‘परालको आगो’बाट बाहिरिएका जितुको ‘कार्की साइँला’का निर्देशकसँग पनि लफडा

काठमाडाैं । अभिनेता जितु नेपालका लागि पछिल्लो समय त्यति राम्रोसँग चलिरहेको छैन । उनी सुटिङको अन्तिम तयारीको बेला ‘परालको आगो’बाट बाहिरिए ।

लगत्तै अर्को चलचित्र ‘कार्की साइँला’मा पनि निर्देशक राजेन्द्र बस्नेतसँगको लफडा सार्वजनिक भएको छ । यो लफडा नेपाल र बस्नेतबीचको जुँघाको लडाइँ हो । बस्नेत र नेपालबीच चलचित्रको कथालाई लिएर विवाद उत्पन्न भएपछि यसबेलासम्म सुटिङ सकिनुपर्ने चलचित्र रोकिएर बसेको छ ।

बस्नेत र नेपालबीचको लफडाको जड भने कथा हो । माझीको कथामाथि बन्न लागेको चलचित्रमा नेपालले कमेडी मिसाउन खोजेका थिए, तर निर्देशकले मानेनन् । नेपालप्रेससँग कुरा गर्दै नेपालले भने, ‘म चलचित्रमा समेटिएपछि अलिकति कमेडी पनि मिसिनुपर्छ भनेको थिएँ । मलाई दर्शकहरुले थोरै कमेडी भूमिकामा पनि देख्न चाहन्छन् ।’

तर, लेखिसकेको पटकथा मोडमाड गर्न निर्देशक तयार नभएपछि ‘कार्की साइँला’मा नेपाल र बस्नेतमध्ये एकजना मात्रै रहने आँकलन गर्न थालिएको छ । तर, यो विषयमा नेपालले घुमाउरो कुरा गरे, ‘निर्देशक र ममध्ये कोही रहने वा नरहने भन्दा पनि अन्तिम फैसला निर्माताको हातमा छ । उहाँले जे निर्णय गर्नुहुन्छ, त्यो नै अन्तिम फैसला हो ।’

बालकुमार राई निर्माता रहेको यस चलचित्रको गत बैसाख ८ गते नै कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभसाइत गरिएको थियो । तर, कलाकार र निर्देशकबीचको जुँघाको लडाइँले चलचित्र छायांकनमा जान सकेको छैन । यस चलचित्रमा वर्षा शिवाकोटी पनि मुख्य भुमिकामा छिन् ।

अर्कातिर निकै अघि घोषणा भएको चलचित्र ‘परालको आगो’बाट पनि नेपाल बाहिरिए । सुशील पोखरेलको निर्माण रहने यस चलचित्रमा नेपालको अलवा सुहाना थापा र प्रकाश सपूत मुख्य भूमिकामा थिए । तर, यस चलचित्रको कथामाथि पनि नेपालको अनावश्यक हस्तक्षेप गर्न खोजेपछि उनी बाहिरिन परेको निर्माण पक्षको दाबी छ ।

तर, नेपालले भने यस आरोपलाई सीधै नकारे । उनले भने, ‘चलचित्रको सुटिङ दशैंमा राखियो । यत्रो ठूलो पर्वको बेला म परिवारसँगै रहनुपर्छ । यही कारण चलचित्रबाट बाहिरिएको हुँ ।’

बजारमा चलेका अन्य हल्लामा कुनै सत्यता नरहेको समेत बताए । आन्तरिक सल्लाह अनुसार चलचित्र साइन गर्दा लिएको रकम पनि फिर्ता गरिदिएको र आफूहरुबीच कुरा मिलिसकेको नेपालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *