विद्या भण्डारी यसर्थ राजनीतिमा नआएकै बेस

आफ्नो उमेरको ४० कै दशकमा एमालेको महासचिवमात्रै होइन, पार्टीको वैचारिक धार नै परिवर्तन गर्ने गरी सिद्धान्तको प्रतिपादन गर्ने मदन भण्डारीको निधन नेकपा (एमाले) मात्र होइन, मुलुककै लागि गम्भीर क्षति हो । मदनका विचार, योजना, कार्यक्रमसँगै उनको प्रस्तुतिले समेत सिंगो मुलुकवासी प्रभावित थिए, देश विदेशमा चर्चित उनको दुःखद् निधनपछि परिवारबाट पत्नी विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आइन् । यद्यपि, उनी राजनीतिबाट टाढा थिइनन् ।

२०५० माघमा सम्पन्न काठमाडौं- १ को उपनिर्वाचनबाट सांसद निर्वाचित भएपछि शुरू भएको विद्याको राजनीति मुलुकको सर्वोच्च पद (अभिभावकीय भूमिका) राष्ट्रपति हुँदै अहिले पार्टीको सदस्यता नवीकरणसम्म निकै सक्रिय देखिन्छ ।

यतिबेला विद्यालाई सक्रिय राजनीतिमा होइन, मुलुकको अभिभावकका रूपमा रहनुपर्छ भन्ने निष्कर्षका साथ एमालेले उनको सदस्यता नवीकरण रोकेको छ । एमालेको निर्णयको बारेमा स्वयं भण्डारीको विमत्ति छ भने एमाले र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन नपराउनेले यो विषयलाई अलि बढी नै प्रचार गरिरहेका छन् ।

ओलीले आफ्नो पद सुरक्षित गर्न विद्यालाई आउन नदिने प्रपञ्च रचे भन्ने आरोप लगाइएको छ । कसैकसैले त ओलीपछि अध्यक्ष हुने योजनामा रहेका शंकर पोखरेलसमेत ओलीको डिजाइनमा सक्रिय भएका कारण विद्याको सदस्यता रोकियोसम्म भन्दै छन् ।

विद्याले साउन ९ गते पत्रकार सम्मेलन गरेर आफ्नो ‘ब्याकअप’ सार्वजनिक गर्ने बताएकी थिइन् । खासमा ‘ब्याकअप’ त आएन । यद्यपि, उनको प्रेस विज्ञप्ति सन्तुलित नै आएको छ । उनले देशभर अभियान सञ्चालन गर्ने, पार्टीले गरेको बन्देज हटाउन निरन्तर लाग्ने सन्देश दिएकी छन् ।

गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीका दिन आफू सक्रिय राजनीतिमा आएको घोषणा गरेको दिनदेखि आजसम्म उनी राजनीतिको सुर्खीमा छन् । एमालेको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले उनलाई राजनीतिमा सक्रिय हुन रोक्ने निर्णय गर्‍यो । त्यही बैठकले ७० वर्षको उमेरहद र २ कार्यकाल एउटै पदमा बस्न नपाउने व्यवस्था हटाउने निर्णय गरेपछि विद्यासँगै एमाले यतिबेला मिडिया र चिया चर्चाको छलफलमा प्रमुख केन्द्र बनेका छन् ।

विद्यालाई रोक्ने निर्णय गरेको एमाले पंक्ति मुलुकको राष्ट्रपति, अभिभावक, सेनाको परमाधिपति भइसकेको मान्छे सक्रिय राजनीतिमा आएर एउटा दलको कार्यकर्ता बन्नुहुँदैन भन्ने तर्कका साथ जनतामा गएका छन् । अर्कोतिर विद्यालाई रोक्न नहुने पक्षका मानिस एमालेले जबरजस्त गरेको, विशेषगरी ओलीले आफ्नो पद सुरक्षित गर्न उनको बाटो छेकेको अर्थमा चर्चा-परिचर्चा गरिरहेका छन् ।

विद्याले साउन ९ गते पत्रकार सम्मेलन गरेर आफ्नो ‘ब्याकअप’ सार्वजनिक गर्ने बताएकी थिइन् । खासमा ‘ब्याकअप’ त आएन । यद्यपि, उनको प्रेस विज्ञप्ति सन्तुलित नै आएको छ । उनले देशभर अभियान सञ्चालन गर्ने, पार्टीले गरेको बन्देज हटाउन निरन्तर लाग्ने सन्देश दिएकी छन् ।

मुलुकको राष्ट्रपति भइसकेकोले अब एउटा पार्टीको कार्यकर्ता, नेता बन्नु हुँदैन भन्ने मत आमजनताका बीचमा बलियो छ । लोकतन्त्रको संस्थागत विकास नभइसकेको अवस्थामा राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेको व्यक्ति फेरि आएर राजनीतिमा उछलकुद गर्नु ठीक होइन । यो विषयमा अलि परसम्म सोच्नेले एमालेले ठीक गरेको चर्चा गरिरहेका छन् । यद्यपि, एमाले र ओली मन नपराउनेले एमालेको निर्णय ठीक हो भन्न सकिरहेका छैनन् ।

र, अर्को अनौठो कुरा- हिजो उनले राष्ट्रपतिको पद सम्हाल्दै गर्दा उनका गतिविधि, उनले गर्ने व्यवहारका बारेमा अलि बढी नकरात्मक भावना फैलाउने, ‘महारानी’ जस्ता अपाच्य शब्द प्रयोग गर्नेहरू यतिबेला उनको पक्षमा अलि बढी खुलेको देखिन्छ ।

एमालेका नेता, कार्यकर्ताभन्दा पनि नेकपा एस, नेकपा माओवादी केन्द्र, रास्वपालगायतका पार्टीका नेता, कार्यकर्ता तथा समर्थकले उनलाई अलिक बढी हौसाएको देखिन्छ । यदि एमालेले उनलाई सक्रिय राजनीतिमा आउनका लागि सदस्यता नवीकरण गरिदिएको भए यिनैले उनी भन्दा खराब कोही छैन, पदलोलुप भन्न पछि पर्ने थिएनन् ।

पछिल्लो समय नेता, अभिनेतालगायत आममानिसलाई सामाजिक सञ्जालमा आउने, लाइक, कमेण्ट र भ्यूजले प्रभावित पार्ने गरेको छ । सामाजिक सञ्जालमा लाइक, कमेण्ट गर्ने तथा भ्यूज बढाउनेले कतिबेला कसको समर्थन गर्छन्, कतिबेला कसको विरोध गर्छन् भन्नसकिने अवस्था छैन । विषयवस्तुको गहिराइमा जाने, विश्लेषण गर्ने, सत्य पहिल्याउने काम त्यहाँ हुँदैन ।

सामाजिक सञ्जालमा आउने धारणा, लाइक कमेण्ट र भ्यूजका आधारमा धारणा बनाउने, योजना बनाउने, काम गर्नेहरू समस्यामा पर्न पनि सक्छन् । सामाजिक सञ्जालको भरमा होइन, राजनीतिक कार्यकर्ताको राजनीतिक क्रियाशिलताले दीर्घकालीन रूपमा चल्छ । एमालेको लोभलाग्दो सांगठनिक संरचनालाई सके उपयोग गर्ने, नसके ध्वस्त पार्ने चाहना मनमा बोकेर हिँडेकाहरूले यतिबेला विद्याको कदमलाई औधी राम्रो भनिरहेका छन् ।

उनी सक्रिय राजनीतिमा आएर यो देशमा देखिएको चरम निराशा मेटिन्छ ? उनी एमालेको अध्यक्ष हुँदै देशको प्रधानमन्त्री भएपछि बेरोजगारीको समस्या समाधान भएर युवाको विदेश पलायन हुने कुरा अर्को वर्षबाट बन्द हुन्छ ? उनी सक्रिय राजनीतिमा आएसँगै किसान, मजदुर, दुर्गम, अपाङ्गता भएका, महिला, वेपत्ता, अंगभंग भएकाको समस्या छुमन्तरमा सकिन्छन् ? यस्तो कल्पना शायदै कसैले गरेका होलान् । स्वयं उनको भित्री मनले पनि यो कुरा मानेकै होला ।

यतिबेला विद्यालाई सक्रिय राजनीतिमा होइन, मुलुकको अभिभावकका रूपमा रहनुपर्छ भन्ने निष्कर्षका साथ एमालेले उनको सदस्यता नवीकरण रोकेको छ । एमालेको निर्णयको बारेमा स्वयं भण्डारीको विमत्ति छ भने एमाले र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन नपराउनेले यो विषयलाई अलि बढी नै प्रचार गरिरहेका छन् ।

उनी आएपछि एमाले मुलुकको पूर्ण बहुमत सहितको पहिलो पार्टी बन्ने ग्यारेण्टी छ ? उनको आगमनसँगै एमालेमा देखिएको गुटबन्दी सकिन्छ ? उनले एमालेलाई मात्र होइन, माओवादी, एसलगायतलाई एकीकृत बनाएर सिंगो वामपन्थीको एउटा पार्टी बनाउँछिन् ? यस्ता विषयमा यतिबेला चर्चा, परिचर्चा छन् । ओली निरंकूश भए, ओलीले मनपरी गरे, ओलीले वपामपन्थीलाई मिल्न दिएनन् भन्ने मत राख्नेका लागि उनको पछिल्लो कदम निकै उत्कृष्ट लागे पनि आम जनतालाई यसले खासै उत्साह थप्ने अवस्था छैन, देखिँदैन ।

विद्या यो मुलुकको सांसद, मन्त्री र राष्ट्रपति भइसकेको, अर्थात् मज्जाले जनताको बीचमा परिक्षण भएकी नेता हुन् । उनी सांसद, मन्त्री हुँदा वा राष्ट्रपति हुँदा गरेका काम जनताले खुल्ला आँखाले छर्लङ्गै देखेका छन् । उनीसँग मुलुक चलाउने खुबी छ, जनताका समस्या समाधान गर्ने योजना, कार्यक्रम पक्कै छन् होला । तर, आजको समाजले उनी ह्वात्तै सत्तामा आउँदा मुलुकका समस्या स्वात्तै सकिन्छन् भन्ने आशा, अपेक्षा र अनुमान गरेको पाइँदैन ।

उनले अब एमालेको राजनीतिमा सक्रियता बढाएर पार्टीको अध्यक्ष भइन् भने पनि उनको वरिपरिका आजसम्म ओलीबाट पेलिएका, हेपिएकाको कुण्ठाअनुसारकै काम हुने धेरै सम्भावना छ । उनको सल्लाहकार टिम, उनलाई उचाल्नेहरू पनि एउटा न एउटा स्वार्थमा लागेरै उनलाई सक्रिय हुन दबाब दिइरहेका छन् ।

मुलुकको निर्वाचन प्रणाली, विद्यमान राजनीतिक अवस्था, शक्ति सन्तुलन हेर्दा उनी एमालेको राजनीतिमा सक्रिय भएर पार्टी, देश र जनताका लागि उथलपुथल नै हुने अवस्था देखिदैन, छैन । हाम्रो समग्र अवस्थामा एउटा व्यक्ति, त्यो पनि पटकपटक परीक्षण भएको व्यक्ति आउँदैमा आमुल परिवर्तन एकाएक सम्भव छैन । एमालेमा ओलीको विकल्प हुन सक्लिन् ? तर, ओलीकै जस्तो अडान राखेर पार्टी चलाउन सक्छिन् भन्नेमा सिंगो एमालेका नेता, कार्यकर्ता नै विश्वस्त छैनन् । हिजो विद्याको पक्षमा देखिएका विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङहरू अन्ततः ओली र विद्या रोज्दा ओलीतर्फ लागेको पनि स्पष्ट नै देखिएको छ ।

यही अवस्था, यही संरचना, यही विरासतमा उनको राजनीतिमा सक्रियताले खासै फरक पार्ने अवस्था देखिँदैन । एमालेमा ओलीलाई विस्थापित गर्न चाहनेहरू, वामपन्थी एकताका नाममा एमालेको सांगठनिक संरचना र एमालेका इमान्दार कार्यकर्ता कब्जा गर्ने रणनीतिमा रहेका अन्य वामपार्टीका केही नेता र तिनको निर्देशनमा प्रचार प्रचारमा लाग्नेका लागि विद्या अचुक अस्त्र बन्न सक्लिन्, तर एमालेमा रगत पसिना बगाएका इमान्दार कार्यकर्ता र एमालेले पार्टी तथा देशको आमुल परिवर्तनका लागि उनको आगमन खासै चमत्कारिक हुने सम्भावना देख्दैनन् ।

उनी सक्रिय राजनीतिमा आउने हो भने केही नयाँ कुरा जनताका बीचमा लैजान सक्नुपर्छ । के उनी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा लिएर मैदान उत्रिन सक्छिन् ? विद्यमान निर्वाचन प्रणालीमा कुनै पनि दललाई बहुमत ल्याउने सम्भावना देखिँदैन, ल्याइहाले पनि ५ वर्ष सत्ता चलाउन नककेका उदाहरण हाम्रासामु छन् ।

२०४८ मा कांग्रेसको बहुमत थियो, कांग्रेसकै आन्तरिक किचलोका कारण ३ वर्षमा मध्यावधी निर्वाचन भयो । २०५६ मा कांग्रेसले फेरि बहुमत ल्यायो, ३ वर्षमा ३ जना प्रधानमन्त्री भए, फेरी पनि बहुदल जोगाउन सकेनन्, राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम भन्दै सत्ता आफ्नो हातमा लिने अवस्था सिर्जना भयो ।

उनी आएपछि एमाले मुलुकको पूर्ण बहुमत सहितको पहिलो पार्टी बन्ने ग्यारेण्टी छ ? उनको आगमनसँगै एमालेमा देखिएको गुटबन्दी सकिन्छ ? उनले एमालेलाई मात्र होइन, माओवादी, एसलगायतलाई एकीकृत बनाएर सिंगो वामपन्थीको एउटा पार्टी बनाउँछिन् ?

२०७४ मा एमाले र माओवादीको गठबन्धनले झण्डै दुई तिहाइ मत ल्यायो, पछि पार्टी एकीकरण पनि भयो । तर, ३ वर्ष भन्दा बढी टिक्नसकेन । अल्पमत हुँदा खिचडी भयो भनौँला, तर बहुमत पाउँदा पनि ५ वर्ष सत्ता चलाउन नसक्ने दलको अवस्था र मुलुकको यथार्थलाई बुझेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्ने र ५ वर्ष निर्धक्क सरकार चलाउनका लागि विद्यादेवी तयार हो ? यदि यस्तोखालको सोच छैन, नयाँ खालको योजना छैन भने विद्यादेवीले सक्रिय राजनीतिको रहर नगरेकै बेस ।

मुलुक आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्न मात्रै बाँकी छ । युवा जति विदेश जाने, गाउँमा भएका आमाबुवा र केटाकेटी बजार झर्ने, गाउँ शून्य हुने अवस्था दिनप्रतिदिन बढ्दैछ, राज्यले शिक्षा र स्वास्थ्यका नाममा गाउँमा भौतिक संरचनामा गरेको लगानी बालुवामा पानी हालेजस्तै बन्ने अवस्था सिर्जना हुँदैछ । जनताले गाउँमा बनाएका भौतिक संरचना खण्डहर बन्दैछन् ।

यस्तो कहालीलाग्दो अवस्था एकातिर छ, अर्कोतिर हाम्रो राजनीतिक संरचनामा प्रदेश नामको सेतो हात्ती पालेर बसिरहेका छौँ, अनावश्यक रूपमा प्रदेशका मन्त्री, सांसदलगायत विभिन्न संरचनामा राज्यको ढुकुटी बर्बाद पारिरहेका छौँ । के विद्यादेवी भण्डारीको एजेण्डामा प्रदेश संरचना खारेज गर्ने, स्थानीय र संघीय तहमार्फत जनताका काम गर्ने विषय छ ? होइन, यही संरचनामा रमाउने, यही संरचनामा आमुल परिवर्तनका आश्वासन बाँड्ने हो भने उनले जनतालाई फेरि पनि गुमराहमा पारेर सत्तारोहण गर्ने भन्दा अरु केही हुँदैन । त्यसैले उनी सक्रिय राजनीतिमा नआएकै बेस हुन्छ ।

नेपालको आर्थिक विकासको सबै भन्दा ठूलो समस्या घुस लिने र दिने हो । राज्यको बजेट विनियोजन गर्ने स्थानदेखि कार्यान्वयन हुने स्थानसम्म घुस खाने लियरहरू धेरै छन् । घुसै घुसको जालोले मुलुक आक्रान्त छ, त्यसको संरक्षण राजनीतिले गरेको छ । वडादेखि प्रधानमन्त्रीसम्म टेण्डरवालाले भेटी चढाउनुपर्ने अवस्थाका कारण आज मुलुकको लगानीले प्रतिफल पाउन सकेको छैन ।

नेता हुनका लागि घुस, पद पाउनका लागि घुस, चाडकीजस्ता कुरा आज आम भएका छन् । पैसा नभएको इमान्दार राजनीतिज्ञ आज टिक्न नसक्ने अवस्थामा छ । गलत तरिकाले पैसा जम्मा गरेका नै स्थानीयदेखि संघीयसम्मका निर्वाचनमा हावी हुने अवस्था धेरै खतरनाक बन्दैछ । अहिलेसम्म त अलि थोरै प्रतिशत होला, अबका दिनमा ह्वात्तै बढ्ने अवस्था छ ।

समानुपातिकका नाममा ठूलाबडाका परिवार, आफन्तजन, प्रेमी र प्रेमिकाले अवसर पाएका कुरा चर्चामा नआएका हुन् र ? के विद्यादेवी भण्डारीसँग वर्तमान निर्वाचन प्रणालीमा परिवर्तन गर्ने एजेण्डा छ ? के मुलुकमा मौलाउँदै गरेको घुस प्रवृतिलाई रोक्ने ल्याकत छ ? यसो वरिपरी लागेकालाई हेर्दा, साथ-समर्थन दिनेलाई हेर्दा त्यस्तो देखिएन, साँच्चिकै अहिलेको निर्वाचन प्रणालीलाई पूरै परिवर्तन गर्ने एजेण्डा छैन, ‘ओलीको विकल्प विद्या’ भन्ने कुराले मात्र उनको सक्रिय राजनीतिले मुलुकलाई उपलब्धी दिन सक्दैन । मुलुकको अभिभावक बनेको व्यक्ति पार्टीको मात्र होइन, गुटको नेता बन्न नआएकै बेस हुन्छ ।

मुलुक निर्माण, मुलुक परिवर्तन त होइन, विद्यालाई एमाले व्यवस्थापनकै चुनौति धेरै ठूलो हुन्छजस्तो लाग्छ ? यदि उनलाई अध्यक्ष नै बनाइयो भने पनि गुट व्यवस्थापनमै अल्झेर मुलुक निर्माण त परै जाओस्, पार्टी नै झन् यता न उताको हुने हो कि ? भन्ने पनि संशय छ ।

किनकी उनको स्वभाव, ओलीको जस्तो पेलेर जाने छैन, पार्टीलाई एक ढिक्का बनाउन पेल्नैपर्ने अवस्था छ । प्रचण्ड, देउवा, ओलीले होस् वा मोहनविक्रम, नारायणमान विजुक्छे हुन् या माधव नेपालहरू हुन्, सबैले पेलेरै पार्टी अगाडि बढाएका छन् । ती सबैमा भएको गुण विद्यादेवीमा अलि कम छ कि ?

अब विद्याले देशव्यापीरूपमा एमाले रूपान्तरणका लागि चलाउने अभियान रोक्न ओलीले कुनै कसर बाँकी राख्लान् र ? माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रचण्ड, नारायणकाजीसहित ठूलो तप्काले नेकपा कब्जा गरेर ओलीलाई सडकबाटै सदस्यता खारेज गर्दा दमका साथ पार्टी जोगाएका ओलीसँगको मुठभेड त्यति सहज छैन ।

उनलाई लागेको होला, राष्ट्रपति भइसकेको मान्छे, म पार्टी अध्यक्ष भए भने एमाले लत्रक्कै परेर एक ढिक्का हुन्छ, राज्यका सबै निकायले सहयोग गर्छन्, यस्तो भ्रम नपालेकै बेस होला । सत्ता र शक्तिलाई मात्रै मान्ने संरचना हाम्रोमा छ, त्यो संस्कार राजनीतिले नै दिएको हो । त्यसैले पनि विद्याले सक्रिय राजनीतिको रहरभन्दा अभिभावक नै सुहाउँछ  ।

मदन भण्डारी आफ्नो उमेरको ४० को दशकमा एमालेको महासचिवमात्रै भएनन, एमालेलाई आजसम्म हिँड्ने गोरेटो देखाउने पथप्रदर्शक बने । ओली ७४ वर्षमा तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न खोज्दैछन्, विद्याले उमेरलाई आधार बनाउनुहुँदैन, उनले त उषाकिरणहरूलाई राजनीतिमा सक्रिय बनाएर बाबुको विरासत थाम्न लगाउने होला नि ? अब विद्याले पाउनुपर्ने केही बाँकी छ र ? आजसम्म पाएको धेरै नै हो । अब गुमाउने नै हो ।

सक्रिय राजनीतिमा आएपछि गुटको नेता नबनी सुख्खै छैन, अनि एउटा गुटले राम्रो भन्दा अर्कोले नराम्रो भन्छ, अर्कोले राम्रो भन्दा पहिला राम्रो भन्नेले नराम्रो भन्छ, हाम्रो राजनीतिले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सिकाएको छ र ? यहाँ त आफू अनुकूल हुँदा नराम्रो पनि राम्रो हुन्छ । आफ्नो प्रतिकूल हुदा राम्रो पनि नराम्रो भन्ने, देख्ने, सुन्ने चलन छ ।

राष्ट्रपति भएपछि वरिपरी झुम्मिएकाहरू, अवसर प्राप्त गरेकाहरू, उनको आडमा ओेलीसँग बार्गेनिङ पावर बढाएर पार्टीको नेतृत्व, मन्त्रीलगायतका पदमा पुगेकाहरू बेलाबेला आड लाउन आउँछन्, तिनले फाइदाकै लागि उकासेका हुन् भन्ने कुरा विद्याले नबुझ्ने त कुरै भएन, तर पनि कहिलेकाहीँ मान्छे अल्मलिन्छ र पछि पछुताउँछ ।

यदि विद्या एमालेमा वैकल्पिक धारको नेता बन्ने हो, साँच्चिकै वामपन्थी शक्तिलाई एकतावद्ध बनाउने हो, मुलुकको आर्थिक विकासलाई द्रुतगतिमा अगाडि बढाउने हो भने निर्मम भएर अगाडि बढ्न आवश्यक छ । एमालेभित्र संघीयताकै विषयमा फरक मत राख्नेहरू छन्, तर बोल्न सक्दैनन् । प्रदेश संरचना खारेज गर्नुपर्छ भन्नेहरू धेरै छन् । तर, काबाहीमा परिएला कि भनी डराएका छन् । निर्वाचन प्रणालीका कारण राजनीति छोडेर विदेश पलायन हुनेहरू धेरै छन् । एमालेभित्रको गुटबन्दीको शिकार भएका धेरै छन् । यदि विद्याले हिम्मत गर्ने हो भने यस्ता कुरा लिएर हिँड्न सक्नुपर्छ ।

होइन, ओली तीन कार्यकाल अध्यक्ष हुन पाइँदैन भन्दै कुण्ठा बोकेर सक्रिय राजनीतिमा आएको हो भने ओली राजबाट अत्तालिएका ईश्वर पोखरेलहरूको बहकाउमा आएर सक्रिय हुन्छु भनेको हो भने त्यसको खास अर्थ छैन ।

अब विद्याले देशव्यापीरूपमा एमाले रूपान्तरणका लागि चलाउने अभियान रोक्न ओलीले कुनै कसर बाँकी राख्लान् र ? माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रचण्ड, नारायणकाजीसहित ठूलो तप्काले नेकपा कब्जा गरेर ओलीलाई सडकबाटै सदस्यता खारेज गर्दा दमका साथ पार्टी जोगाएका ओलीसँगको मुठभेड त्यति सहज छैन ।

एमालेको जिम्मेवारीमा रहेका नेता विद्यालाई प्रत्यक्ष सघाउनसक्ने अवस्थामा छैनन्, पार्टीको निर्णयभन्दा पहिला र निर्णयपछि नेताको टोन फेरिइसकेको छ । विस्तारै सबै फेरिन्छन्, पार्टीको आधिकारीक निर्णयविपरीत जानेहरू कारबाहीमा पर्छन्, अवसरबाट वञ्चित हुन्छन् । अनि, आफ्नो राजनीति दाउमा राखेर विद्याका लागि कोही पनि सति जाँदैनन् । जो जान्छन्, तिनी संकटमा फस्छन् ।

त्यसैले विद्याले अहिलेकै संरचनामा होइन, संरचनागत सुधारका लागि एजेण्डा बनाएर अगाडि बढ्दा आम जनताको समर्थन प्राप्त हुन्छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्छु भन्ने आँटसहित राजनीतिमा सक्रिय हुँदा तत्कालका लागि चुनौतीपूर्ण देखिए पनि छिटै देशको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्ने अवसर विद्यालाई आउन सक्ला । नत्र, अहिलेकै सेरोफेरोमा सक्रिय राजनीतिले एमालेलाई चिरा पार्ने, एमालेलाई ८४ मा कमजोर बनाउने भन्दा खासै उपलब्धी देखिँदैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *