रयास

शिक्षकले हरेक विद्यार्थीको व्यक्तिगत अवस्था बुझ्न सक्नुपर्छ । उनीहरूको व्यवहार, अनुहारको हाउभाउ, संवादको शैली, एक्लोपनको संकेत आदि सूक्ष्म रूपमा विश्लेषण गर्न सक्ने संवेदनशीलता आवश्यक छ । ‘किन चुप लागिरहेको छन ?’, ‘हिजो त हाँसिरहेको थिए आज किन टाउको झुकाएर बसिरहेको छन् ?’ यस्ता प्रश्नहरू शिक्षक लागि संकेतका सूचक बन्न सक्छन् ।

२. परामर्शदाताको भूमिका निर्वाह गर्न तालिम आवश्यक

शिक्षकहरूलाई विद्यार्थीको मनोविज्ञान बुझ्न सक्ने स्तरको तालिम दिन आवश्यक छ । ‘बाल मनोविज्ञान’, ‘मनोस्वास्थ्य शिक्षा’, ‘सकारात्मक संवाद’ र ‘आचरण संशोधनको प्रविधि’ सम्बन्धी तालिम अनिवार्य बनाइनु पर्छ । यसले शिक्षकलाई केवल पाठ्यपुस्तक आधारित होइन, विद्यार्थी केन्द्रित सिकाइको संरचनामा रूपान्तरण गर्न सहयोग पुर्याउँछ ।

३. सुनुवाइ र मनोबल वृद्धिमा केन्द्रित व्यवहार

शिक्षकले विद्यार्थीको कुरा ध्यानपूर्वक सुन्ने अभ्यास विकास गर्नुपर्छ । उनीहरूको अनुभव र भावनाको कदर गर्नुपर्छ । ‘तिमी ठीक छौ ?’, ‘म तिम्रो कुरा सुन्न तयार छु’, भन्ने शैलीले विद्यार्थी हरुले आफ्नोपनाको महसुस गर्छन् ।

४. सकारात्मक वातावरण निर्माण

शिक्षकले विद्यालयलाई डरको होइन, आत्मविश्वास निर्माण गर्ने स्थान बनाउनुपर्छ । त्यसका लागि सहकार्यमा आधारित कक्षा व्यवस्थापन, समूह संवाद, सांस्कृतिक÷सृजनात्मक गतिविधि र भावनात्मक समर्थन आवश्यक हुन्छ ।

अभिभावक र समाजको सहकार्य

१. अभिभावकीय व्यवहार र समर्थन प्रणाली

अभिभावकले प्रतिस्पर्धा, तुलना र अंकमा मात्र केन्द्रित अपेक्षा गर्नुको सट्टा बालबालिकाको रुचि, क्षमता र मानसिक अवस्था बुझ्नुपर्छ । उनीहरूको भित्रीचाहाना सुन्ने, आत्मीय रुपामा समय बिताउने र प्रशंसा गर्नेप्रवृत्ति हुनुपर्छ । यो पनि शिक्षकसँग नियमित संवाद र समन्वय गरेर गर्नुपर्छ ।

२. सामाजिक–सांस्कृतिक सहकार्य र सहयोगी संरचना

समाजले बालमैत्री वातावरण निर्माण गर्नुपर्छ । जस्तैः बाल संवाद केन्द्र, समुदायस्तरीय काउन्सेलिङ समूह, स्थानीय पुस्तकालय र खेलकुद केन्द्रहरू । यसले बालबालिकाको व्यक्तित्व विकास र तनाव निवारणमा दीर्घकालीन सहयोग पुर्यायउँछ ।

नीतिगत सन्दर्भ र सुधारका सिफारिसहरू

नेपालको विद्यालय प्रणालीमा शिक्षकलाई मानसिक स्वास्थ्यसम्बन्धी जिम्मेवारी निर्वाह गर्न सक्ने बनाउनु शिक्षानीति अन्तर्गत समेटिनुपर्ने मुख्य विषय हो । हालसम्म केन्द्रीय पाठ्यक्रम विकास केन्द्र वा शिक्षा तथा मानव स्रोत मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिएको छैन ।

सिफारिसहरूः

शिक्षक तालिम पाठ्यक्रममा मानसिक स्वास्थ्य शिक्षा समावेश

विद्यालयस्तरमा अनिवार्य परामर्शदाता नियुक्त

विद्यालयमा ‘भावनात्मक सुरक्षा नीति’ निर्माण

मनोस्वास्थ्य सन्दर्भ सामग्री नेपाली भाषामा विकास र वितरण

अभिभावक लक्षित अभिमुखीकरण कार्यक्रम सञ्चालन आदि ।

निष्कर्ष

बालबालिका भावी राष्ट्रका निर्माता हुन् । उनीहरूको मानसिक स्वास्थ्यलाई संरक्षण गर्नु भनेको राष्ट्रको भविष्य सुनिश्चित गर्नु हो । विद्यालय केवल ज्ञान दिने स्थान होइन, भावनात्मक अभिव्यक्ति र आत्मबलको पाठशाला पनि हुनुपर्छ। त्यसको मूलमा शिक्षक छन् । हरेक शिक्षकले आत्मसमीक्षा गर्दै ‘म विद्यार्थीको मन बुझ्न सक्ने संवेदनशील व्यक्ति हुँ कि होइन ?’ भन्ने प्रश्न गर्नुपर्छ ।

साथै, शिक्षक मात्र होइन, अभिभावक र समाजको सक्रिय सहभागितामा मात्र समग्र मानसिक स्वास्थ्यको संरचना बलियो हुन्छ । शिक्षकको संवेदनशीलता, परामर्शदाताको दृष्टिकोण र राज्यको जिम्मेवारीसाथको संरचनागत सुधारले बालबालिकाको मानसिक सन्तुलन, आत्मविश्वास र सृजनात्मक क्षमतालाई नयाँ उचाइ दिन सक्दछ ।

(लेखक नेपाल बौद्धिक परिषद्का प्रचार सचिव हुन्)

 

Comments

One response to “मानसिक स्वास्थ्य जाेखिममा बालबालिका, शिक्षक र अभिभावकको हुन्छ संवेदनशील भूमिका”

  1. Hari Gnawali Avatar
    Hari Gnawali

    ramro article

Leave a Reply

Your email address will not be published. Required fields are marked *