काठमाडौं । नेपाल प्रहरीको बढुवा सिफारिसमा विभेद भएको भन्दै एक एसपीको पुनरावेदन दर्ता भएपछि बढुवा सिफारिस हुने अन्यले फुली लगाउन पाएका छैनन् । सरुवा र पदस्थापन पनि प्रभावित भएको छ ।
नेपाल प्रहरीबाटै खटिएर संसद सचिवालयको मुख्य मर्यादापालकका रूपमा कार्यरत एसपी विमल बस्नेतले आफू बढुवा सिफारिसमा छुटेपछि पुनरावलोकनको माग गर्दै गृह मन्त्रालयमा पुनरावेदन दर्ता गरेका छन् ।
उनी संसद चलिरहेको समयमै विभागबाट छुट्टी लिएर अमेरिका घुम्न गएका छन् । उनले अनलाइनबाट पुनरावेदन पठाएका हुन् । उक्त पुनरावेदनको सुनुवाइ विभागीय मन्त्रीले गर्नुपर्छ । प्राप्त भएको कम्तीमा ७ छानबिन गर्नुपर्ने कारण बस्नेतको पुनरावेदन छानबिनकै क्रममा रहेको गृह मन्त्रालयस्रोतले जनायो ।
गृह मन्त्रालयले साउन ५ गते ११ एसएसपी तथा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले ११ एसपी र १३ डीएसपीको बढुवा सिफारिस गरेको थियो । उक्त सिफारिसमा एसपीबाट एसएसपी बढुवा हुनुपर्ने बस्नेतले छुटेपछि गृह मन्त्रालयमा पुनरावेदन गरेका हुन् ।
सिफारिस भएको ७ दिनभित्र पुनरावेदन गर्न पाइने व्यवस्थाअनुसार बस्नेतले पाँचौँ दिनमा गत शुक्रवार गृह मन्त्रालयको आइडीमा इमेल पठाएका हुन् ।
उनी २०५३ पुस ५ गते तत्कालीन नेपाल गुप्तचर विभाग (हाल राष्ट्रिय अनुसन्धान) को अधिकृत पदमा भर्ना भएर २०५८ सालमा सेवा परिवर्तन गरी नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) भएका हुन् । २०६४ पुस ३० मा डीएसपी र २०७४ साउन १९ मा एसपी बढुवा भएका हुन् । एसपी बढुवा हुँदा १० औँ नम्बरको वरियतामा थिए । उक्त बढुवाका एसपीमध्ये दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोजकुमार केसी, सिद्धीविक्रम शाहसहितका अधिकृत अहिले एआईजी छन् ।अन्य डीआईजी भइसके । उनी भने एसपी नै छन् ।
एसएसपी बढुवा सिफारिस हुँदा धादिङ र बर्दियाका कार्यालय प्रमुख पनि समावेश गरिएका छन् । तीबाहेक अन्य जिल्लामा कार्यालय प्रमुखको कार्य अवधि पूरा भएपछि पदस्थापन तथा सरुवाको तयारी थियो । तर, बस्नेतको उजुरीका कारण सबै काम ठप्प भएको छ । रिक्त स्थानमा सरुवा हुने अधिकृतलाई साउन महिनाको तलब, सुविधा पाउने गरी खटाउने तयारी थियो । उनीहरूले नयाँ आर्थिक वर्षको अलग्गै खाता सञ्चालन गर्नुपर्छ । यी सबै काम दर्ता भएको पुनरावेदनका कारण रोकिए ।
गृह मन्त्रालयस्रोतका अनुसार बस्नेतको पुनरावेदनमाथि गृहमन्त्री रमेश लेखकले ११ गते आइतबारदेखि अध्ययन र परामर्श शुरु गरेका छन् । १८ गतेभित्र टुंगो लगाइने तयारी छ । त्यसलगत्तै सिफारिस हुनेलाई बढुवा नियुक्ति गरिने भएको मन्त्रालयस्रोतले जनायो ।
केन्द्रीय प्रहरीस्रोतका अनुसार साउनमै हुनुपर्ने विभिन्न दर्जाको नियमित सरुवा भदौ पहिलो सातामात्रै हुने भएको छ ।

Leave a Reply