ऋण, बिरामी र विकल्पहीनता : उर्मिला हायू परिवारको मौन विद्रोह

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा (बिखेरकटेरी) भन्ने एकान्त बस्तीमा उर्मिला हायूको परिवार चुपचाप बस्थ्यो । तीन वर्षअघि श्रीमानको मृत्युपछि उर्मिला १६ जनाको परिवारको मुखिया बनिन् । उनको घरबाट नजिकको गाउँ छेत्पा, गोक्सिला, पुग्न करिब १ घण्टा समय लाग्छ । भने हैबारबेंसी र बलेनी मध्यपहाड लोकमार्ग झर्न २ घण्टा लाग्ने अनकन्टार ठाउँमा थियो पुग्न टाढामात्रै थिएन, बाटो पनि जोखिमयुक्त थियो ।

मुखिया उर्मिलासँग परिवार पाल्नलाई स्थायी आम्दानीको स्रोत केही थएन । न त राज्यले लोपोन्मुख जाति हायुलाई मासिकरूपमा दिने प्रतिव्यक्ति चार हजार सामाजिक सुरक्षा नै पर्याप्त थियो । वर्षौंदेखि ज्यामी काम गरेर गुजारा चलाइरहेका उनीहरूको घरका सदस्य बारम्बार बिरामी पर्थे । ऋणको चपेटा झनै गहिरिँदो थियो । वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार उनीहरूले केही लघुवित्तबाट डेढ/दुई लाखजति ऋण लिएको पाइएको छ ।

साउन १२ गते बिहान, गाउँमा हल्ला चल्यो,- उर्मिला हायूको परिवार सम्पर्कविहीन भएको छ । गाउँका कसैले थाहा नपाउने गरी उनीहरू गाउँबाटै हराए । स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले अनुसन्धान सुरू गर्‍यो ।

धेरैलाई लाग्यो,- यो कुनै ठूलो दुर्घटना हो, अपहरण हुन सक्छ, वा सामूहिक आत्महत्या ? तर वास्तविकता एकदमै सामान्य थियो,- उनीहरू हराएका थिएनन् । सिर्फ चैनले बाँच्नलाई नयाँ ठेगाना खोज्दै घरबाट निस्किएका थिए ।

शुक्रबार राति उर्मिलाको परिवारले सिन्धुलीको बलेनी भन्ने ठाउँबाट भ्यान चढ्यो । भ्यान चालक नवीन विकका अनुसार, उनले १६ जनालाई रातको एक बजे गाडीमा चढाएर सिन्धुलीको खनियाँखर्क, हेटौंडा, मुग्लिन हुँदै पोखरा पुर्‍याए । पहिलो रात उनीहरू लेकसाइडको एउटा होटलमा बसे । त्यसपछि पोखरा-३० स्थित गगनगौडामा दुई घरको कोठा भाडामा लिएर बसे । प्रहरीले उनीहरूलाई सोमबार राति साढे नौ बजे सोही घरमा फेला पार्‍यो ।

सोधपुछका क्रममा उर्मिलाले भनिन्, ‘हामीलाई त्यहाँ बस्न मन लागेन, बिरामी भइरहन्थ्यौं, काम पनि पाइनँ । त्यसैले नयाँ ठाउँ खोज्न हिँड्यौं ।’

उनले भनेको ‘बस्न मन लागेन’को अर्थ गहिरो थियो । जहाँ बाँच्नका लागि आधारहरु केही भेटिँदैन, त्यहीँ रहन मन कहाँ लाग्छ र ?

उनीहरूको घर एकान्तमा थियो । बीचबीचमा बिरामी परिरहने, ऋण तिर्न दबाब आउने र गाउँको चिसो वातावरणले गर्दा मानसिक थकान बढ्दै गएको थियो । धामीहरूप्रति उनीहरूको गहिरो विश्वास थियो । धामीहरूले पनि घरको ठाउँ बस्न नमिल्ने बताएका थिए । उनीहरूको आर्थिक अवस्था सुधारिएको थिएन, बरु जटिल हुँदै गइरहेको थियो । गत साउन ९ गते उनीहरूले वडाबाट सिफारिस लिएर सामाजिक सुरक्षा भत्ताबापत एक लाख ८० हजार रूपैयाँ बैंकबाट लिएका थिए ।

तर, त्यो राहत मात्रै पर्याप्त थिएन । राज्यबाट दिइने मासिक भत्ता लोपन्मुख हायू जातिका हरेक व्यक्तिलाई ४ हजार रूपैयाँ थियो । तर, बाँच्न केबल भत्ताले पुग्दैन । स्वास्थ्य सेवा, रोजगारी, पहुँच र अवसर पनि चाहिन्छ । उर्मिला र उनका परिवारसँग त्यो सबै थिएन । उनीहरूका लागि पोखरा कुनै लक्जरी गन्तव्य थिएन, त्यो एउटा सम्भावनाको नाम थियो।

प्रहरीका अनुसार उनीहरूले आफैँ कोठा खोजेका थिए । खाना पकाएर खाँदै थिए । कोठा छेउमै केटाकेटीहरू खेलिरहेका थिए। उनीहरू डराएका थिएनन्, लुकाइएका पनि थिएनन् ।

गृह जिल्ला सिन्धुली र सिंगै देशमा भने उनीहरूको हराएको खबरले सबैलाई चकित बनाएको थियो । प्रहरी मोबाइल ट्रेस गरेर रामेछापसम्म पुग्यो । अन्तिम लोकेसन सिमन्दीछाप देखियो । तर, त्यो लोकेसन सिन्धुलीको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाको कभरेज रामेछापको टावर क्षेत्रभित्र पर्न जाने हुँदा भ्रममा पार्ने खालको थियो ।

जब पोखरामा फेला परे, तब घटना स्पष्ट भयो- उनीहरूले गाउँ छाडेका थिए, हराएका थिएनन् । यो घटना सामान्य बसाइँसराइ मात्र होइन । यो घटना राज्य, समाज र परिस्थितिप्रतिको मौन विद्रोह हो । जब सरकारको सामाजिक सुरक्षा प्रणाली अपूरो हुन्छ, जब ऋणले श्वास फेर्न दिँदैन, जब बिरामी सधैँ बोक्नुपर्ने बाध्यता हुन्छ, तब चुपचाप गाउँ छाडेर जानु पनि प्रतिरोध हो । चिच्याउँदा पनि नसुनिएको आवाज एक दिन चुपचाप हराएर बोलेको हो ।

उनीहरूको निर्णयले प्रश्न उठाएको छ- के राज्यले हायूजस्ता लोपोन्मुख समुदायको संरक्षण गर्ने जिम्मेवारी पूरा गरिरहेको छ ? मासिक केही हजार रूपैयाँको भत्ता पर्याप्त छ ? के गाउँमा काम, स्वास्थ्य र मनोवैज्ञानिक साथको आधारभूत ग्यारेन्टी छ ?

यो घटना आफैँमा एउटा चेतावनी हो । केबल उर्मिलाको परिवारको कथा होइन, यो यस्ता हजारौं परिवारहरूको प्रतिनिधि आवाज हो,- जो मौन छन्, तर मौनताको भाषा स्पष्ट छ । अब राज्यले त्यो भाषा बुझ्ने समय आएको छ ।

Comments

2 responses to “ऋण, बिरामी र विकल्पहीनता : उर्मिला हायू परिवारको मौन विद्रोह”

  1. ksp pyl Avatar
    ksp pyl

    आए अब फेरि विश्लेषणको नाममा कमाउ धन्दावालहरू ।

  2. Kundan Hayu Avatar
    Kundan Hayu

    पत्रकार र पत्रकारिताले बुझ्नुपर्ने मर्म भनेको यही नै होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *