दूरगामी सहकारी हिनामिना प्रकरणः फरार अध्यक्ष र सचिवका श्रीमती पक्राउ

रुपन्देही । करोडौं अपचलनपछि फरार दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री करिब १ महिनादेखि फरार भएपछि पीडित बचतकर्ताले उनीहरुका आफन्तको घर खोज्दै हिँडेका छन् ।

अध्यक्ष तिवारी लुकेको आशंकामा पीडित शेयरधनीले अध्यक्ष तिवारीका आफन्तको घरमा आइतबार रातीदेखि सोम दिनभरजसो लगातार धर्ना दिएपछि प्रहरीले बाध्य भएर अध्यक्ष र सचिवका श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।

तिवारी आफ्नी दिदी माया भट्टराईको ड्राइभरटोलस्थित घरमा लुकेर बसेको आशंकामा पीडितहरू आइतबार रातिदेखि सोमबार दिनभरसम्म त्यहाँ धर्ना दिएका थिए । सेयरधनी रमा जिसीका अनुसार तिवारीकी पत्नी शारदा आइतबार राति उक्त घरमा देखिएकाले सोही आशंकामा धर्ना दिनुपरेको हो ।

धर्नामा सहभागी रहेका शेयर सदस्य वसुन्धरा जिसीले उनीहरू कानूनी प्रक्रियामा आउनुपर्ने र भागेर समस्या समाधान नहुने बताइन् ।

असार १७ देखि फरार दुवैजनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, प्रहरी उनीहरूको खोजीमा गम्भीर नभएको भन्दै बचतकर्ता आक्रोशित छन् ।

राजनीतिक संरक्षणको आरोप

तिवारी र थापा दुबै स्थानीय नेपाली कांग्रेसका सक्रिय नेता हुन् । पीडितहरूले उनीहरूलाई कांग्रेसले संरक्षण गरेको आरोप लगाएका छन् । सञ्चालक समिति र विभिन्न उपसमितिमा बसेकाहरु अधिकांश कांग्रेसनिकटकै छन् । गृहमन्त्रालय पनि कांग्रेस नेतृत्वमा रहेकाले राज्य संयन्त्र पनि निष्क्रिय भएको बचतकर्ताको आरोप छ ।

बचतकर्ताहरू केही दिनअघि तिलोत्तमा नगरपालिकाका प्रमुख तथा कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणलाई भेट्न पुगेका थिए । तर, समस्या समाधानको प्रतिवद्धता जनाउनुभन्दा ‘सहकारी चलाएर अघि बढौँ’ भन्ने सुझाव दिएको भन्दै उनीहरू मेयरसँग नै सशंकित भएका छन् ।

‘करिब १५ जना सल्लाह गर्न नगरपालिका आउनुभएको थियो, मैले निवेदन प्रदेशमा दिएको र प्रहरीमा उजुरी दिएपछि यहाँबाट अरु काम गर्न नमिल्ने बताएको हो, उहाँहरुको निवेदन आएमा पालिकामा पनि सहकारी विभाग छ, त्यो सहकारीका सदस्यहरुको रकम फिर्ता गर्ने र सहकारी संचालन गर्नेगरी योजना बनाउनुपर्छ भनेको हो’ खाणले प्रष्टीकरण दिएका छन् ।

सहकारीको रकम अपचलन गर्ने जुनसुकै पार्टी, संस्थामा भएपनि नजोगिने र यो सहकारीका अध्यक्ष, सचिव पनि भागेर समस्या समाधान नहुने बताए ।

सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले बयानमा सहकारी अध्यक्ष र सचिवको निर्देशनमा काम गरेको, जबर्जस्ती बाँकी रकमको तमसुक गराइएको र आफूले करिब २ देखि ३ करोड रुपैयाँ चलाएको स्वीकार गरेका छन् । तर, कार्यालयमा नै उनले करिब ९ करोड रकम अपचलन गरेको तमसुक नै भेटिएको छ ।

यो समाचार पनि पढ्नुहोस् – दूरगामी सहकारीमा ३० करोड अपचलनको आशंका, बचतकर्ताले रातभरि घेरे अध्यक्ष-सचिवको घर 

पराजुलीका अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, र कोषाध्यक्ष चारैजनाले बाँकी रकमको जिम्मा जबर्जस्ती आफूलाई थोपरेका थिए । उनले ५ जेठ २०८२ मा आफ्नो, श्रीमती, छोराछोरी र अन्य व्यक्तिको नाममा प्रवाह भएको रकम असार मसान्तसम्म तिर्ने गरी तमसुक गरेका थिए । तर, त्यो सँगै उनले श्रीमतीसँग नक्कली सम्बन्धविच्छेदको निवेदन अदालतमा दिएको विषय बाहिर आएपछि सदस्यहरु थप सशंकित भएका हुन् ।

पीडित सदस्यहरुको तर्फबाट गठन भएको समन्वय समितिले तीन साताअघि नै तिलोत्तमा ३ को वडा कार्यालयमा अध्यक्षसहित सबै सञ्चालकको खाता रोक्का गरी फरार व्यक्तिलाई पक्राउ गरेर आफूहरुको समस्या समाधान गर्न आग्रहसहितको निवेदन दिएपनि सोमबार साँझसम्म मेयर रामकृष्ण खाणले आफूहरुलाई औपचारिक जानकारी नै नआएको जनाएका छन् ।

लेखापरीक्षणमा भेटिए गम्भीर त्रुटि

करोडौ रकम व्यक्तिगत तजविजमा लगानी अहिलेसम्म लेखापरीक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक भइसकेको छैन, तर प्रारम्भिक तथ्यांकअनुसार १ अर्बभन्दा बढी रकम अपचलन भएको आशंका गरिएको छ । सहकारीको मूल रकम करिब ४० करोडको आसपास भएपनि यो बीचमा ठूलो रकम यसको खातामा आउनेजाने गरेको देखिएको आन्तरिक लेखापरीक्षणमा भेटिएको छ ।

‘सहकारीको सफ्टवेयरमा १३ हजार पटकसम्म ‘डिलिट’ गरिएको छ । बैंक तथा सहकारीको सफ्टवेयर ‘अफ आवर’ मा चलाइएको भेटिएको छ । ऋण नलिएका व्यक्तिको नाममा ऋण देखाइएको छ भने करिब ५० जनालाई विनाधितो ऋण प्रवाह गरिएको छ । धितो राखिएका खातामा पनि मूल्यांकन नभएको, नाम मात्रको धितो देखाइएको छ’ लेखापरीक्षणमा सहभागी एक सदस्यले भने ।

सचिव रामबहादुर थापाले मात्रै ८७ पटक ऋण प्रवाह गरेको पाइएको छ । करिब ४३ करोड रूपैयाँ बराबरको ऋण सेवा शुल्कबिना प्रवाह गरिएको छ । ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाई महिनाको अन्त्यमा देखिएको ऋण अर्को महिनाको पहिलो साता ‘शून्य’ बनाइएको छ ।

‘ऋणका कुनै फाइलमा प्रकृया पूरा गरिएको छैन, १० लाखभन्दा माथिको फाइलमा इन्जिनियरिङ भेलुएयसन गर्ने भनिएको छ तर यहाँ कुनै इन्जिनियरले टेकेका छैनन्’ ती सदस्यले भने ।

सहकारीका सल्लाहकार रहेर अहिले पीडित सदस्यहरुको तर्फबाट अगुवाई गरेका बेलप्रसाद शर्माले कृते सदस्यहरु बनाएर लगानी गरेको, लगानी गरेर ६ महिनापछि सदस्य बनाएकोजस्ता संचालक तथा व्यवस्थापकबाट हदैसम्मको अपचलन गरिएको भेटिएको बताए ।

‘आजभोलिमा आन्तरिक परीक्षण भएर प्रदेशमा जान्छहोला, ठ्याक्कै कति अपचलन भयो भन्ने खुल्छहोला तर हिजो मात्रै ६४ लाखको धितो मूल्यांकन भएर १ करोड १४ लाख लगानी गरेको फाइल भेटियो, यस्ता त कति होलान्’ उनले भने–‘बचतकर्ता पनि धेरै स्थानीय र अध्यक्षसहित संचालकहरु नै स्थानीय भएकाले भागेर जान नसक्ने तर यसबाट समाधान गर्न समय लाग्ने देखिएको छ ।’

सञ्चालकबीच पनि दोषको खेल

सहकारीभित्र अपचलनको विषयमा सञ्चालकबीच पनि गहिरो विवाद छ । फरार अध्यक्ष र सचिवका परिवारका अनुसार सम्पूर्ण सञ्चालक पनि जिम्मेवार छन् । तर अन्य सञ्चालक भने सबै हिनामिनाको दोष अध्यक्ष र सचिवमा थोपरेर आफू पन्छिन खोजिरहेका छन् । अन्तिम समयमा पीडित र सञ्चालकबीच सहमति भएर रकम फिर्ताको प्रयास भएको थियो तर अध्यक्ष र सचिवले सहमतिको माइन्युट नै च्यातेपछि सहमति भंग भएको र त्यसपछि उनीहरू फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले फरार अध्यक्ष र सचिव अझै फेला नपरेको जनाए ।

‘उनीहरूलाई खोजी कार्य तीव्र पारिएको छ, फेला पार्नेबित्तिकै पक्राउ गरी अनुसन्धान अघि बढाइन्छ’ डीएसपी रानाले भने ।

तिलोत्तमाको डिङ्गरनगरमा अवस्थित बहुउद्देश्यीय सहकारी संस्थाको नाममा भएको अपचलन अहिले जिल्ला नै होइन, प्रदेशभरको गम्भीर प्रकरण बनेको छ । पीडितहरू न्यायको पर्खाइमा छन्, दोषीहरू राजनीतिक आडमा लुकेका छन्, प्रहरीको भूमिकामाथि प्रश्न छन् । अब जिम्मेवार संस्थाले पारदर्शिता देखाएर दोषीमाथि कडा कारबाही गरेर सहकारीप्रतिको विश्वास गुम्न दिन नहुने सहकारीका अभियन्ताको भनाइ छ ।

पहिले सहकारी डिभिजन कार्यालय रुपन्देहीमा दर्ता भएको यो सहकारी संघीय संरचनापछि क्षेत्र बढाएर प्रदेशमातहत गएको हो । रुपन्देहीअन्र्तगत हुँदा यसको काम बढी पारदर्शीता भएपनि प्रदेशमा गएपछि बढी शंकास्पद हुँदै गएको यहाँका सदस्यहरुको भनाइ छ । हरेक वर्ष लेखा परीक्षण गर्ने लेखापरीक्षक, यसको प्रगति प्रतिवेदन हेर्ने नियामक निकाय र यसको सिंगो संचालक समितिलाई नै कारबाहीको दायरामा ल्याउनुपर्ने सदस्य माधवकुमार पौडेल बताउँछन् ।

‘अडिट त हरेक वर्ष भएको छ, रिपोर्ट नि भएको छ यस्तो गम्भीर विषयमा जोडिएका सबैमाथि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *